समाचारमंगलबार, ३१ बैशाख , २०७६

एक लाख ६ हजार बेराेजगारलाई रोजगारी, सरकारले रकम पठायो

हिमालखबर

सरकारले यसै आर्थिक वर्षभित्र एकलाख ६ हजार ८७२ जना युवालाई रोजगारी दिने भएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्नेहरुलाई पारिश्रमिक दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रकम समेत पठाइसकेको छ ।

यो वर्ष ३० दिन रोजगारी दिनका लागि दुई अर्ब ३६ करोड सात हजार ९६९ रुपैया सशर्त पठाएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा. लोकनाथ भुसालले बताए ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै युवाहरुलाई न्यूनतम सय दिन न्यूनतम रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यो वर्ष भने रोजगार कार्यक्रम ढिला शुरु भएकोले सय दिन नभई ३० दिनको रोजगारी दिनेगरी रकम पठाइएको हो ।

कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरी बेरोजगार युवाको तथ्यांक संकलन गरिरहेको छ । बेरोजगार सूचीकरणको समय आज सकिँदै छ । हरेक स्थानीय तहबाट आठ सयजनाका दरले ६ लाखजना बेरोजगारको सूचीकरण हुने अनुमान रहेको डा.भुसालको भनाइ छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि अनुसार स्थानीय तहले सडक, शिक्षा, वन तथा जलाधार, पर्यटन, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, निर्माण तथा मर्मतसम्भार, कृषि तथा सिंचाइ लगायत आयोजनामा रोजगारी उपलब्ध गराउनुपर्ने छ ।

स्थानीय तहले ती आयोजनामध्ये रु पाँचलाखसम्मका आयोजना युवा परिचालन गरेर सम्पन्न गर्नुपर्ने हुन्छ । आयोजनामा खर्च हुने रकमको ७० प्रतिशत रकमबाट युवालाई रोजगारी दिएर ज्यालाबापत भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि अनुसार युवालाई रोजगारी दिनका लागि रु पाँचलाखसम्मका साना आयोजनामा डोजर लगायत ‘हेवी इक्वीपमेण्ट’ प्रयोग गर्न पाइँदैन।

आगामी वर्षदेखि भने न्यूनतम सय दिनकाे राेजगारी नै लागू हुने मन्त्रालयले जनाएकाे छ । 

सबै स्थानीय तहमा पठाएकाे अनुदान विवरण 

प्रतिकृया दिनुहोस