मुगुमा कर्मचारी अभाव, कार्यालय खोल्ने र बन्द गर्ने बाहेक काम हुँदैन
अच्युतराज भण्डारी, मुगु
लामो समयदेखि मुगु प्रशासनमा कर्मचारीको अभाव हुँदा दैनिक कामकाज प्रभावित बनेको छ ।
दरबन्दी अनुसारका कर्मचारी नहुँदा र भएका पनि समायोजनपछि सरुवा हुँदा जिल्ला प्रशासन कार्यालयकै काम प्रभावित भएको हो ।
जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, एकजना नायब सुब्बा र चारजना करार कार्यालय सहयोगीको भरमा चलिरहेको छ ।
उक्त कार्यालयमा १२ जनाको दरबन्दी रहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । त्यहाँ कार्यरत एकजना नायब सुब्बाको पनि छायानाथ रारा नगरपालिकामा समायोजन भइसकेको छ ।
कर्मचारी अभावले गर्दा कार्यालयका मुख्य फाँटहरु करार कार्यालय सहयोगीको जिम्मा लगाइएको छ । साउनपछि खरिदार र सुब्बाले गर्ने काम कार्यालय सहयोगीले गर्दै आएका छन् ।
लेखापाल नहुँदा कर्मचारीले समयमा तलब भत्ता समेत पाएका छैनन् । रारा राष्ट्रिय निकुञ्जका लेखापालले बेलाबेला प्रशासनको काम पनि हेर्दै आइरहेका छन् ।
सोरु गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय पनि नाममै सिमित छ । कामको लागि स्थानीयबासी करीब तीन दिनको पैदल यात्रा गर्दै जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
प्रशासनमा पनि प्रर्याप्त कर्मचारी नहुँदा सामान्य काम समेत हप्तौं लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । इलाका प्रशासन दुईजना कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने बाहेक अन्य काम हुन सकेको छैन ।