‘हामी मधेशका वासिन्दा डा केसीको साथमा छौं’
डा. गोविन्द केसीका माग पूरा गरी उनको जीवन रक्षा गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको छ ।
‘हो हामी पागल हौं भ्रष्टाचारको जरो उखेल्न चाहाने पागल, डा केसी जस्तै,’ लेखिएको ब्यानर बोकेका जागरुक युवाहरुले आज वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
उनीहरुले दिउँसोे २ः०० देखि ३ः०० बजेसम्म वीरगञ्जको घण्टाघर, ३ः२० देखि ३ः५० बजेसम्म आदर्शनगर र अपरान्ह ४ः०० देखि ४ः३० बजेसम्म नारायणी उपक्षेत्रीय अस्पताल अगाडि उभिएर प्रदर्शन गरेका थिए ।
“डा गोविन्द केसी महान छन्, उनको त्याग र निष्ठाको समर्थनमा हामीले प्रदर्शन गरेका हौं,” प्रदर्शनमा सहभागि प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले बताए ।
उनले पर्साबासी जनहितका राष्ट्रिय सवालमा जानकार छन्, राम्रो कुराको समर्थन र नराम्रो कुराको विरोध गर्न जान्दछन् भन्ने सन्देश दिन पनि कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
निमुखा जनताका लागि लडिरहेका डा. केसी चिकित्सा शिक्षाको क्षेत्रलाई माफियाहरुको चंगुलबाट बाहिर ल्याउन संघर्षरत रहँदा कोही पनि नेपाली चुप बस्न नहुने उनले बताए ।
“मधेशका बासिन्दा डा केसीको समर्थन गर्छौं, उहाँको स्वास्थ्यमा प्रति चिन्तित छौ,” प्रदर्शनमा सहभागि प्रकाशप्रसाद थारुले भने ।
सुरेश बिडारी, वीरगञ्ज