संकटमा ‘जेठोबूढो’
“दुर्लभ अवस्थामा रहेका र मासिनै लागेका धानका जातलाई खोजेर संरक्षण गर्नुपर्छ । स्थानीय जातको बीउ लोप भयो भने हामी किसान भोलि खाद्य सुरक्षाको संकटमा पर्न सक्छौं र भोलि हामी भोकमरीमा पर्छौं । हाम्रो धर्ती बाँझो रहन सक्छ ।”
सुमन गुरुङ, पोखरा
उच्च पहाडी भेग, खासगरी जुम्लाको सिंजा उपत्यकामा पाइने मार्सी धानको जति चर्चा हुन्छ, उच्च पहाडी भेगमै फल्ने अर्को जेठोबूढो धानको नाम भने कम सुनिन्छ ।
जेठोबूढो धानको चामल कास्कीमा लोकप्रिय छ । मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम हुने जेठोबूढो पोखरेलीको पहिलो रोजाइको चामल हो । ६ सयदेखि ९ सय मिटरसम्मको उचाइमा फल्ने योे धान चिसो पानीमा बढी सप्रन्छ ।
स्थानीय किसान सरस्वती अधिकारी भन्छिन्, “जेठोबूढोको बास्ना मिठो हुन्छ । हाम्रो चलन अनुसार पाहुना आउँदा मीठो बास्नादार खाना पकाएर दिने, इज्जत राख्नका लागि पनि जेठोबूढो चामलको भात पकाएर खान दिने चलन छ ।”
कृषक अधिकारीका अनुसार मीठो भएपनि स्थानीयले यो धान धेरै लगाउने गरेका छैनन् तर बीउ भने जोगाउनलाई विभिन्न उपाय निकालेका छन् ।
कास्कीको पोखरा र आसपासका किसानले परापूर्व कालदेखि लगाउँदै आएको जेठोबूढो बढ्दो सहरीकरणका कारण संकटमा पर्दै गएपछि संरक्षणको उपाय खोजिएको हो ।
यसका लागि पोखरा बजारदेखि १९ किलोमिटर पर पृथ्वी राजमार्गमा पर्ने तालचोकदेखि ८ किलोमिटर पूर्वमा अवस्थित सुन्दरीडाँडामा रूपा बेगनास सूचना केन्द्र स्थापना गरिएको छ । यो सूचना केन्द्रमा विभिन्न प्रजातिका स्थानीय धान तथा अन्नबालीको संरक्षण गरिन्छ । साथै यहाँ पुग्ने पर्यटकलाई जेठोबूढो धानको बारेमा जानकारी दिइन्छ ।
सुन्दरीडाँडा पोखरा महानगरपालिका–३१ मा पर्छ । रूपा बेगनास सूचना केन्द्रको नामबाट परिचित यस ठाउँमा पुग्न पोखराबाट बसमा १ घण्टा लाग्छ । दृश्यावलोकन तथा जैविक विविधतासम्बन्धी विषयमा अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि भ्यू टावरसँगै सूचना केन्द्रको पनि स्थापना गरिएको रूपा बेगनास सूचना केन्द्रका सञ्चालक समितिका अध्यक्ष लेखनाथ ढकाल बताउँछन् ।
लेखनाथ ढकालका अनुसार यो केन्द्रमा जेठोबूढो, अनादी, कागुनो जस्ता धानलाई प्रवद्र्धन र प्रचार प्रसार गरिएको छ । स्थानीय धानको चामलको बजार खोज्न, किसानलाई बजारीकरण र अन्य आवश्यक जानकारीहरू पनि राखिएको छ ।
सुन्दरीडाँडामा सूचना केन्द्रका साथै स्थानीय र वाह्य पर्यटकका लागि भ्यू टावरसमेत निर्माण गरिएकाले रूपा ताल, बेगनास ताल र हिमालयको मनोरम दृश्य देखिन्छ ।
डाँडामा अवस्थित रूपा बेगनास जैविक सूचना केन्द्रमा विभिन्न स्थानीय जातका धानको संरक्षण गरिएको छ । ती धानमध्ये पोखरेली जेठोबूढो धानले सूचना केन्द्रमा पुग्ने आन्तरिक पर्यटककोे ध्यान खिच्ने गर्छ । पोखरेली जेठोबूढो धान यस ठाउँको विशेषता जस्तै बनिसकेको छ ।
त्यहाँ पुग्ने जो कोही सो धानको चामल किनेरै फर्कन्छन् । सूचना केन्द्रकी व्यवस्थापक प्रतिक्षा थापाले त्यहाँ पुग्ने धेरैले जेठोबूढो चामल लाने गर्छन् । प्रतिक्षा भन्छिन्, “यहाँबाट महीनामा कम्तीमा पनि ३०\३५ किलो जेठोबूढो चामल बिक्री हुन्छ । २०\२५ किलो त एकैजनाले लगेका उदाहरण पनि छन् । चामल नै कम हुने हुनाले माग धान्न सकेका छैनौं ।”
त्यहाँ पुग्ने पर्यटकले चामलमात्र हैन जेठोबूढो धान नै किन्न खोज्छन् । सूचना केन्द्रका कर्मचारीका अनुसार कहिलेकाहीँ ३०\४० मुरी धानको माग हुन्छ ।
चामलमात्र बेच्ने भएकाले धानको माग पूरा गर्न सजिलो छैन । स्थानीय जातको धानको संरक्षण र सचेतना बढाउने केन्द्रको उद्देश्य भएकाले बिक्री वितरणमा ध्यान दिन नसकेको लेखनाथ ढकाल बताउँछन् ।
जेठोबूढो धान धेरै उत्पादन हुन नसके पनि स्थानीयले जेठोबूढो धानका बीउ भने जोगाएका छन् । धानको बीउ जोगाउन किसानलाई जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक संस्थाले पनि सहयोग गरेको छ ।
लि–बर्डकै अगुवाइमा गठित सहभागितामूलक बाली प्रजनन समूहले विभिन्न जातका बीउको क्रस गराएर स्थानीय धानको बीउ संरक्षणमा काम गरिरहेको छ । र सुधारिएको जेठोबूढो धान उत्पादन गरिरहेको छ ।
लि–बर्डका प्राविधिक अधिकृत इन्द्रप्रसाद पौडेल स्थानीय स्तरमा सहभागितामूलक बाली प्रजननका लागि कृषकको सहभागितामा प्रजनन गर्ने, जात छनोट गर्ने र विकास गर्ने काम संस्थाले गरिरहेको बताउँछन् ।
यसका लागि लि–बर्डले सहभागितामूलक बाली प्रजनन समूह बनाएको छ । यस अन्तर्गत किसानलाई भौगोलिक अवस्था अनुसारका स्थानीय धानका जात छनोट गर्ने र वैज्ञानिक र किसानको अनुभवलाई बटुलेर नयाँ जातको विकास गर्ने गरिन्छ । सहभागितामूलक बाली प्रजनन कार्यले किसानलाई पनि उत्साहित बनाएको छ ।
स्थानीय किसान सूर्यप्रसाद अधिकारी भन्छन्, “अब यहाँ मात्र होइन, अन्यत्र पनि दुर्लभ अवस्थामा रहेका र मासिनै लागेका जात छन् भने तिनलाई खोजेर संरक्षण गर्नुपर्छ । स्थानीय जातका बीउ लोप भयो भने हामी किसान भोलि खाद्य सुरक्षाको संकटमा पर्न सक्छौं र भोलि हामी भोकमरीमा पर्छौं । हाम्रो धर्ती बाँझो रहन सक्छ भनेर नै हामीले यी कार्यक्रम गर्दैछौं ।”
सहभागितामूलक बाली प्रजनन समूहमा आबद्ध कृषकलाई स्थानीय जातका बालीको संरक्षण र प्रवद्र्धनका लागि हौसला पुगोस् भनेर नै सुन्दरीडाँडाको रूपा बेगनास सूचना केन्द्रमा स्थानीय बाली प्रदर्शन गरेर राखिएको हो ।
बाली प्रदर्शित गर्दा त्यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय रैथाने धानका विभिन्न जातका धानका बारेमा जानकारी त पाएकै छन् साथै जेठोबूढो धानको चामलको बिक्री पनि बढेको छ ।
सूचना केन्द्रमा आउने पर्यटकले न्यूनतम शुल्क पनि तिर्नुपर्छ । त्यसबाट हुने आम्दानीको ४० प्रतिशत जलाधार संरक्षण कोषमा २० प्रतिशत नजिकै रहेको अरुणज्योति प्राथमिक विद्यालयमा र बाँकी ४० प्रतिशतलाई भ्यू टावर र सूचना केन्द्रको व्यवस्थापनमा छुट्याइएको छ ।
सूचना केन्द्र जेठोबूढो धान र अन्य स्थानीय धानको संरक्षण, प्रदर्शन र बिक्री गर्न मात्र नभई जैविक विविधता संरक्षणमा पनि लागेको छ । बाली संरक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराका बाली संरक्षण अधिकृत धनबहादुर रानाका अनुसार जेठोबूढो धानको लोकप्रियताले नै गर्दा लि–बर्डले यसको छनोट गरेर सुधारिएको पोखरेली जेठोबूढो भन्ने निकालेको छ ।
यो सुधारिएको धान कास्कीको पामे, लेखनाथ, कसेरी, ठूलाखेत आदि स्थानमा बीजवृद्धिको लागि प्रयोग भइरहेको छ ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।