भिमदत्त नगरपालिकामा छाडा चौपाया व्यवस्थापन शुरु
–सुरेन्द्र पाल्पाली
किसान वा पशु मालिकले अलपत्र छाडेका गाई तथा अन्य चौपायालाई भिमदत्त नगरपालिकाले व्यवस्थापन गर्न शुरु गरेको छ ।
किसान वा पशु मालिकले अलपत्र छाडेका गाई तथा अन्य चौपायालाई भिमदत्त नगरपालिकाले व्यवस्थापन गर्न शुरु गरेको छ ।
कञ्चनपुरमा छाडा पशु व्यवस्थापन ठूलो चुनौती बन्दै गएको बेला छाडा चौपाया व्यवस्थापनका लागि भिमदत्त नगरपालिका र झापाको गौरीगञ्जको एक अर्गानिक कृषि फार्मबीच सम्झौता भएको छ ।
कञ्चनपुर जिल्लाको सडकमा अलपत्र भेटिने गाईहरू दूध दिन छाडेपछि र रोगी तथा बूढो भएपछि यसरी अलपत्र पारिएका हुन् । गाईले दूध दिन छाडेपछि गाई पाल्नेहरू नै गाईलाई फाल्ने योजनामा लाग्छन् । अनि गाईहरू सडकमा अलपत्र छाडिन्छन् ।
भिमदत्त नगरपालिका–१९ बागफाटास्थित गौशालाका प्रमुख धर्मानन्द जोशी भन्छन्, “अब भिमदत्त नगरपालिका र झापा गैरीगाउँ एग्रिकल्चर अर्गानिक फार्मबीच सम्झौता भएको छ । अर्गानिक फार्मले छाडा पशुलाई व्यवस्थापन गर्ने भनेको छ । भिमदत्त नगरमा छाडा चौपायाको करीब २५\२६ सय पुगेको अवस्था छ ।”
गौशालाका अर्का कर्मचारी दीपक विष्ट करीब २६ सय छाडा चौपायाको व्यवस्थापन मुख्य चुनौती रहेको बताउँछन् । विष्ट भन्छन्, “हामीलाई छाडा चौपायाको व्यवस्थापन गर्न समस्या छ, अर्गानिक फार्मलाई अर्गानिक मलका लागि चाहियो । त्यसैले भिमदत्त नगरपालिकाले छाडा चौपायाको संख्या आँकलन गर्यो– हाराहारी ७\८ सयदेखि १ हजार सम्म होलान् । गाईगोरु ल्याउन शुरु भयो । करीब २६ सयको हाराहारीमा चौपायाहरू यहाँ भित्रिएका छन् ।”
जति व्यवस्थापन गर्दा पनि समस्या उस्तै हुने हुँदा छाडा चौपायाले समस्या नै निम्त्याएको भिमदत्त नगरपालिकाका रमेश भट्टबताउँछन् । उनी भन्छन्, “कञ्चनपुरमा छाडा चौपायाको समस्या धेरै विकराल बन्दै गएको छ । वागवानीकै ट्याग निकालेर छाडा पशु यहाँ पठाएको देखेको छु । वडा नं १३ को ट्यागसहित वरुण होटलकै अगाडि एउटा पशु मरेको हो । यो त सरकारकै लापरवाही भयो नि ।”
छाडा चौपाया व्यवस्थापनमा जनप्रतिनिधिहरूले चासो नदेखाएको पनि हैन । चौपाया व्यवस्थापनकै लागि नगरपालिकाको १९ नं वडामा गौशाला समेत बनेको छ ।
भिमदत्तनगर कार्यपालिका सदस्य कमला देवकोटा भन्छिन्, “पशुलाई दुःख दिएर त्यसै छोड्नुभन्दा व्यवस्थापन गर्दा चौपायाले दुःख त पाउने थिएनन् ।”
उनी अगाडि भन्छिन्, “कसैले तातो पानी हालिदिएको छ, कसैले बन्चरोले हानेको छ । यस्ता खबर दिनहुँ पत्रपत्रिकामा छापिन्छन् । यस्तो हुनुभन्दा सुरक्षित ठाउँमा पठाइदिऊँ ।”
नगर कार्यपालिका सदस्य कमला देवकोटा छाडा पशु व्यवस्थापनमा स्थानीयले सहयोग नगरेको बताउँछिन् । यसले दुर्घटनाहरू बढेका छन् । दोधारा–चाँदनीबाट समेत छाडा पशु ल्याई यहाँ समस्या भित्र्याएको उनको आरोप छ ।
गाई बचाउँदा आफै मरेका घटना उनी बताउँछिन् । सडकमा बाँधिदिएर जाने गर्नाले डोरीमा अल्झेर कैयौं मोटरसाइकल दुर्घटनामा परेको पनि उनले बताइन् ।
स्कूले बालकलाई पनि समस्या भएको देवकोटा बताउँछिन् । बाटोमा हिँड्दा पशुले हान्ला कि भन्ने डर र बीच सडकमा हिँड्दा गाडीमोटरको डर । चौपायालाई बचाउँदा कति गाडी आफै दुर्घटनामा परेर ड्राइभर र यात्रुसमेतको मृत्यु भएको छ ।
वेतकोट नगरपालिका प्रमुख अशोक चन्द छाडा चौपाया व्यवस्थापन कञ्चनपुरमा समस्याकै रूपमा बल्झिने गरेको बताउँछन् । स्थानीय चुनावका बेला गरेको छाडा चौपाया व्यवस्थापन गर्ने वाचा पूरा गर्न नसकेको उनी बताउँछन् ।
“छाडा गाईगोरुको व्यवस्थापनका काम निर्वाचित भएको एक हप्तादेखि नै शुरु गरेका हौं । पूर्णरूपमा समस्या समाधान हुन सकेको छैन । हामीले व्यवस्थापन पनि गरेका हौं । तर, बीच बीचमा ल्याइरहनाले समस्या समाधान गर्न नसकिएको हो ।”
छाडा चौपायाको समस्या कञ्चनपुर जिल्लामा मात्रै नभई सुदूरपश्चिमका अधिकांश ठाउँमा छ । यसको व्यवस्थापनका लागि जे जति काम भए पनि समस्या हटेको छैन । छाडा चौपायाका कारण सडक दुर्घटना पनि बढेका छन् ।
यस्ता चौपायाको व्यवस्थापनको नाममा अन्यन्त्र लैजाँदा तत्कालको समस्या समाधान भएपनि स्थानीय जातका गाईहरू मासिने खतरा पनि त्यत्तिकै छ ।
यसबारेमा स्थानीय कृषक गीताकुमारी अवस्थी भन्छिन्, “छाडा चौपायालाई अन्यत्र पठाउने भन्दा नगरपालिकाले गौशाला वा काञ्जी हाउसको व्यवस्था गर्दा समस्या हल हुन्छ ।”
उनले यसरी बाहिर नै पठाउने हो भने स्थानीय जातका गाई लोप हुँदै जाने बताउँछिन् । बाहिर नै पठाउँदा पनि समस्या समाधान नहुने उनी बताउँछिन् ।
उनी भन्छिन्, “एक लट पठाउने बित्तिकै दोस्रो लट यहाँ खडा हुन्छ । बरु यी गाईको नश्ल सुधार गर्ने फार्महरू खोलेमा स्थानीयलाई रोजगारीको अवसर पनि हुनेछ ।”
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।