समाचारआइतबार, २९ बैशाख , २०७६

गाडी चलाउँदा फोन चलाएपछि डेभिड बेकह्याम कारबाहीमा

हिमालखबर

इंग्ल्यान्डका राष्ट्रिय फुटबल टोलीका भूतपूर्व क्याप्टेन डेभिड बेकह्यामले गाडी चलाउँदा मोबाइल फोनको प्रयोग गरेपछि कारबाहीमा परेका छन् ।

डेभिड बेकह्याम । तस्वीर : आइरिस टाइम्स डटकम

अब डेभिडले ६ महीना सवारी चलाउन पाउने छैनन् । उनले नोभेम्बर २१, २०१८ मा कार चलाउँदै गर्दा फोन प्रयोग गरेका थिए ।

उनले गाडी चलाउँदा फोन उठाएको तस्वीर एक व्यक्तिले खिचेको जनाइएको छ । यसअघि पनि तीव्र गतिमा गाडी चलाएकोमा बेकह्याम कारबाहीमा परेका थिए ।

अब बेकह्यामले ६ महीना गाडी चलाउन नपाउनुका साथै ७५० पौन्ड जरिवाना पनि तिर्नुपर्नेछ । यसका अलावा १०० पौन्ड र अतिरिक्त ७५ पौन्ड पनि तिर्नुपर्नेछ ।

न्यायाधीश क्याथरिन मोरले त्यतिखेर सडकमा गाडीहरू बिस्तारै गुडिरहेका भए पनि कानूनअनुसार 'कसैलाई छुट नहुने' बेकह्यामलाई बताएकी थिइन्।

तर, यसबारेमा बेकह्यामको पक्षमा वकालत गरेका जेर्राड टिरेलका अनुसार सोधिएका प्रश्नमा बेकह्यामले उक्त दिन वा घटना सम्बन्धमा आफूलाई कुनै सम्झना नभएको बताएका थिए ।

ब्रिटेनमा सवारी चलाउँदा फोन समात्ने कामलाई गैरकानुनी मानिन्छ । यद्यपि नसमातीकन ‘ह्यान्ड्स फ्री’ उपकरणमार्फत् बोल्नमात्र पाइन्छ ।

–एजेन्सी

प्रतिकृया दिनुहोस