समाचारआइतबार, २९ बैशाख , २०७६

प्रदेश–१ को नाम ‘कोशी’ राख्ने पक्षमा नेकपा

हिमालखबर

विराटनगरलाई प्रदेश–१ को राजधानी तोकिनुपर्ने माग सहित विराटनगरवासीले हड्ताल शुरू गरेकै दिन २३ वैशाखमा प्रदेश सभा बैठकले दुईतिहाइ बहुमतबाट राजधानी टुंगो लगाएको छ ।

प्रदेश–१ को राजधानी टुङ्गो लगाएको २३ वैशाखको प्रदेश सभा बैठक । तस्वीरः कमल रिमाल

प्रदेश सभाका ९३ सदस्यमध्ये ८६ जनाले विराटनगरको पक्षमा मतदान गर्दा ७ जना भने मतदान प्रक्रियामै सहभागी भएनन् । सत्तारुढ नेकपाले प्रस्तुत गरेको यो प्रस्तावमा विराटनगरलाई स्थायी राजधानी तोकेर बृहत् विराट क्षेत्र अन्तर्गतका विराटनगर, इटहरी र सुन्दरहरैंचा क्षेत्रमा व्यवस्थापिका र कार्यपालिका राखिने उल्लेख छ ।

धनकुटालाई राजधानी तोक्नुपर्ने माग गर्दै नेकपाका सदस्य निरन राई र नेपाली कांग्रेसका लीला सुब्बाले अलगअलग रूपमा दर्ता गराएका प्रस्ताव भने फिर्ता लिए ।

मोरङ र सुनसरीका १८ वटा नगरपालिका/गाउँपालिका समेट्ने बृहत् विराट क्षेत्रभित्र जहाँसुकै पनि संरचना राख्न सकिने निर्णय भएकाले विराटनगरमै प्रदेश सभा र मन्त्रालयहरू रहने निश्चित छैन । “नयाँ ठाउँमा संरचना नबन्दासम्म सबै काम विराटनगरबाटै हुन्छ”, नेकपाका नेता एवं प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे भन्छन्, “निकायहरू छर्ने होइन, एकै ठाउँमा राख्नुपर्छ ।”

प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की पनि तयारी अवस्थाका संरचनाबाटै प्रशासनिक काम सहज हुने र शरीरका अंग झैं प्रदेशका अंगहरू पनि अलगअलग राख्न नमिल्ने बताउँछन् ।

प्रदेश सभा नियमावलीका केही बुँदा निलम्बन गरेर राजधानी तोकिए पनि नाममा जातीय पहिचान खोज्न थालिएकाले प्रदेशको नाम टुंग्याउने विषय भने थप जटिल बनेको छ । किरात समुदायले ‘किरात प्रदेश’, लिम्बूहरूले ‘लिम्बूवान’, राजवंशीले ‘कोचिला’ र ‘विराट’ नाम राख्न माग गरिरहँदा सत्तारुढ नेकपाकै प्रदेश सभा सदस्यहरूले प्रदेशको नाम ‘चोमोलोङ्मा’ (सगरमाथा) राख्नुपर्ने माग सहित संसदीय दलमा प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश सभामा दुईतिहाइ बहुमत रहेको नेकपा भने प्रदेशको नाम ‘कोशी’ राख्ने पक्षमा देखिन्छ । “प्रदेशका प्रायः सबै जिल्ला जोड्ने कोशी नदीको नाममा विवाद नहुन सक्छ” नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी भन्छन्, “जातिगत माग धेरै भएकाले जातीय नाम राख्दा विवाद बढ्छ ।” नेकपाभित्र कोशीका पछाडि किरात नाम थप्नुपर्ने बहस पनि शुरू भएको छ ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस