रिपोर्टबिहिबार, २ जेठ , २०७६

कहालीलाग्दाे काँच प्रदुषण

गोपाल गडतौला

जमीन र खोलानालामा वर्षेनि थुप्रिरहेको हजारौं टन काँचले वातावरण र सुरक्षामा असर पुर्‍याइरहे पनि यसको व्यवस्थापनमा कसैको ध्यान पुगेको छैन। 

बालुवाटार, काठमाडौंस्थित बालुवाटार ग्लास हाउसबाट दैनिक सरदर ४०० वर्गफिट काँच बिक्री हुन्छ । २४ वर्षदेखि यो व्यवसायमा संलग्न ग्लास हाउसका सञ्चालक शम्भु महर्जन (४९) का अनुसार ठूलो काँचको पाता काटेर ग्राहकको माग अनुसार विभिन्न सामग्री बनाउँदा १५ प्रतिशत टुक्रा खेर जान्छ । उनी भन्छन्, “खेर गएको यस्तो टुक्रा फोहोर लिन आउने ट्रकमा हालिदिन्छौं, उनीहरूले कतै मिल्काइरहेका होलान् ।”

दैनिक सरदर एक क्वीन्टल काँच बिक्री गरिरहेको बालुवाटारकै आगमन ग्लास हाउसबाट पनि करीब १५ किलो टुक्रा काँच निस्कन्छ । आगमनका सञ्चालक कुमार रञ्जित (३९) पसलबाट निस्कने यस्तो काँच नगरपालिकाका सफाइ कर्मचारीको गोजीमा ‘खाजा खर्च’ हालिदिएर तह लगाइरहेको बताउँछन् ।

काँच व्यवसायीहरूका अनुसार उपत्यकाका ५०० भन्दा बढी काँच पसलबाट दैनिक निस्कने पाँच हजार किलो टुक्रा काँच यसैगरी फ्याँकिन्छ । व्यवसायी महर्जन भन्छन्, “टुक्रा काँच युगौंयुगसम्म रहने अजैविक फोहोर हो भन्ने भर्खर सुन्दैछु, यसको सुरक्षित व्यवस्थापनबारे थाहा पाउने कुरै भएन ।”

पेय पदार्थ र औषधिका बोतलदेखि चिया र अन्य पेय पदार्थ पिउने गिलाससम्म अधिकांश काँचकै हुन्छन् । अचेल खाना राखिने भाँडाकुँडा पनि काँचकै प्रयोगमा आउन थालेका छन् । घरका झयाल, बाथरुमका ऐना, फोटो वा पेन्टिङका कभर, उपहार बक्सा, अक्वारिएम आदिमा बढी काँचको खपत हुन्छ ।

त्यस्तै सवारी साधनका झयाल, सार्वजनिक स्थलका सूचनापाटी, भवनका भित्ता आदिमा पनि काँच नै प्रयोगमा आउन थालेको छ । यति मात्र होइन; टेलिभिजन, कम्प्युटर, मोबाइल लगायतका ग्याजेटको स्क्रिन फेर्दा पनि फोहोर काँचको उत्पादन भइरहेको हुन्छ । 

काँच काट्दै गरेका व्यवसायी कुमार रञ्जित ।

हजारौं वर्ष आयु
नेपालमा उत्पादन र रिसाइकल नहुने काँच जति नै साना टुक्रा पारिए पनि हजारौं वर्षसम्म नष्ट हुँदैन । र यसको सुरक्षित व्यवस्थापनबारे व्यवसायी मात्रै होइन कसैले पनि ध्यान दिएको देखिएको छैन ।

जथाभावी फालिएको काँचले ओगटेको जमीनमा कुनै पनि वनस्पति उम्रिन सक्दैन । यसले जमीनको उत्पादकत्व घटाउँछ, वातावरण विनाशमा सहयोग पुर्‍याउँछ । त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्रका प्राध्यापक डा.निरञ्जन पराजुली काँच जस्तो अजैविक वस्तु जमीनमा थुप्रिने क्रम वर्षेनि बढिरहनुलाई ठूलो चिन्ताको विषय मान्छन् ।

जथाभावी फ्याँकिने काँचले मानिस र चौपायालाई चोट पुर्‍याउने, चरिचरन क्षेत्र साँघुर्‍याउने, जैविक विविधतामा नोक्सानी गर्ने, पानीका साना भूमिगत स्रोतहरू टालिने गरेको बताउँछन् ।

तर, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले काँचलाई तह लगाउनुपर्ने फोहोरको रूपमा लिएको छैन । विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने ठोस फोहोर भनिएको टुक्रा काँचलाई विभागले वातावरण व्यवस्थापनमा चुनौतीको रूपमा नलिएको स्वीकार्छन् ।

भन्छन्, “जमीनमा यो थुप्रिरहेको छ भन्ने हामीलाई थाहा छ, तर यसको व्यवस्थापन र खासगरी रिसाइकलबारे कुनै नीति बनेको छैन ।” उनी उपभोक्तालाई नै काँचको कम वा सुरक्षित प्रयोग गर्न सुझव दिन्छन् ।

तर, उपभोक्तालाई यसबारे चेतना दिने कार्यक्रम समेत नभएको बताउने विभागका सूचना अधिकारी शंकर पौडेल भन्छन्, “आगामी दिनमा वातावरण संरक्षणबारे नीति बनाउँदा काँचको प्रदूषण कम गर्न मद्दत पुग्ने गरी बनाउनुपर्छ ।”

अध्येताहरूका अनुसार प्लास्टिक करीब २०० वर्षपछि माटोमा मिल्छ । तर, काँच हजारौं वर्षसम्म नष्ट हुँदैन । नेपालमा यसको उचित व्यवस्थापन गर्न वा भट्टीमा पगालेर पुनः प्रयोग गर्नेतर्फ अहिलेसम्म सोचिएको छैन ।  

एशियाली विकास ब्याङ्क (एडीबी) ले सन् २०१३ मा ५८ वटा नगरपालिकामा गरेको अध्ययनमा घरघरबाट उत्पादित फोहोरमध्ये ३ प्रतिशत काँच रहेको पाइएको थियो । अध्ययनले ती नगरपालिकामा मात्र दैनिक १ हजार ४३५ टन ठोस फोहोर उत्पादन भइरहेको देखाएबाट काँचको फोहोर मात्रै दैनिक ४३.५ टन (वार्षिक १५,८७७.५ टन) उत्पादन भइरहेको अनुमान गर्न सकिन्छ ।

संभवतः त्यसयता नेपालमा ‘ठोस फोहोरको व्यवस्थापन’ सम्बन्धी कुनै अध्ययन भएको छैन । ६ वर्षअघि गरिएको उक्त अध्ययनलाई आधार मानेर अहिलेसम्म कुनै नीति बनाइएको पनि छैन ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष महेन्द्र श्रेष्ठका अनुसार नेपालमा वर्षेनि रु.४३ अर्बको औषधि खपत भइरहेको छ । कुल खपतको ५ प्रतिशत जति झेल औषधि हुने र त्यसमध्ये आधा जति काँचका बोतलमा आउने गरेको उनको अनुमान छ ।

अध्यक्ष श्रेष्ठ वार्षिक करीब २० टन औषधिका खाली सिसी फोहोरको रूपमा फ्याँकिने गरेको अनुमान लगाउँछन् । यद्यपि, पछिल्ला वर्षहरूमा झेल औषधि प्लास्टिकका बोतलमा आउने हुँदा काँचको प्रयोग घट्दो छ ।

बालुवाटार ग्लास हाउसका सञ्चालक महर्जन प्रत्येक दिन काँचको माग बढिरहेको भन्दै थप्छन्, “शायद काँचका सामग्री नभएको घर अब भेटिन्न ।”

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको शुरूको ७ महीना (साउन—माघ) मा रु.५ अर्ब ३३ करोडको ८४ हजार ८५७ टन काँच भारत, मलेशिया, चीन लगायतका मुलुकबाट आयात भएको छ । पाँच वर्षअघि २०७०/७१ मा रु.३ अर्ब ७५ करोड ६२ लाख मूल्यको ६२ हजार ९२४ टन काँच आयात भएको थियो । वितेका पाँच वर्षमा काँचको आयात झण्डै दोब्बर भएको विभागले जनाएको छ (हे.इन्फो) । 

जताततै काँच
मानवीय सुरक्षाका दृष्टिकोणबाट समेत जोखिमपूर्ण काँचको घरघरबाट निस्कने फोहोर नगरपालिकाको गाडी हुँदै डम्पिङ साइटमा पुग्छ । त्यहाँ नपुगेको काँच सडक छेउ, खोला किनार, खेतबारी, खोल्सा आदिमै फ्याँकिन्छ ।

कुपण्डोलस्थित युएन पार्क नजिक रामदास जयसवालको कवाडी पसल छ । उनको सम्पर्कमा रहेका १५ जना संकलकले ल्याउने बियरका खाली बोत्तल दुई महीनामा करीब एक ट्रक बराबर हुन्छ । यी बोत्तल रामदासले पुनः बियर कम्पनीलाई बिक्री गर्छन् ।

तर, रामदासले खरीद गरेका सग्ला बोत्तल भण्डारण र ‘लोड अनलोड’ का क्रममा टुटफुट हुन्छन् । त्यस्ता फुटेका टुक्राले भरिएका १०—१२ बोरा उनले नजिकैको वागमती नदीमा सेलाइरहेका छन् ।

हाम्रा सडकमा भइरहने दुर्घटनामा फुटेका गाडीका झयाल र विण्डस्क्रिनका काँच पनि सडकमै असरल्ल हुन्छन् । अचेल दुर्गम गाउँहरूमा समेत पेय पदार्थका काँचका बोतल मात्र होइन, घरघरमा काँचका भाँडाकुँडा पुगिरहेका छन् । ती टुटफुट भएर निस्कने फोहोर वरपरकै खेतबारी, पाखा, कान्ला र खोलानदीमा फालिन्छन् । खोलानदीमा फालिएको काँचले जलचरलाई नोक्सान पुर्‍याउँछ ।

बालुवामा अत्यधिक मात्रामा पाइने सिलिकेट लाई १७०० डिग्री सेल्सियस तापक्रममा तताएपछि बनेको झेललाई एक्कासी सामान्य तापक्रममा चिस्याइएपछि काँच बन्छ ।

तर, सिलिकेटबाट मात्र बनेको काँच धेरै बलियो हुँदैन त्यसैले यसलाई अलिक बलियो बनाउन उत्पादनको क्रममै अन्य मेटल अक्साइड समेत मिसाइन्छ । त्रिवि रसायनशास्त्रका प्रा.डा. पराजुली भन्छन्, “यसरी मेटल अक्साइड मिसाइएको काँचलाई टेम्पर ग्लास भनिन्छ, जुन शहरका ठूल्ठूला शोरुम, घरका भित्ता, ढोका, शोकेस आदिमा बढी प्रयोग हुन्छ ।” 

प्रतिकृया दिनुहोस