खेलकुदसोमबार, ३० बैशाख , २०७६

फराकिलो बन्दै खेलको दायरा

निरञ्जन राजवंशी

विदेशमा गएर व्यावसायिक प्रतियोगिता खेल्ने नेपाली खेलाडीको संख्या मात्र बढेको छैन, खेल र खेलाडीको दायरा समेत फराकिलो बनिरहेको छ ।

सन्दीप लामिछाने, रूबिना क्षेत्री र बिमल घर्ती मगर ।

युवा क्रिकेटर सन्दीप लामिछाने गत वर्ष भारतको विश्वचर्चित टी–२० क्रिकेट प्रतियोगिता, इन्डियन प्रिमियर लिग (आईपीएल) मा छनोट हुनु नेपाली खेल जगतका लागि ठूलो तरङ्ग ल्याउने खबर थियो । त्यसलाई निरन्तरता दिएका सन्दीपले गएको वर्षभरि व्यावसायिक खेल दुनियाँमा यस्तो विश्व भ्रमण गरे, जुन नेपाली खेल इतिहासकै ‘कोसेढुङ्गा’ बनेको छ ।

सन्दीपको व्यावसायिक उडानको चर्चा संसारभरका खेल पारखीसम्म पुगिसकेको छ । तर, नेपाली व्यावसायिक खेल जगतमा सन्दीप बाहेकका अरु खेलाडीले पनि देशको नाम अन्तर्राष्ट्रिय जगतमा पुर्‍याइरहेका छन् । कुनै बेला देशको सीमा बाहिर फूटबलले मात्र रचेको व्यावसायिकताको कथा अहिले क्रिकेट, महिला क्रिकेट हुँदै महिला भलिबल र कबड्डीसम्म फैलिएको छ ।

चर्चाका पात्र
राष्ट्रिय महिला फूटबल टोलीका महत्वपूर्ण खेलाडीद्वय सावित्रा भण्डारी र अनिता बस्नेत यतिखेर भारतीय महिला लिग (आईडब्लूएल) खेलिरहेका छन् । सावित्रालाई भारु ८५ हजार र अनितालाई भारु ६५ हजारमा आईडब्लुएल टोलीले अनुबन्ध गरेका हुन् । सावित्रा र अनिताले शुरुआती खेलदेखि नै आईडब्लुएलमा आफ्नो प्रभाव देखाउन थालिसकेका छन् ।

यो वर्ष राष्ट्रिय फूटबल टोलीका रक्षात्मक मध्यपंक्तिका खेलाडी रोहित चन्द इन्डोनेशियाको पुरानै क्लब, पर्सिजामा राम्रो रकम सहित पुनः अनुबन्धित भएका छन् ।

गत सिजन पर्सिजालाई राष्ट्रिय लिग उपाधि दिलाउन अहम् भूमिका खेलेका रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितको यो सफलता दक्षिण एशिया बाहिर नेपाली फूटबलरले पाएको सबभन्दा ठूलो उपलब्धि हो । गत वर्ष उनको पर्सिजासँगको अनुबन्ध रकम प्रति महिना रु.६ लाख थियो । नयाँ अनुबन्धको रकम नखुलाइए पनि गत वर्षभन्दा धेरै रहेको बताइन्छ ।

अनिता बस्नेत (बायाँ) र सावित्रा भण्डारी ।

रोहितले इन्डोनेशियामा आफ्नो प्रभाव बढाइरहँदा राष्ट्रिय टोलीकै अर्का महत्वपूर्ण सदस्य, गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको राष्ट्रिय लिगमा व्यस्त थिए । माल्दिभ्सको टीसी स्पोर्टस्बाट व्यावसायिक प्रतियोगिता खेल्ने क्रममा गत वर्ष उनी लिगकै उत्कृष्ट गोलरक्षक घोषित भए ।

किरण यस वर्ष पनि टीसी स्पोर्टस्मै अनुबन्धित भएका छन् । राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तिमगर पनि यस वर्ष टीसी स्पोर्टस्मा अनुबन्धित भएका छन् ।

यो सिजनमा भारतको ‘प्रो कबड्डी’ मा दुई नेपाली खेलाडी आबद्ध भएका छन् । ‘प्रो कबड्डी’ को सिजन–७ का लागि ‘बेङलोर बुल्स’ले सञ्जय श्रेष्ठ र लालकुमार यादवलाई भारु १० लाखमा अनुबन्ध गरेको हो । गत सिजनमा दुवैलाई ‘पुनेरु पल्टन’ले भारु ८ लाखमा अनुबन्ध गरेको थियो ।

सन्दीप लामिछानेको त चर्चा र सफलता नै बेग्लै छ । विश्वका प्रायः सबैजसो व्यावसायिक ‘फ्रान्चाइज क्रिकेट’ खेलेका उनले गत सिजनमा मात्र रु.१ करोडभन्दा बढी कमाए । नेपाली खेलकुद इतिहासमा एकै सिजन कुनै खेलाडीले कमाएको यो सर्वाधिक रकम हो ।

सन्दीप गत सिजनको आईपीएलमा दिल्ली डेयरडेभिल्सका लागि भारु २० लाखमा छनोट हुनु ठूलो रकम थिएन । तर, त्यो सफलतातर्फको महत्वपूर्ण पाइला थियो ।

आईपीएलपछि सन्दीपले एकपछि अर्को क्यानडाको ग्लोबल टी–२०, क्यारेवियन प्रिमियर लिग (सीपीएल), अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), बाङ्लादेश प्रिमियर लिग (बीपीएल), अफगानिस्तान प्रिमियर लिग (एपीएल) तथा दुबईमा सञ्चालित टी–१० लिगमा उनले विश्वका चर्चित क्रिकेट हस्तीहरूसँग प्रतिस्पर्धा गरे, ‘ड्रेसिङ रुम’ साटे ।

व्यावसायिक खेलकुदको इतिहास
सन् १९८० को दशकमा गणेश थापा, कृष्ण थापा जस्ता खेलाडीहरू बाङ्लादेश फूटबल लिगका स्थापित नाम बनेका थिए । त्यो बेला बाङ्लादेश र भारतमा नेपालका फूटबल खेलाडीहरूको बलियो उपस्थित हुने गथ्र्यो ।

व्यावसायिक फूटबलको यो परम्परालाई मणि शाह, उमेश प्रधान, देवनारायण चौधरी, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन हुँदै हरि खड्का, प्रदीप महर्जन, सन्तोष साहुखल, अनिल गुरुङ र अहिले विमल घर्तिमगरसम्मको पुस्ताले धानिरहेको छ ।

व्यावसायिकताको त्यो क्रममा सबभन्दा धेरै कमाउनेमा भने फूटबलर अनिल गुरुङ पर्छन् । अनिल भारतीय क्लब सिलोङ लाजोङमा एकै सिजनका लागि भारु ६५ लाखमा अनुबन्धित भएका थिए ।

राेहित चन्द । 

हुन त देवनारायण चौधरीले भारतको इष्ट बंगालबाट खेल्दा एशियाली फूटबल महासंघले आयोजना गर्ने प्रतियोगिता, एएफसी च्याम्पियनसिप समेत खेलेका थिए । धेरैका भनाइमा चाहिं इन्डोनेशियामा फूटबल खेलिरहेका रोहित चन्द अहिलेका अब्बल दर्जाका व्यावसायिक खेलाडी हुन् । फूटबल विश्लेषक सञ्जिव मिश्र भन्छन्, “दक्षिणएशिया बाहिरको लिगमा रोहितले जुनस्तरको प्रदर्शन गरिरहेका छन्, त्यो साँच्चिकै प्रशंसनीय छ ।”

नेपालमा छोटो समयमै प्रभाव जमाएको क्रिकेटका आधा दर्जन खेलाडी क्यानडा, श्रीलंका, इङ्गल्याण्डसम्म पुगेर खेलिसकेका छन् । नेपाली क्रिकेट डिभिजन–३ मा हुँदा नै पारस खड्का, ज्ञानेन्द्र मल्ल र वसन्त रेग्मीले क्यानडाको व्यावसायिक लिग खेलेका थिए । सञ्जय श्रेष्ठ लगायतका कबड्डी खेलाडीहरू पाँच वर्षदेखि भारतको ‘प्रो कबड्डी’ मा खेलिरहेका छन् ।

व्यावसायिक प्रतियोगिता खेल्ने महिला खेलाडीको शुरुआत भने भलिबलबाट भयो । माल्दिभ्सको व्यावसायिक भलिबल लिगमा प्रतिभा मालीले गरेको कमाइ आकर्षक छ । उनीसँगै माल्दिभ्समा खेलेकी मञ्जु गुरुङ भन्छिन्, “व्यावसायिकताको अर्थ विदेशी खेलाडीसँग आफ्नो स्तर मापन गर्नु हो । माल्दिभ्समा खेल्दा त्यो अनुभव गर्न पाइयो ।”

महिला क्रिकेट खेलाडीले पनि व्यावसायिक यात्रा अगाडि बढाएका छन् । राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री भारतीय व्यावसायिक प्रतियोगितामा स्थापित भइसकेकी छन् । रितु कनौजिया लगायतका खेलाडीले पनि भारत र बाङ्लादेशका व्यावसायिक प्रतियोगिता खेलेका छन् ।

अबको चिन्ता
व्यावसायिकताको दायरा फराकिलो भए पनि संख्यात्मक आकार नबढ्नु भने चिन्ताको विषय हो । दक्षिणएशियाको फूटबलमा वर्षेनि धेरै फूटबल खेलाडी पुग्ने गरेकोमा पछिल्लो समय त्यो क्रम निकै पातलिएको छ ।

एशियाली फूटबलमा फेरिएको व्यावसायिक स्वरूपले नेपाली खेलाडीमाथि चुनौती थपेको हो । विश्लेषक मिश्र भन्छन्, “अहिले क्लबहरूका आँखा ठूला देशका खेलाडीमाथि छ । उनीहरू ब्राजिल, अर्जेन्टिना जस्ता देशका खेलाडी रोज्छन्, त्यो स्तरमा नेपाली खेलाडीले चुनौती दिन नसकेका कारण अवसर घटेको हो ।”

एक टीममा तीन जना विदेशी खेलाडीलाई मात्र खेलाउन पाउने नियमका कारण नेपाल लगायत मुलुकका खेलाडीहरूको अवसर खुम्चिएपछि एशियाली फूटबल महासंघ (एएफसी) ले थप एक एशियाली खेलाडी राख्न पाउने कोटा थपिदिएको थियो ।

रोहित र किरण लगायतले त्यसमै मौका पाए । बाँकी खेलाडी भने अझै पनि अवसरको खोजीमा छन् । सीमित स्रोत–साधनबीच उत्पादन भएका यी प्रतिभाले विश्वको व्यावसायिक प्रतिस्पर्धामा भिड्नुपर्छ । र पनि, आफ्नो योग्यता प्रमाणित गर्ने खेलाडीहरूको साहस प्रशंसनीय छ ।

प्रतिकृया दिनुहोस