सामुदायिक वन बन्दै आम्दानीका स्राेत
–पवित्रा पराजुली, गैंडाकोट
सामुदायिक वन स्थानीय बासिन्दाका लागि आवश्यकता पूर्ति गर्ने स्थान मात्र नभई वनका जडिबुटी आम्दानीका स्रोत बनेका छन् ।
नवलपुरको देउराली सामुदायिक वन स्थानीय बासिन्दाका लागि कुनै औषधालय वा अस्पतालभन्दा कम छैन । सामुदायिक वनबाट जडिबुटी ल्याएर नै स्थानीयले औषधोपचार गर्ने गरेका छन् ।
देउराली सामुदायिक वनका अध्यक्ष नरबहादुर कुँवर भन्छन्, “हाम्रो सामुदायिक वनमा विभिन्न प्रकारका जडिबुटी पाइन्छन् । ती जडिबुटी स्थानीयले घरेलु स्वास्थोपचारका लागि प्रयोग गर्छन् ।”
नवलपुर जिल्लाको गैंडाकोट–३ मा पर्ने देउराली सामुदायिक वनले स्थानीयलाई घाँस–दाउरामात्र होइन, आपद पर्दा दबाईपानीको व्यवस्था समेत दिने गरेको छ । यसबाट गैंडाकोटका विकट मानिने ढोडेनी, हर्दी, मार्के लगायत ठाउँमा बस्ने स्थानीयले ठूलो राहत पाएका छन् ।
यही वनमा पाइने जडिबुटीबाट आफ्नो उपचार गर्दै आएको बताउने स्थानीय शर्मिला ढकाल भन्छिन्, “सिखारी लहरो हामीले ढाड दुखेकोमा लगाउँछौं । यसरी लगाउँदा दुखेको ढाड ठीक पनि भएको छ । घरनजिकै रहेको जडिबुटी प्रयोग गर्दा खर्च पनि कम भएको छ । आफ्नै गाउँघरमा रहेको औषधि प्रयोग गर्न पाउँदा खुशी पनि लागेको छ ।”
शर्मिलाको कुरामा सही थाप्दै सामुदायिक वनका अध्यक्ष नरबहादुर कुँवर भन्छन्, “हर्रो, बर्रो खोकी लाग्दा खान्छौं, खोकीमा ठीक पनि भएको छ । कुरिलोमा भिटामिन हुन्छ कम्मरे, अमला, सेतो मुस्ली, क्यामुनो, तिमिया, बादलपाते लगायत जडिबुटी धेरै रोगमा औषधि हुन्छ । फाइदा पनि गरेको छ ।
नाति–नातिनालाई सामान्य रुघाखोकी लाग्दा वा बिरामी हुँदा गैंडाकोट–३ की बालकुमारी तिवारी अस्पताल जाँदिनन् ।
सामुदायिक वनमा पाइने घोलटाप्रो, जेठीमधु, कुफत पर्दा पाखनबेद, ज्वरो र मुखमा घाउ आउँदा दहिकमलो लगायत जडिबुटीले उपचार गर्छिन् । यस्ता औषधिले दीर्घकालीन असर पनि नगर्ने हुनाले खुवाउने गरेको तिवारीको बुझाइ छ ।
गाउँ नजिकै वन छ । वनमा सयौं किसिमका जडिबुटी पाइन्छन् । तर, सबै स्थानीयलाई भने त्यहाँ पाइने सबैखाले जडिबुटीको बारेमा जानकारी छैन । उनीहरू आफूलाई जति ज्ञान छ त्यति नै जडिबुटीको प्रयोग गर्दै तिनलाई घरेलु औषधि मुलोका लागि प्रयोग गर्दै आएका छन् ।
वनका अध्यक्ष नरबहादुर कुवँरका अनुसार औषधि सम्बन्धी विज्ञता नभए पनि घरेलु ज्ञानको आधारमा वनका जडिबुटीको उपयोग गरिएको हो । यदि विज्ञता हुने हो भने यसबाट आर्थिक फाइदा पनि लिन सकिन्छ।
नवलपुरका सहायक वन अधिकृत कृष्ण देवकोटा नवलपुरका वनमा प्रशस्त मात्रामा जडिबुटी पाइने कुरा स्वीकार गर्छन् । जडिबुटीको खोजी, पहिचान र संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेकोमा त्यस्ता कार्यक्रम समुदायसम्म पुर्याउनका लागि जिल्ला वन कार्यालय नवलपुरले काम गरिरहेको छ ।
सहायक वन अधिकृत कृष्ण देवकोटाका अनुसार जडिबुटी पहिचान र संरक्षणका लागि स्थानीय समूहले पनि प्रयास गरिरहेका छन् । यसका लागि जिल्ला वन कार्यालयले समय–समयमा स्थानीय उपभोक्तालाई तालीम दिने गरेको छ । सामुदायिक वनले पनि विभिन्न उपसमिति बनाएर व्यवस्थापनको काम गर्दै आएका छन् ।
आपतविपद्मा सामान्य घरेलु औषधोपचार मात्र होइन, देउराली सामुदायिक वनका जडिबुटी आम्दानीका स्रोत पनि हुन सक्छन् । तर, स्थानीय उपभोक्ताले आम्दानी गर्न सकेका छैनन् ।
देउराली सामुदायिक वनका पूर्वअध्यक्ष ठाकुरप्रसाद रिमाल भन्छन्, “देउराली सामुदायिक वनमा पाइने जडिबुटी यस वनको आम्दानीका स्रोत हुन सक्छन् । यहाँ पाइने जडिबुटीलाई कच्चा वा प्रशोधन दुवै किसिमबाट बेचबिखन गर्नसके आम्दानीको स्रोत बढ्छ । आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ ।”
रिमालका अनुसार वन समिति र उपभोक्ता दुवैसँग यस किसिमको ज्ञान र सीप दुवै छैन । त्यसैले वन उपभोक्ता समितिले अहिले जडिबुटी सम्बन्धी विज्ञ र बजार विज्ञको आवश्यकता महसुस गरेका छन् ।
स्थानीय समुदाय र वन उपभोक्तालाई सघाउन र वनमा पाइने जडिबुटी संरक्षण गर्न गैंडाकोटका जनप्रतिनिधि पनि कम्मर कसेका छन् । वनमा आगलागी हुन नदिने, वनजंगल जोगाउने कुरामा वडा र नगरस्तरबाट नै विभिन्न कार्यक्रम हुने गरेका छन् ।
गैंडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार वनमा आगो लाग्न नदिएर पनि जडिबुटी संरक्षण गर्न सकिन्छ । यसका लागि नगरपालिकाले बजेट समेट छुट्याएको छ ।
तिवारी भन्छन्, “हामीले भन्दा पनि जिल्ला डिभिजन वन कार्यालयले धेरै काम गर्नुपर्ने हुन्छ । त्यस्तो समन्वयकारी भूमिकाका लागि हामीले पनि पहल गरिरहेका छौं ।”
नवलपुर जिल्लामा १६३ वटा वन रहेका छन् । तीमध्ये १ सय ६० वटा त सामुदायिक वन मात्र छन् । साझेदारी वन १ र सरकारी वन २ वटा रहेका छन । ती सबै वनमा विभिन्न प्रकारका जडिबुटी पाइन्छन् ।
ती जडिजुटीको संरक्षण र प्रयोग भने राम्रोसँग हुन सकेको छैन । यदि वनमा रहेका जडिबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउन सकियोे भने स्थानीयका घरघरमा समृद्धि आउनेछ । सबै आर्थिक रूपमा आत्मनिर्भर बन्नेछन् । यसमा सबै सरोकारवालाले ध्यान दिन आवश्यक छ ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।