समाचारबिहिबार, २ जेठ , २०७६

समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही शुरु

हिमालखबर

सम्झौता अनुसारको निर्माण कार्य नगर्ने ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालय लाहानले कारबाही शुरु गरेको छ ।

कार्यालयले समयमा काम शुरु नगर्ने र निर्माणमा ढिलाई गर्ने आठ निर्माण व्यवसायीलाई कारबाही गरेको छ । 

पत्र र सूचनामार्फत पटक पटक जानकारी गराउँदा पनि अटेरी गर्ने सडक र पुल निर्माणका ठेकेदारहरुलाई कारबाही गरिएको डिभिजन कार्यालय प्रमुख बीरेन्द्रकुमार साहले बताए । 

कारबाही पर्नेहरुमा पप्पु, मृत, सञ्जिवनी जेभी, रोशन कन्स्ट्रक्सन, नीलगिरी निर्माण सेवा लगायत अन्य तीन ठेकेदार कम्पनी छन् ।

पप्पु मृत सञ्जिवनी जेभीलाई सप्तरीको गिदेरीखोला पुल र महुली घाडन खोला पुल समयमै निर्माण नगरेकोमा कारबाही गरी रु दुई करोड १८ लाख ७० हजार फिर्ता गराएको छ ।

त्यस्तै सप्तरीको मुतनीखोला र सिराहाको सरस्वती खोलमा पुल निर्माणको ठेक्का लिएको रोशन कन्स्ट्रक्सन जनकपुरलाई कारबाही गरी रु ५९ लाख ७० हजार फिर्ता गराईएको कार्यालयले जनाएको छ ।

काठमाडौं बानेश्वरको नीलगिरी निर्माण सेवा सप्तरीको सुमन्दरी खोलामा पुल निर्माण नगरेकोमा कारबाहीमा परेको छ । निलगिरीबाट रु ४७ लाख ५० हजार फिर्ता गराएको कार्यालयप्रमुख साहले बताए ।

कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम शुरु नगर्ने र गुणस्तरहीन काम नर्गे प्रबृत्ति बढेकोले त्यस्ता निर्माण कम्पनीमाथि निगरानी बढाईएको डिभिजन प्रमुख साहको भनाइ छ । 

प्रतिकृया दिनुहोस