समाचारसोमबार, ३० बैशाख , २०७६

अमेरिका–चीनबीच  चर्कियो ‘व्यापार–युद्ध’

हिमालखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन चीनलाई भनेका छन् ।

तस्वीर : फाइनान्सियल डटकम

वासिङ्टनले चिनियाँ सामानमाथि गरेको  करकरवृद्धिको निर्णयप्रति चीन तत्काल बदलामा उत्रिए दुई देशबीचको सम्बन्धमा समस्या आउनसक्ने राष्ट्रपति ट्रम्पले सोमबार चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्वीटरमार्फत लेखेका छन्, “चीनले कर वृद्धिको प्रतिकार गर्नु हुँदैन । यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ ।” अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो ।

करवृद्धिका वाबजुद चीन र अमेरिकाबीच व्यापार सम्बन्धमा गत वर्षदेखि देखिएको तनाव अन्त्य गर्न केही महीना यता वार्ता चलिरहेको छ र वार्ताले निरन्तरता पाउने दुवै पक्षले बताउँदै आएका छन् ।

हालै अमेरिकाले चीनका २०० बिलियन अर्थात दुई खर्ब अमेरिकी डलरका उत्पादन सामग्रीमाथि दुई गुणा भन्दा बढी आयात भन्सार कर बढाएको छ।

अमेरिकाले गत शुक्रबार चीनसँगको व्यापार वार्ता सफल नभएपछि चिनियाँ बस्तुमा १० प्रतिशतबाट २५ प्रतिशत मूल्यवृद्धि गरेको हो ।

अमेरिकाको यस कदमप्रति चीनले प्रतिक्रिया दिदै छिट्टै यसको जवाफ दिने बताएको छ ।

दुवै देशका व्यापारिक प्रतिनिधिबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि अमेरिकाले शुल्क वृद्धि गरेको हो।

यद्यपि दुई देशले व्यापारिक सम्झौताका लागि प्रयास गर्ने जनाइएको छ । अहिले वार्ताकै लागि उपप्रधानमन्त्री लिउ हेको नेतृत्वमा चिनियाँ टोली अमेरिकामा रहेको छ ।

शुल्कवृद्धिपछि पुनः विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच व्यापार युद्ध ब्युँतिने खतरा बढेको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले चीनले गरिसकेको सहमति पनि तोडेको आरोप लगाएका थिए ।

चीनसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेका कारण ट्रम्पले त्यसलाई कम गर्न चीनमाथि दबाब सृजना गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस