समाचारसोमबार, ३० बैशाख , २०७६

मिडिया काउन्सिल विधेयकप्रति साझा विवेकशील पार्टीको आपत्ति

हिमालखबर

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकप्रति साझा विवेकशील पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै साझाले मिडियालाई नियन्त्रण गर्ने अभिप्रायले ल्याइएको विधेयक ‘अनुदार लोकतन्त्र’ उन्मुख भएको ठहर गरेको हो ।

सरकारको अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खबरदारी गरिरहेको मिडियालाई नियन्त्रण गर्ने सरकारको कदम गलत भएको साझाको बुझाइ छ ।

विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रियता, जनजीविका, सुशासन, पारदर्शिता, जनउत्तरदायित्व लगायतको सवालमा सरकारको डेढ वर्षे कार्यकाल अत्यन्त निराशाजनक, बदनामपूर्ण र अलोकप्रिय भएको परिप्रेक्षमा सरकारले आफ्नाे असफलताको ढाकछोप गर्न मिडियालाई नियन्त्रण गर्न चाहेको छ ।’

सत्तारुढ दलका शीर्ष नेताहरु नै स्वास्थ्य, शिक्षा, अर्थ र भू–माफियासँग हिमचिम बढाइरहेको प्रमाण मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताहरूले मिडियालाई आफ्नो ‘मुख्य दुश्मन’ ठानेको साझाले दाबी गरेको छ ।

साझा पार्टीले मिडियालाई मर्यादित बनाउन विधेयक अविलम्व फिर्ता गरी सरोकारवालाहरुसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकुल कानून निर्माण गर्न माग समेत गरेको छ ।

त्यस्तै साझाले जिम्मेवार प्रेसको रक्षा गर्न दल आवद्ध सबै पत्रकार संगठन खारेज गर्नुपर्ने पनि बताएको छ ।

प्रतिकृया दिनुहोस