कामीरिता शेर्पा २३औं पटक सगरमाथा शिखरमा, नयाँ कीर्तिमान कायम
साहसिक आरोही कामीरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्।
शेर्पाले आज बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औं पटक पाइला टेकेकाे आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।
याेसँगै शेर्पाले आफ्नै नाममा रहेको सबैभन्दा धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान ताेड्दै नयाँ किर्तिमान राखेका छन् ।
कामीरिताकाे आरोहणकाे व्यवस्थापन गरेको कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए ।
सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका ४९ वर्षीय कामरीताले सन् १९९८ मा पहिलोपटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । त्यसपछि उनले २००९, १० र १३ मा उनले एकै सिजनमा तिनपटकसम्म सगरमाथाको शिखर टेके । उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
थामे प्राविमा कक्षा ४ सम्म पढेका कामरिता अहिले बौद्धमा डेरा गरि बस्छन् ।
सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए।
बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।
यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।