समाचारबिहिबार, २ जेठ , २०७६

आधा पनि उठेन कर्णालीमा राजस्व

हिमालखबर

कर्णाली प्रदेश सरकारले लक्ष्यको आधापनि राजस्व संकलन गर्न नसकिएको जनाएको छ । 

चालु आर्थिक वर्षमा ५० करोड राजस्व संकलनको लक्ष्य राखेको सरकारले १० महिनामा जम्मा १३ करोड राजस्व संकलन गरेको हो ।

आन्तरिक आम्दानीको स्रोतमा कमी र स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजश्व नबुझाएका कारण लक्ष्य अनुसार उपलब्धि हासि गर्न नसकेको प्रदेश सरकारले जनाएको छ ।

सरकारले घर जग्गा रजिष्ट्रेशन, यातायात, विज्ञापन र नदीजन्य वस्तुलगायतबाट राजश्व असुल गर्न स्रोतको पहिचान गरेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सन्तबहादुर सुनारले राजश्व सङ्कलनका दृष्टिले कर्णाली सबैभन्दा कमजोर प्रदेश रहेको बताए ।

यहाँका स्थानीय तहले प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत राजश्व अझै दिएका छैनन् ।

मन्त्रालयका अनुसार यातायातबाट रु पाँच करोड ५३ लाख ६३ हजार र मालपोतबाट रु सात करोड ७८ लाख ३८ हजार गरी रु १३ करोड ३२ लाख राजश्व सङ्कलन भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले लक्ष्यअनुसार राजश्व सङ्कलन नभएपछि संशोधित अनुमान रु २१ करोड गरेको छ । असार मसान्तसम्म रु २१ करोड राजश्व सङ्कलन हुने मन्त्रालयको दाबी छ ।  

प्रतिकृया दिनुहोस