जंगली जनावरलाई ‘अण्डरपास’, दुर्घटनामा कमी
राजु थापा, चितवन
हरीणका हूल, बाँदरहरू तथा अन्य जनावर ती सुरुङ प्रयोग गर्न अभ्यस्त भइसकेका छन् । किनभने ती सुरुङ जंगली जनावरलाई नै लक्षित गरेर बनाइएका हुन् ।
मुग्लिङ–नारायणगढ सडकमा ट्यांकर चलाउने कुमार लामालाई हिजोआज सवारी चलाउन सजिलो भएको छ । यस्तो सजिलो बाटो फराकिलो भएर भएको हैन । जंगलको एकभागबाट अर्को भागमा जाने वन्यजन्तु हिजोआज सडकमा आउँदैनन् ।
लामा भन्छन्, “पहिले त यो बाटोमा वन्यजन्तु जोगाउन गाह्रो हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । रातदिन जस्तो मौसममा पनि ढुक्कले गाडी चलाए हुन्छ ।”
त्यसैगरी काठमाडौं–रौतहट माइक्रोबस चलाउने चालक बृजलाल महतो भन्छन्, “पहिले पहिले जाडोको मौसममा गाडी चलाउन साह्रै गाह्रो हुन्थ्यो । बाटो वारपार गरिरहेका जनावर देख्न सकिन्नथ्यो र दुर्घटना हुन्थ्यो । तर, अहिले त्यस्तो छैन ।”
सवारी चालक महतो र लामाका अनुसार जनावर वारपार गर्न राजमार्गमा सडकमुनि सुरुङ अर्थात अण्डरपास बनेपछि सडकमा जंगली जनावर आउँदैनन् । चालकहरूलाई सवारी चलाउन सहज भएको छ । अण्डरपास नहुँदा जंगलका जनावर बाटो बाटोमा आउने र गाडी नै रोकेर बस्नुपर्ने अवस्था आउँथ्यो ।
अहिले चितवनको रामनगर भतेरी जंगल हुँदै यात्रा गर्दा आँपटारीबाट १ किलोमिटरको दूरीमा एउटा र भतेरी जंगलमा अर्को गरी दुईवटा यस्ता ठूल्ठूला सुरुङ भेटिन्छन् ।
सबभन्दा रोचक त के देखिन्छ भने हरीणका हूल, बाँदरहरू तथा अन्य जनावर ती सुरुङ प्रयोग गर्न अभ्यस्त भइसकेका छन् । किनभने ती सुरुङ जंगली जनावरलाई नै लक्षित गरेर बनाइएका हुन् ।
मुग्लिङ–नारायणगढ सडक निमार्णमा कार्यरत इन्जिनियर शिव खनालका अनुसार सुरुङ नहुँदा प्रायः दैनिकजसो दुर्घटना हुन्थ्यो । सडक विस्तार परियोजना शुरु गरेदेखि निर्माण नहुँदासम्मको अवधिमा रतुवा मृग, हरीणहरू धेरै आवत–जावत गर्ने गरेको र सो अवधिमा ३० देखि ३५ वटा त्यस्ता जनावर दुर्घटनामा परेर मरेको पाइएको थियो ।
जंगली जनावरका लागि सडकमुनि सुरुङमार्ग निर्माण भएपछि यसरी दुर्घटना शून्य जस्तै रहेको छ । जनावरहरूको क्यामरा ट्र््यापिङ गरेर अवलोकन गरिएको र जस्मा गैंडा र हात्ती जस्ता ठूला जनावर आवतजावत गरेको नपाइए पनि चितुवा, बाघ, हरीण मृग लगायत अन्य जनावर आवतजावत गरेको देखिएको इन्जिनियर शिव खनालले बताए ।
विश्व वन्यजन्तु कोषको पहलमा वन्यजन्तुलाई सुरक्षित गर्नु पर्दछ भनी मुग्लिङ–नारायणगढ सडक विस्तारको क्रममा यो सडकलाई वन्यजन्तुमैत्री जैविक सडक निर्माण गर्ने सोच अन्तर्गत यस्ता सुरुङ बनाइएको हो । सुरुङ नबन्दा यस सडकमा हरीण, रतुवा मृग जस्ता साना वन्यजन्तु सवारी साधनको ठक्करबाट मर्ने गर्थे ।
विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ नेपालको अध्ययनपछि यस क्षेत्रमा सुरुङ निर्माण गरिएको हो । यसरी निर्माण भएका सुरुङबाट साना जनाबर सजिलै आवतजावत गरेपनि हात्ती, गैंडाजस्ता ठूला जनावर भने अभ्यस्त भइसकेका छैनन् । त्यसैले अहिले यो क्षेत्रमा आवतजावत गर्ने ठूला जनावरले पनि यही सुरुङ प्रयोग गरून् भनेर पहल समेत भइरहेको छ ।
जैविक मार्ग निर्माणपछि वन्यजन्तु त सुरक्षित हुने नै भए । सडकमा सवारी चलाउने चालकलाई समेत यसले सहजता भएको छ । चालकहरूका अनुसार सुरुङ नहुँदा जनावरका कारण घण्टौंसम्म सडक अवरुद्ध हुन्थ्यो । तर, अहिले त्यस्तो हुन्न ।
चितवनको मुग्लिङ–नारायणगढ सडक खण्डको बरण्डाभार क्षेत्रको राजमार्गमा सुरुङ निर्माण भएपछि यस आसपासका क्षेत्रमा बन्ने सडक पनि वन्यजन्तुमैत्री बन्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ । खासगरी राष्ट्रिय निकुञ्ज आसपासका धेरै सडक वन्यजन्तु वारपार गर्नका लागि जोखिमपूर्ण छन् ।
पूर्वको कोशीटप्पुदेखि पश्चिमको अत्तरियासम्म निकुञ्जभित्र पर्ने सडक वन्यजन्तुमैत्री बन्नुपर्छ भन्छन् पत्रकार हस्त गुरुङ । उनका अनुसार वन्यजन्तु हिंडडुल गर्ने मुख्य स्थानमा कोशीटप्पु, चितवन राष्ट्रिय निुकञ्ज, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटामा पनि यस्ता जैविक मार्ग निर्माण हुनुपर्छ ।
जंगली जनावरका लागि बर्दियाको चिसापानी, भुरीगाउँ क्षेत्र अन्यत्र भन्दा जोखिमपूर्ण मानिन्छन् । त्यहाँ धेरै बाघ र हरीणजस्ता जनावर बढी भएकाले त्यहाँ पनि अण्डरपास हुनुपर्छ भन्छन् पत्रकार गुरुङ । उनी थप्छन्, “चितवनबाट शुरुवात गरेको अण्डरपास अब दाङको भालुवाङ, कैलालीको अत्तरिया लगायत क्षेत्रमा बनाउनु पनि आवश्यक छ ।”
सडक दुर्घटनामा प्रायःजसो हात्ती, गैंडा जस्ता ठूला जनावर भन्दा पनि बाघ, बँदेल, हरीण, मृगजस्ता जनावर पर्ने गरेका छन् । त्यसैले यस्ता अण्डरपास चितवनको टिकौली क्षेत्रमा पनि आवश्यक रहेको पत्रकार गुरुङ बताउँछन् ।
अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्ड पनि विस्तार भइरहेको छ । यो सडक एशियाली विकास ब्याङ्कको सहयोगमा बनिरहेको छ । यस सडक खण्डमा पनि वन्यजन्तु वारपार गर्ने जंगल क्षेत्र प्रशस्तै रहेका कारण यस्तै अण्डरपास सहितको जैविक मार्ग बनाउँदा उचित हुने मुग्लिङ–नारायणगढ सडक परियोजनाका प्रमुख रोहित विसुराल बताउँछन् ।
बिसुराल भन्छन्, “नारायणगढ–बुटवल खण्डलाई जैविक मार्गको रूपमा विकास गर्दा पहिलेभन्दा झण्डै १४ प्रतिशत लागत बढ्छ । शुरुको अवस्थामा जनावर पास गर्न कत्रो संरचना चाहिन्छ यो आयोजनालाई थाहा नभएको र जनावरलाई कसरी प्राकृतिकरूपमा आवतजावत गर्न सक्ने बनाउने भन्दा केही रकम थप भएको छ ।”
नेपालमा एकसिङे गैंडा तथा पाटेबाघ जस्ता दुर्लभ वन्यजन्तु पाइन्छन् । यस्ता दुर्लभ जनावर विशेषगरी राजमार्ग आसपासका राष्ट्रिय निकुञ्जमा पाइन्छन् । तीनको संरक्षणमा सबै क्षेत्र चनाखो हुनुपर्ने देखिन्छ । सडक निर्माण गर्दा नै वन्यजन्तुमैत्री बनाउन सके सवारी दुर्घटनामा वन्यजन्तु मर्ने क्रम त रोकिन्छ नै वन्यजन्तु जोगिँदा पर्यावरण र पर्यटन दुवैलाई फाइदा पुग्छ ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।