कीर्तिमानी कामीरिता भन्छन् – देशलाई रेकर्ड चाहिन्छ तर रेकर्ड राख्ने मान्छे चाहिंदैन
-रविन गिरी
“देशलाई रेकर्ड चाहिन्छ तर रेकर्ड राख्ने मान्छे चाहिंदैन”, १४ चैतमा सगरमाथा आधारशिविर जानुअघि कामीरिता शेर्पाले 'हिमाल'सँग भनेका थिए।
सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका ४८ वर्षीय उनै कामीरिताले २ जेठ बिहान साढे आठ बजे २२औं पटक सगरमाथाको शिखर टेकेका छन् । र, विश्वमै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने व्यक्तिका रुपमा देशकै मान बढाएका छन् ।
सेभेन समिट्स ट्रेक्स्का गाइड शेर्पा नौ चिनियाँ पदयात्रीसँगै १ जेठ राति क्याम्प फाइभबाट उकालो लागेर अर्को दिन बिहान शिखरमा पुगेका थिए।
यसअघि कामीरितासँगै आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१औं पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएका थिए । आप्पा र फुर्वाटासी दुवैले पुनः सगरमाथा चढ्ने सम्भावना नरहेको बताउँदै आएका छन् ।
आरोहणअघि कुरा गर्दै कामीरिताले कीर्तिमानको भोक आफूमा नभएको तर, पेशा नै यही भएकाले चढ्नु परेको पटकपटक बताएका थिए । “थुप्रै शेर्पाहरूले कीर्तिमान बनाएका छन्, आङरिता शेर्पाले विना अक्सिजन १० पटकसम्म सगरमाथा चढेर वल्र्ड रेकर्ड बनाएका छन्, खै के भएको छ र?” उल्टै उनले प्रश्न तेस्र्याए, “कीर्तिमान बनाएपछि के हुन्छ ?”
“कामीरिताले विश्व कीर्तिमान बनाएर देशलाई ठूलो गुन लगाएका छन्, अब उनी जस्ता कीर्तिमानधारी आरोहीलाई कसरी सम्मान गर्ने भन्ने दायित्व सरकारको हो”, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भन्छन् ।
सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तीनपटकसम्म सगरमाथाको शिखर टेके । उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
थामे प्राविमा कक्षा ४ सम्म पढेका कामीरिता अहिले बौद्धमा डेरा गरी बस्छन् । छोरो कक्षा १२ मा पढिरहेका छन् भने छोरीले एसईई परीक्षा दिएकी छन् । आरोही शेर्पाको भविष्यप्रति चिन्तित देखिने कामीरिता छोराछोरी भने सगरमाथा नचढुन् भन्ने चाहन्छन् ।
“सरकारले हिमालको राजस्वमा मात्र ध्यान दिएको छ, हामी शेर्पाको भविष्यबारे सोचेको छैन” उनको गुनासो छ, “सिजनको कमाइले परिवार धान्ने हो, तलमाथि केही भइहाले कसले हेर्ने !”
गुनासोबीच पनि कामीरिताको कर्म भने जारी छ । साथीहरूले उनलाई ३०औं पटकसम्म सगरमाथा चढ्न हौस्याइरहेका छन् । “तर, २५ पटकसम्म म चढ्छु भन्ने लाग्छ,” उनी भन्छन् ।