समाचारमंगलबार, ३१ बैशाख , २०७६

एउटै वडामा १६३ जनाको बालविवाह

हिमालखबर

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ मा तीन वर्षमा १६३ जनाको बालविवाह भएको छ ।

सामुदायिक विकास केन्द्र (सिडिसी) ले गरेको सर्वेक्षणअनुसार २०७३ सालमा ३८ जना, २०७४ मा ५६ जना र २०७५ मा ६९ जनाको बालविवाह भएको भेटिएको छ।

बालविवाह हुनेमा बालिका १३३ र बालक २७ जना रहेको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिए । बालविवाह हुनेमध्ये धेरै १४ देखि १९ वर्षका छन् ।

“केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ ”, उनले भने ।

जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ जनाको बालविवाह भएको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ ।

बालविवाह हुनेमध्ये परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटबाट प्रेममा परेर ३३, गरीबीका कारण एक, राम्रो घर परिवार पाउँदा सात, चाँडो विवाह गर्ने मान्यताका आधारमा पाँच, मेला पर्वमा भगाएर एक, भविष्य राम्रो हुने आशामा एक र अन्य ८० जनाको विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताए ।

जिल्लामा बालविवाह र बालश्रमिक अन्त्यका लागि दिपायल सिलगढी नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आए पनि बालविवाह रोकिएको छैन ।

नगरपालिका प्रमुख मञ्जु मलासीले बालविवाह र बालश्रमिक राख्ने विरुद्ध कडारूपमा उत्रिने बताइन् । “बालश्रम राख्ने र बालविवाह गर्नेलाई कानूनी दायरामा ल्याएरै छाडिने छ ”, उनले भनिन् ।

प्रतिकृया दिनुहोस