व्यक्तित्वसोमबार, ३० बैशाख , २०७६

शताब्दी पुरुषको जीवन–सूत्र

सन्दर्भः सत्यमोहन जोशीको जन्मशताब्दी महोत्सव

गोपाल गडतौला

एक शताब्दी हिउँद–वर्षा छिचोलेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनसूत्र–समयको हरेक एकाइलाई काममा लगाऊँ।

सत्यमोहन जोशीको जन्मशताब्दी महोत्सवका अवसरमा सोमबार आयोजित रथयात्रा । तस्वीरः विक्रम राई

सत्यमोहन जोशीको समयसँग सधैँ एउटै प्रार्थना छ—बाँचुञ्जेलका हरेक पल चेतनाशून्य हुन नपरोस् । आयुरेखाका हरेक घडी चिन्तन–मननमा निर्लिप्त भएर उनले एक शताब्दी उमेर पूरा गरेका छन् ।

आफूले बिताएको लामो आयुको कुरा उठ्नासाथ उनी पुराना कुरा सम्झिन्छन् । उनका एकजना चिनारु थिए—मणिहर्ष ज्योति, प्रतिष्ठित व्यवसायी पद्म ज्योतिका बाबु । माछामासु कहिल्यै नखाने । सधैँ दूध पिउने । तर वर्षाैंअघि क्यान्सरबाट परलोक भए ।

लामो समय चुरोटको अम्मली रहेका र कहिलेकाहीँ तम्बाकुसमेत लिएका सत्यमोहन चेतनतत्वले विश्राम लिएको मानिस मरेतुल्य ठान्छन् । उद्यमविना दिन बिताउने मान्छेलाई कोमामा रहेझैं ठान्ने उनी भन्छन्, “समयका हरेक एकाइलाई राष्ट्र र समाजको काममा लगाउनुमा जीवन छ, मेरो जीवन विश्वास यही हो ।”

नारायणहिटी दरबारको पूर्वी खण्डमा गणतन्त्र स्मारक बन्दैछ । त्यसको नेतृत्व नेपाल आर्ट काउन्सिलले गरेको छ । अनि, सत्यमोहन आर्ट काउन्सिलका अध्यक्ष हुन् । १५ जेठमा उक्त स्मारकको उद्घाट्न गर्न चटारो छ उनलाई । २४ चैत दिउँसो १२ बजेतिर कर्मचारीले घरमा ल्याइदिएको फाइलको पत्रका अक्षर अक्षर पढ्दै सम्पादन गरेर सच्याउन अह्राए ।

भेटघाट र आतिथ्य ग्रहणका लागि आउनेदेखि अध्ययन र सोधको गाँठो फुकाइमाग्न आउने अध्येतासम्मलाई समय दिन भ्याइरहेका छन् । आशीर्वचन लिन आउने नातासन्तान र छरछिमेकीहरूसँग बिताउने समय पनि निकालिरहेका छन् ।

शैशवकालको जस्तो छैन हिजोआजको पाटन । फाँटहरू साँघुरिँदै गए । सत्यमोहन निरन्तर संस्कृतिको सुर खोज्दै मठमन्दिर, विहार, चैत्य देवल आदिमा ठमठम चहारिरहेका हुन्छन् । धेरैजसो समवयीहरू छैनन् । भएका एक्कादुक्काहरूसँग उनी भेट्न र गफिन मन पराउँछन् ।

औषधि विज्ञानले मान्छेको आयु–आरोग्य बढाउन गरेको मद्दतले टोलमा बूढाबूढी देख्ने गरिएको हिजोआजका दिनसँग पुराना दिन तुलना गर्छन् । उनी सानै छँदा पाटनमा उनका जेठा हजुरबुवा ७७ वर्ष ७ महीना ७ दिन पुग्दा पास्नी गरियो ।

टोलमा यस्तो पर्व पहिलोपटक हुँदै थियो । एकदमै रवाफसाथ त्यो कर्म गरिएको थियो । सत्यमोहनले ७७, ८८ र ९९ वर्षमा यो कर्म पूरा गरिसकेका छन् ।

अरनिको चिन्ने–चिनाउने कार्य

चीनको युआन वंशको वंशावलीको २०३ नं. अध्यायमा आनिकोको बयान गरिएको छ । वंशावलीमा आनिको नेपालबाट आएका थिए भन्ने मात्र लेखिएको छ । तर, युआन वंशावलीमा लेखिएका आनिकोको बारेमा धेरै चिनियाँलाई पनि थाहा थिएन । जतिले उनको योगदानबारे बुझेका थिए, तिनले आनिकोलाई आफ्नै सम्झिएर आदर गर्दथे ।

२००७ सालपछि इटलीका विद्वान् गोसेप टुची पदयात्राका लागि टोलीसाथ नेपाल आएका थिए । उनका साथमा प्रामाणिक इतिहासको खोजीमा ख्याति कमाएका अनुसन्धाता लुसिनो पेटेक पनि आएका थिए । उनले मध्यकालीन नेपालको इतिहास लेखेका छन् । खोजको क्रममा लुसिनो पेटेकले पुराना शिलालेखहरूको अध्ययन गरेका थिए ।

उनको त्यो इतिहासको पुस्तकमा अरनिकोको बारेमा सानो टिप्पणी लेखेका छन् । टिप्पणीमा अरनिको नेपालबाट चीन गएको कुरा लेखिएको छ । तर, त्यो पुस्तक अंग्रेजी भाषामा युरोपमा छापिएकाले धेरै नेपालीले पढ्न र बुझ्न सकेका थिएनन् । पुस्तकमा आनिकोलाई (palpaau) पलपाउ लेखिएको थियो। मंगोलियन भाषामा भएको यो शब्दलाई बाबुराम आचार्य र बालकृष्ण सम जस्ता इतिहासकारले बलबाहुको रूपमा चिनाए ।

चिनियाँ भाषामा पैचिङ उच्चारण हुन्छ, जुन अंग्रेजीमा बेइजिङ हुन्छ । अर्थात ‘ब’ लाई उनीहरू ‘प’ उच्चारण गर्छन् । यसरी चिनियाँले बलबाहुलाई पलपाउ उच्चारण गरेको विश्लेषण गर्दै बाबुराम आचार्य र बालकृष्ण समले अरनिकोलाई बलबाहु लेखेको उनी स्मरण गर्छन् ।

विसं २०१३ सालमा काठमाडौंमा चौथो विश्व बौद्ध सम्मेलन भएको थियो । सम्मेलनमा चिनियाँ सांस्कृतिक टोली पनि आएको थियो । फर्किंदा त्यो टोलीले सम्मेलनको नेपाली आयोजक धर्माेदय सभालाई चीन भ्रमणको निम्ता दियो । त्यो बेला धर्माेदय सभाका अध्यक्ष भिक्षु अमृतानन्द थिए । २०१६ सालमा भिक्षु अमृतानन्दका साथमा चीन गएको ६ जनाको टोलीमा सत्यमोहन पनि थिए ।

टोली बर्मा हुँदै चीन पुग्यो । नेपाली टोलीलाई नेपालबाटै ‘तपाईंहरूकै देशबाट आएका कलाकार आनिकोले बनाएको सम्पदामा राख्छौं’ भन्दै पेकिङको एउटा श्वेत चैत्यमा २ दिन राखे । उनलाई त्यो चैत्य देखेपछि त्यसबारे बुझ्न मन लाग्यो । तथ्यहरू टिपटाप गरे । पेकिङमै आनिकोको समाधिस्थलमा शिलालेख राखिएको उनले देखेका थिए । नेपाल फर्किएर उनले अरनिकोको बारेमा लेख लेखे । तै पनि अरनिकोले चीनमा चैत्य, विहार आदि निर्माणमा गरेको योगदानबारे जान्ने भोक उनमा कायम थियो, तृप्त थिएनन् ।

फर्किएपछि सत्यमोहनलाई तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले पुरातत्व संस्कृति विभागको डाइरेक्टर बनाए । जनसंख्या विभागमा खरिदारको जागिर खाइरहेका सत्यमोहनलाई एकैपटक डाइरेक्टर पद सम्हाल्न सक्दिन कि भन्ने पनि लाग्यो ।

शुरुमा त उनले गृहमन्त्री उपाध्यायलाई ‘म सक्दिनँ होला’ भने । तर, गृहमन्त्री उपाध्यायले सत्यमोहनले लेखेको हाम्रो लोक संस्कृति पुस्तक देखाउँदै ‘जोशीजी, यो पुस्तक लेख्ने व्यक्तिलाई डाइरेक्टर बनाएको हो, तपाईंले नाइँ भन्न पाउनुहुन्न’ भने । त्यसपछि उनी विभागको डाइरेक्टर बने ।

डेढ वर्षपछि २०१७ सालमा राजा महेन्द्रले कु गरे । सत्यमोहनको डाइरेक्टरको जागिर पनि कु सँगै खोसियो । डाइरेक्टर भइसकेको मान्छेले सानो जागिर खान पनि भएन । उनी बेरोजगार भए ।

२०१९ सालतिर चिनियाँहरूले नेपाली भाषा सिकाउन सक्ने मान्छे खोजिरहेका रहेछन् । पहिले नै चीन पुगेर आएका सत्यमोहनले त्यो अवसर पाए । त्यसपछि उनी चीन गए । नेपाली भाषा पढ्न चाहने चिनियाँ विद्यार्थीलाई पढाए । हरेक दिन निवासदेखि पढाउन जाने बाटोमा अरनिकोले बनाएको श्वेत चैत्य पर्दथ्यो । फुर्सदको समयमा त्यसैको खोज अनुसन्धानमा लगाए ।

चीन रहँदा त्यहाँका चैत्य र बिहारहरूको बारेमा धेरै तथ्यहरू बटुलेर आए । टुक्रा टुक्रा लेखहरू लेखे । तर, अरनिकोको बारेमा उनको शोध ग्रन्थ भने सन् १९८४ मा प्रकाशित भयो।

सत्यमोहन जोशीको जन्मशताब्दी महोत्सवका अवसरमा सोमबार आयोजित रथयात्रा । तस्वीरः कनकमणि दीक्षित

चिनियाँ राष्ट्रपति लि सिनियन सन् १९८४ को मार्चमा नेपालको राजकीय भ्रमणमा आएका थिए । उनले राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई रात्रिभोजमा सत्धर्म पुण्डरिका सूत्र ग्रन्थ थमाउँदै “तपाईंहरूको यति महत्वपूर्ण ग्रन्थ हामीकहाँ रहेछ, यसको महत्व तपाईंहरूलाई बढी छ” भन्दै थमाएछन् । त्यो बेला वीरेन्द्रले आफ्ना सचिवलाई बोलाई उक्त ग्रन्थ राष्ट्रिय अभिलेखालयमा राख्न लगाए । राष्ट्रपति लि सिनियनले फर्किने बेलामा राजा वीरेन्द्रलाई चीन भ्रमणको निम्ता दिए ।

राजाले साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक कृष्ण चन्द्रसिंह प्रधानलाई बोलाएर चिनियाँ राष्ट्रपतिले उपहारस्वरूप महत्वपूर्ण ग्रन्थ दिएको बताए । आफूले पनि चिनियाँ राष्ट्रपतिलाई नेपाल र चीनको मित्रता एवं सामाजिक र सांस्कृतिक सम्बन्ध संवर्धन हुनेखालको पुस्तक उपहार दिन चाहेको पनि बताएछन् ।

सत्यमोहनलाई बोलाएर कृष्णचन्द्रसिंह प्रधानले दरबारले एउटा महत्वपूर्ण ग्रन्थ खोजी गरिरहेको बताए । “यो काम अरुले पार लगाउँदैनन्, तपाईंले मात्र गर्न सक्नुहुन्छ” भने । सत्यमोहनलाई राजाले राष्ट्रपतिलाई उपहार दिन चाहेको ग्रन्थ तयार गर्ने एउटा महत्वपूर्ण मौका आएको महसुस भयो।

उनी अरनिकोको सोधग्रन्थ तयार पार्न लागे । सामग्रीहरू करीब करीब तयार थिए । त्यति नै बेला टोयोटा मोटर कम्पनीका प्रबन्धक गजानन्द वैद्यले त्यो ग्रन्थ तयार हुन लागेको थाहा पाएछन् । त्यसपछि वैद्यले बैंककको राम्रो छापाखानामा त्यो ग्रन्थ छाप्न र त्यसको सम्पूर्ण खर्च आफूले व्यहोर्ने प्रस्ताव गरे । यसरी फस्ट क्लासको छपाइमा वैद्य प्रकाशक बनेर उक्त ग्रन्थ बैंककबाट प्रकाशित भयो ।

ग्रन्थ प्रकाशित भएपछि वैद्यलाई दरबारबाट बोलावट भयो । उनले सत्यमोहनलाई लिएर दरबार पुगे । सधैँ टोपी लगाइरहने सत्यमोहनलाई त समस्या परेन । तर, टोपी नलगाएका वैद्यको शिरमा टोपी थिएन् । उनले हतार हतार एकजना पियनको टोपी मागेर लगाएर दरबार पसे । ग्रन्थ हेर्दै राजा खुशी भएर धेरै तारिफ गरे । त्यसपछि कलाकार अरनिकोको बारेमा व्यापक चर्चा शुरु भयो ।

यही मेसोमा अरनिको राजमार्ग, अरनिको कलेज, ठाउँ–ठाउँमा अरनिकोका मूर्तिहरू बने, हुलाक टिकट छापियो, पाठ्य सामग्री लेखियो र राष्ट्रिय विभूति पनि घोषित गरियो । सत्यमोहनको आग्रहमा ललितपुर महानगरपालिकाले अरनिकोको सालिक बनाएको छ । सालिक ३० वैशाखमा सत्यमोहनको जन्म शताब्दी वार्षिक कार्यक्रमको शुरुआत गर्दै उद्घाटन गरिएको छ । अरनिकोलाई चिनाउने यो सम्पूर्ण शृंखलाका सूत्रधार सत्यमोहन भन्छन्, “यसरी तेह्रौं शताब्दीका एक महान कलाकारबारे सबैलाई थाहा भएको हो ।”

चोरिनबाट जोगाउन मूर्ति लुकाइयो

२०१६ सालतिर पनि मूर्ति हराउने क्रम थियो । यो क्रम पछिसम्मै चल्यो । सत्ताधिकारीहरूको बारेमा कोही बोल्न सक्ने अवस्था थिएन । पञ्चायतमा त यो क्रम झन बढेर गयो ।

नारायणहिटी राजदरबारको उत्तरढोका नजिकै थुम्कोमा धोबीहरूको बस्ती थियो । त्यहाँ मन्दिर र पाँचौं शताब्दीको तिथिमिति सहितको विष्णु विक्रान्तको वामन अवतारको मूर्ति थियो । त्यस मूर्तिलाई तुलाधर, स्थापितहरूले कुलदेवता मान्थे । मन्दिर भने करीब करीब भत्किसकेको थियो ।

शिलालेख सहितको त्यो मूर्ति चोरिएला भन्ने डरले सत्यमोहन आफैं लागेर मूर्ति निकाली तीन महीनासम्म घण्टाघरको वीर पुस्तकालयमा लुकाए । यो उनी पुरातत्व संस्कृति विभागको निर्देशक भएको बेलाको (२०१६–२०१७ सालको) घटना थियो । मूर्ति हरायो भन्ने धेरै हल्लीखल्ली भयो । चोरिनबाट जोगाउन लुकाइएको उक्त मूर्ति हाल छाउनीस्थित सैनिक संग्रहालयमा छ ।

‘सम्पदा हाम्रो मात्र होइन’

सत्यमोहनलाई लाग्छ– नेपालीहरूले सजिलै गर्न सक्ने भनेको सम्पदा संरक्षणको काम हो । भएका सम्पदा जोगाएर राख्नुको फाइदा नेपालीलाई मात्र होइन, कला, सम्पदा र संस्कृतिबारे जान्न चाहने धर्तीका हरेक मान्छेका लागि त्यसको महत्व रहन्छ । यस्ता हरेक सम्पदामा मान्छेको अद्भूत कला, क्षमता प्रस्फुटन भएकाले विश्वसम्पदाभित्र परेका हुन् । घरनजिक पाटनको कृष्ण मन्दिर हेर्दा उनलाई लाग्छ— यसभित्र कति विराट र दिव्य कलाकर्म, महान सोचका साथै कति ठूलो सामर्थ्य परेको होला !

एउटा अन्तरक्रियामा उनलाई कसैले सोध्यो, “जोशीज्यू, बुद्धको सबभन्दा पुरानो मूर्ति कुन हो ?” उनले भने, “यो प्रश्नका लागि धन्यवाद, जवाफ मलाई थाहा छ, तर भन्न सक्दिनँ ।” मूर्ति कति पुरानो हो भनेर त्यसको तिथिमिति सार्वजनिक गर्न थालियो भने चोरी हुने सम्भावना बढ्छ भन्ने लागेर सत्यमोहनले यस्तो जवाफ दिएका थिए । पुरातात्विक सम्पदाको रक्षाका लागि हरेक नागरिकमा चेत पस्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस