समाचारआइतबार, २९ बैशाख , २०७६

मुगुमा यार्सा संकलन १५ जेठदेखि 

हिमालखबर

अच्युत राज भण्डारी

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले यसपटक यार्सागुम्बा टिप्न १५ जेठदेखि खुला गर्ने भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको बैठकले १५ जेठदेखि २५ असारसम्म ४० दिनका लागि मात्र यार्सा संकलनको समय निर्धारण गरेको हो ।

विगतका वर्षमा कुनै समय सीमा निर्धारण नगरी आफ्नै मनोमानी ढंगले यार्सा टिप्दै आएका स्थानीयले यो वर्ष भने गाउँपालिकाले तोकेको समय सीमाभित्र रहेर यार्सा संकलन गर्नुपर्ने भएको छ ।

तोकिएको समयभन्दा अगाडि वा पछाडिसम्म यार्सा टिप्न पाइने छैन । कार्यपालिकाको नियम उल्लंघन गरी लुकीचोरी यार्सा टिप्न जानेलाई कारबाही समेत गरिने गाउँपालिकाले जनाएको छ ।

विगतमा जेसुकै भएपनि यो पटक यार्सा टिप्न ४० दिन मात्र तोकिएको गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए । यार्सा संरक्षण गर्न समय तोक्नुपरेको उनको भनाइ छ ।

कार्यपालिकाको बैठकले यार्सा संकलकबाट उठाउने प्रवेश शुल्क समेत निर्धारण गरेको छ । जिल्ला बाहिरबाट यार्सा टिप्न आउने प्रतिव्यक्तिका लागि २ हजार ५ सय र जिल्लाभित्रकालाई प्रतिव्यक्ति २ हजार प्रवेश शुल्क उठाउने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले जानकारी दिए ।

यार्सा टिप्नका लागि लिइने प्रवेश शुल्क वापत उठेको कूल रकममध्ये ४० प्रतिशत सम्बन्धित वडाका मुगु र डोल्फू गाउँको विकासमा खर्च गरिने भएको छ । २५ प्रतिशत रकम रसिद छपाइ, विज्ञापन, युवाक्लब, यार्सा संकलकलाई औषधोपचार सरसफाइ लगायत कार्यमा खर्च गरिने छ ।

जम्मा हुन आएको कूल रकममध्ये ३५ प्रतिशत गाउँपालिकाको खातामा जम्मा गरिनेछ र सबै वडाका आवश्यकता बमोजिम विकास निर्माण जनचेतना अभिवृद्धि औषधि खरीदमा खर्च गरिने बैठकले निर्णय गरेको छ ।

विगत वर्षहरूमा साविकको जिल्ला विकास समिति गाउँ विकास समिति र वन कार्यालयले यार्सा संकलन तथा प्रवेश शुल्क निर्धारण गर्दै आएपनि संघीय संरचना लागू भएपछि यार्सा संरक्षणदेखि संकलनको जिम्मा सम्बन्धित गाउँपालिकाले लिएको छ ।

जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टा“के, हाङदाङ खोला, महलेख, लगायत पाटन क्षेत्रमा बहुमूल्य जडिबुटी यार्सा पाइने गरेको छ ।

गर्मी मौसममा उम्रिने उक्त यार्सा टिप्न जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, हुम्ला, बाजुरा लगायत जिल्लाबाट हजारौं स्थानीय आउने गरेका छन् ।

यार्सा संकलनबाट स्थानीयको जीवनस्तरमा सुधार आउने तथा गाउँपालिकाको राजस्वको प्रमुख स्रोत बनेको छ । गाउँपालिकाको आम्दानीको मुख्य स्रोत यार्सा भएको मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले भने, “यसलाई संरक्षण संवद्र्धन कसरी गर्ने भन्ने चुनौती देखा परेको छ, ।”

यार्सा संरक्षणमा भने हालसम्म कुनै कार्यविधि तयार गरिएको छैन । गाउँपालिकाले यार्सालाई राजस्वको प्रमुख स्रोत भन्ने तर नीतिनियम, कार्यविधि नबनाएको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले बताए । यार्सा संरक्षण र अनुसन्धानमा पनि गाउँपालिकाले जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस