बेसीशहर बन्यो ‘काकाकुल’
शान्ता कमली, लमजुङ
“शहरमा जनसंख्या बढ्यो । पानीका मुहान सुके । तर, माग अनुसार आपूर्ति भएन । पानीका मुहान सुक्नुका कारण भने वातावरण परिवर्तन, पृथ्वीको तापमानमा भएको वृद्धि हो ।”
लमजुङ सदरमुकाम बेसीशहरमा अहिले खानेपानीको चरम अभावले त्यहाँका उपभोक्ता दैनिक समस्या भोग्न बाध्य छन् । पर्यटक सिजन शुरु भइरहेका बेला पानी अभाव हुँदा विशेषगरी होटल व्यवसायी समस्यामा परेका छन् । हिमालय गेटवे रिसोर्ट बेसीशहरका सञ्चालक भेषबहादुर पौडेल भन्छन्, “पानी नपाउँदा होटल सञ्चालकले दुःख पाएका त छौं, पर्यटकले समेत पर्याप्त पानी पाउन सकेका छैनन् ।”
स्थानीय बेसीशहरकी खानेपानी उपभोक्ता राममाया राना खानेपानी नहुँदा भाँडा धुन र करेसाबारीमा पानी हाल्न नपाएको धेरै भएको बताउँछिन् । धारामा पानी नआउँदाको दुःख राममायाको मात्र हैन । बेसीशहरकै बिना महत भन्छिन्, “न खाना पकाउन सजिलो छ न त सरसफाइका लागि नै पानी छ । खानेपानीको अभावमा हामीले ज्यादै दुःख पाइरहेका छौं ।”
बेसीशहरमा अहिले ३५ हजार खानेपानीका उपभोक्ता छन् । सहजरूपमा पानी दिने हो भने त्यहाँ दैनिक ५२ लाख लिटर पानी चाहिन्छ । तर, त्यहाँ दैनिक १९ देखि २० लाख लिटर मात्र पानी आपूर्ति हुँदै आएको छ । होटल व्यवसायी भेषबहादुर पौडेलका अनुसार यसरी पानी वितरण गर्दा तत्कालको आवश्यकता पूर्ति त हुन्छ । दीर्घकालका लागि भने खानेपानीको ठूलै स्रोत खोजिनुपर्छ ।
खानेपानी समस्या तत्काल समाधान गर्नका लागि बेसीशहर नगरपालिकाले दमकल प्रयोग गर्न थालेको छ । बेसीशहर खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधान भन्छन्, “बजारमा पानीको माग बढेको छ तर, माग अनुसार वितरण गर्न सकिएको छैन ।”
प्रधानका अनुसार खानेपानीका मुहान पर्याप्त नहुनु र बेसीशहरमा हरेक वर्ष उपभोक्ता पनि बढ्ने भएकाले यस्तो समस्या भएको हो । “जनघनत्व बढिरहेको छ, त्यसैले हामीले पर्याप्त पानी उपलब्ध गराउन सकेका छैनौं,” प्रधान खानेपानी समस्यालाई सहजरूपमा स्वीकार्छन् ।
बेसीशहरमा अहिले सातवटा मुहानबाट खानेपानी वितरण भइरहेको छ । त्यसमध्ये मुख्य मुहान ठूलो पँधेराको पानी सुकेका कारण पनि समस्या बढेको हो । पानी संरक्षण गरेर बाँड्नका लागि बेसीशहरमा नौलाख लिटर बराबरका ट्यांकीको समेत व्यवस्था छ । तरपनि सुक्खा मौसममा ट्यांकीमा पानी साँच्न नसकिएको कृष्णलाल बताउँछन् ।
बेसीशहरमा अहिले फरक–फरक सातवटा मुहानबाट पानी आपूर्ति गरिन्छ । ती मुहान जिल्लाको लब्ले खोला, महभिर, डुडखोला, फुर्केभिर, ढाडखोला ए, ढाडखोला बी, साप्ली, ठूलोपँधेरा र पुवाखोला हुन् । साथै बेसीशहर नगरपालिका–८ तीनधारेमा रहेको खानेपानी उपभोक्ता समितिको प्राङ्गणमा बोरिङ खनेर समेत खानेपानी ल्याइएको छ । र, पनि खानेपानीको अभाव भइरहेको छ ।
वातावरणविद् रोशन चौलागाई भन्छन्, “शहरमा जनसंख्या बढ्यो । मुहान सुके । तर माग अनुसार आपूर्ति गर्न नसक्नु नै अहिलेको मुख्य कारण हो ।” चौलागाईका अनुसार पानीका मुहान संरक्षणमा मात्र होइन, खानेपानीको सदुपयोग गर्ने कुरामा समेत लापरवाही हुने गरेको छ । पानीका मुहान सुक्नुका कारण भने वातावरण परिवर्तन, पृथ्वीको तापमानमा भएको वृद्धि पनि कारण भएको चौलागाई बताउँछन् ।
बेसीशहरको खानेपानी समस्या अहिलेको समस्या मात्र हैन । हरेक वर्ष यही किसिमले खानेपानीको अभाव हुने गरेको छ । यसको दीर्घकालीन समाधान खोज्नका लागि स्थानीय सरकार र खानेपानी उपभोक्ता समिति दुवै लागेका छन् । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल भन्छन्, “समस्याको दीर्घकालीन समाधानका लागि अहिले भाचोक खोला खानेपानी आयोजनाको काम भइरहेको छ । यो बनेपछि खानेपानीको समस्या निकै कम हुन सक्छ ।”
खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधान थप्छन्, “अहिले भाचोकखोला खानेपानी मुहानको लगभग ६० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी ४० प्रतिशत पनि असोजसम्म सकिने लक्ष लिएका छौं । त्यसपछि अहिलेकै जस्तै समस्या रहन्न ।” यो आयोजनाका लागि नेपाल सरकार र उपभोक्ता समितिको साझेदारी रहेको कुरा नगरप्रमुख अर्याल बताउँछन् ।
प्रधानका अनुसार अहिले काउखोला खानेपानी आयोजना पनि निर्माण हुने क्रममा छ । यी आयोजना सम्पन्न भइसकेपछि बेसीशहरमा खानेपानीको अभाव हट्ने स्थानीयहरू आशा गर्छन् । बेसीशहर नगरपालिकाले खानेपानी उपभोक्ता समितिसँग मिलेर हरेक गाउँमा साना खानेपानी योजना निर्माणका लागि विभिन्न कार्यक्रम गरिरहेको छ ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।