रिपोर्टबिहिबार, २ जेठ , २०७६

‘१२ करोड’ को अव्यवस्था

रामु सापकोटा

मुलुकको राजधानी, काठमाडौं उपत्यकामा जम्माजम्मी रु. १२ करोडमा जडान–सञ्चालन गर्न सकिने ट्राफिक बत्ताीको व्यवस्था नहुनुले नै देखाउँछ– राज्य संयन्त्रमा मौलाएको अव्यवस्थाको हद। 

ट्राफिक लाइट नभएको काठमाडौंको थापाथलीमा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरु । तस्वीर : गोपेन राई

दैनिक ५० हजार हाराहारी सवारी साधन भित्रिने र बाहिरिने काठमाडौं उपत्यकाको प्रमुख नाका कलंकीमा जतिखेर पनि थामिनसक्नु चाप हुन्छ । तर, योविघ्न सवारी चाप रहेको कलंकीमा ट्राफिक व्यवस्थापन गर्न आजसम्म ट्राफिक बत्ती नै जडान भएको छैन ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक केशव भट्ट सहित सात जना प्रहरी दिनरात सडकको बीचमा उभिएर हात र सिट्ठीका भरमा ट्राफिक व्यवस्थापन मिलाइरहेका हुन्छन् । “हातको इशारा नबुझेर चोकबाट अलि परसम्म रहेका चालक द्‍विविधामा पर्छन्” भट्ट भन्छन्, “ट्राफिक बत्ती नहुँदा पैदल यात्रुले पनि जथाभावी बाटो काट्छन्, काम गर्न साह्रै हैरान छ ।”

ललितपुरको सातदोबाटो चोकमा खटिएका ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालसँग पनि भट्टकै जस्तो अनुभव छ । १५ वर्षदेखि ट्राफिक प्रहरीमा कार्यरत सिलवाल ट्राफिक बत्ती नहुँदा सम्पूर्ण जनशक्ति सडकमै खटिनु परेको र ट्राफिक प्रहरीका अन्य काममा ध्यान दिनै नपाएको बताउँछन् । सिलवाल भन्छन्, “ट्राफिक बत्ती भइदिए सवारी चाप व्यवस्थापन गर्न धेरै जनशक्ति आवश्यक पर्दैनथ्यो, अनि यहाँ खट्ने जनशक्तिलाई पार्किङ व्यवस्थापन लगायतका काममा खटाउन सकिन्थ्यो ।”

काठमाडौं उपत्यकामा गुड्ने सवारी साधन व्यवस्थापनमा दैनिक १३०० ट्राफिक प्रहरी खट्छन् । लामो समय सडकको बीचमा उभिएर सिट्ठी र इशाराका भरमा सवारी व्यवस्थापन गर्दा कैयौंको स्वास्थ्य डामाडोल बनेको छ ।

धेरैजसो ट्राफिक प्रहरी प्रदूषण र मानसिक स्वास्थ्य समस्याको शिकार बनेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गएको महीना सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीमध्ये ७३ प्रतिशतमा अत्यधिक तनावले निम्त्याउने स्वास्थ्य समस्या देखिएको छ ।

२२२ जनामा गरिएको अनुसन्धान अनुसार अधिकांश ट्राफिक प्रहरीमा आँखा र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । यसको ठूलो समस्या भने उपत्यकाका सडक बिहानदेखि बेलुकीसम्म हिंड्नै नसकिने गरी अस्तव्यस्त र उकुुसमुकुस बन्नु हो । जानकारहरूका अनुसार ट्राफिक बत्ती सञ्चालनमा नहुनु ट्राफिक अव्यवस्थाको एउटा प्रमुख कारण हो । 

कर्मचारी अभावको बहाना  
उपत्यकामा अहिले नयाँबानेश्वर, महाराजगञ्ज चोक तथा भक्तपुरको गठ्ठाघर, कौशलटार र सल्लाघारीमा मात्र ट्राफिक बत्ती सञ्चालनमा छन् । नयाँबानेश्वरमा सडक विभागले रु.१५ लाख र महाराजगञ्जमा काठमाडौं महानगरपालिकाले रु.२५ लाख खर्च गरेर ट्राफिक बत्ती जडान गरेको हो ।

काठमाडौं उपत्यकामा पहिलो पटक २०२३ सालमा सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र दरबारमार्गको दक्षिण गेटमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यसैगरी, जापान सरकारको सहयोगमा २०५८ सालमा चक्रपथभित्र र कोटेश्वर–भक्तपुर सडक खण्ड समेत गरी २० ठाउँमा ट्राफिक बत्ती जडान गरियो । ती २० ठाउँमा सञ्चालनमा रहेका ट्राफिक बत्ती २०६७ सालमा बिग्रेपछि मर्मत नहुँदा सञ्चालनमा छैनन् ।

उपत्यकामा सवारी व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी भए पनि नयाँ ट्राफिक बत्ती जडान र पुराना–बिग्रेका बत्ती मर्मत गर्ने जिम्मेवारी सडक विभागको हो । वर्षौंसम्म पनि बिग्रेका बत्तीको मर्मत र नयाँ बत्ती जडान नहुनुको कारण चाहिं के हो त ? के यसको लागत वा खर्च धान्नै नसकिने खालको छ त ? सडक विभागले नै तयार पारेको एक प्रतिवेदनले भने यसको रोचक तथ्य उजागर गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आग्रहमा विभागका इन्जिनियरहरूले एक वर्षअघि महाशाखालाई उपलब्ध गराएको सुझवपत्रमा उपत्यकाका ६० स्थानमा ट्राफिक बत्ती आवश्यक रहेको उल्लेख छ । अझै रोचक के भने एक ठाउँमा बत्ती जडान गर्न औसत रु.२० लाख खर्च लाग्छ । अर्थात्, जम्माजम्मी रु.१२ करोड खर्च गर्दा उपत्यकाका सबै ठाउँमा ट्राफिक बत्ती सञ्चालनमा आउन सक्छन् ।

यो सुझाव अनुसार महाशाखाले उपत्यकाका ३२ स्थानमा नयाँ ट्राफिक बत्ती जडान, १४ स्थानमा पैदल यात्रुका लागि बत्ती जडानसँगै पुराना बत्तीको मर्र्मत समेत गरिदिन चार महीनाअघि विभागलाई पत्राचार गर्‍यो । तर, जम्माजम्मी रु.१२ करोडमा हुनसक्ने काम पनि विभागको प्राथमिकतामा परेको छैन । 

विभागका सिनियर डिभिजनल इन्जिनियर दीप बाराही भने पुराना बत्ती बिग्रिएर सञ्चालनमा नरहेका २० स्थानमा नयाँ बत्ती जडान गर्ने तयारी भइरहेको र तीमध्ये आठ ठाउँमा तत्काल रु.१ करोड ९ लाखमा जडान गर्न लागिएको बताउँछन् ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०७५ ले आवश्यक बजेटको व्यवस्था गरेर बिग्रिएका ट्राफिक बत्ती मर्मत गरी चालु अवस्थामा राख्न र थप स्थानमा सडक विभागसँग समन्वय गरी ट्राफिक तथा पैदल यात्रीका लागि बत्ती जडान गर्न गृह मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

तर, सडक विभागले यस्ता संरचना बनाउने प्रक्रिया अघि बढाएको छैन । जापान सरकारले २० ठाउँमा ट्राफिक बत्ती जडान गरे पनि सञ्चालन र मर्मतको जिम्मेवारी सडक विभागलाई हस्तान्तरण गरेको थियो । विभागका सिनियर डिभिजनल इन्जिनियर बाराही बिग्रिएका बत्ती मर्मत गर्ने सामग्री र दक्ष जनशक्ति उपलब्ध नभएकाले मर्मत हुन नसकेको बताउँछन् । ९ वर्षदेखि यही बहाना अघि सारिरहेका विभागका अधिकारीहरूको रवैयाले नै देखाउँछ, अव्यवस्थाको हद ।

रुचि चाहिं ‘इन्टेलिजेन्ट लाइट’मा
रु.१२ करोडमै काठमाडौं उपत्यकाभित्र ट्राफिक बत्ती जडान–सञ्चालन हुनसक्ने भए पनि सडक विभागदेखि कसैको रुचि त्यसमा देखिंदैन । पुराना बत्ती मर्मत गरेर पनि केही हदसम्म ट्राफिक व्यवस्थापन गर्न सकिन्छ, तर त्यसमा पनि अनेक बहाना अघि सार्ने गरिएको छ ।

तर, गृह मन्त्रालयदेखि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र सडक विभागदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाको रुचि भने ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ मा देखिएको छ । किनभने, यसमा दाताको रुचि र परियोजना सञ्चालन गर्ने अवसर लुकेको छ ।

जस्तो कि, भएकै बत्ती मर्मत गर्न नसकेको सडक विभागको तालुकदार अड्डा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले चार वर्षअघि काठमाडौं उपत्यका दिगो शहरी यातायात योजना मार्फत एशियाली विकास ब्याङ्क (एडीबी) को सहयोगमा उपत्यकाका ३५ स्थानमा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ जडान गर्ने प्रक्रिया शुरू गर्‍यो ।

एडीबीले यसका लागि विनियोजन गरेको रु.६० करोडमा काम अघि बढाउने गरी मन्त्रालयले कम्पनी छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्‍यो । तर, बोलपत्रमा प्रस्तावित बजेट भन्दा बढी लागतको प्रस्ताव पर्‍यो ।

यसले गर्दा कम्पनीको छनोट हुन सकेन । परिणाम, यही अन्योलबीच परियोजनाको म्याद सकियो र इन्टेलिजेन्ट ट्राफिक लाइट जडानको योजना तुहियो ।

सडक विभागका डिभिजनल इन्जिनियर बाराही भन्छन्, “यो परियोजनाको काम अघि बढ्न नसक्नु हाम्रा लागि दुर्भाग्य भयो ।” 

सन् २०१७ मा भएको ‘इन्फ्रास्ट्रक्चर फाइनान्स स्ट्राटेजी फर सस्टेनेबल डेभलपमेन्ट इन नेपाल’ नामको अध्ययनले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ को प्रयोगले सडकमा ट्राफिक चाप घटाउन सकिने देखाएको थियो ।

त्यसपछि त के चाहियो, गृह प्रशासन सुधार मार्गचित्र–२०७४ मा काठमाडौं उपत्यका मात्र होइन, देशभरका शहरी क्षेत्रमा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडान कार्यलाई तीव्रता दिइने उल्लेख गरियो । अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि सवारी आवागमन सहज बनाउन र दुर्घटनामा कमी ल्याउन ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ अत्यावश्यक रहेको प्रस्ताव अघि सारेको छ ।

‘ट्राफिक कन्ट्रोल सिस्टम’ मा लाइट, सेन्सर र कृत्रिम इन्टेलिजेन्स प्रयोग गरेर बनाइएको प्रविधि हो, ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ प्रणाली । यो प्रणाली मार्फत सडकमा गुड्ने सवारीको गति पत्ता लगाउनेसम्मको काम गर्न सकिन्छ ।

सडक विभागका इन्जिनियरहरूका अनुसार एक ठाउँमा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ जडान गर्न न्यूनतम रु.१ करोड खर्च लाग्छ । प्रविधिमा आधारित ट्राफिक व्यवस्थापन प्रणाली जडानको यो प्रयास आफैंमा सकारात्मक भए पनि बिग्रेका ट्राफिक बत्ती नौ वर्षदेखि मर्मत नहुनुले यसका पछाडि परियोजना चलाउने रुचि नै प्रमुख देखिन्छ ।

प्रतिकृया दिनुहोस