समाचारबिहिबार, २ जेठ , २०७६

त्रिशूली थ्री–एबाट विद्युत उत्पादन शुरु

हिमालखबर

माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाले विद्युत उत्पादन थालेको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आजबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्वीचयार्डको कन्ट्रोल रुममा रहेको स्वीच दबाएर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । अहिले आयोजनाबाट परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युतगृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थस्थित सब–स्टेसनमा जोडिएको छ ।

शुक्रबार साँझ ५ बजेबाट पहिलो यूनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ ।

आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली थ्री–ए सञ्चालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युतको परिमाण घट्ने बताए ।

“लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करीब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ”,उनले भने ।

उनले त्रिशूली थ्री–ए पूर्ण रुपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करीब ८ प्रतिशतको योगदान रहने बताए ।

प्रतिकृया दिनुहोस