कठै ‘काला’ हिमाल
सुन्दर थकाली र अनन्त घिमिरे
घाम झुल्किँदा सुन जस्तै र जून लाग्दा चाँदी जस्तै टल्कने मुस्ताङका हिमालहरू पछिल्लो समय उजाड र काला देखिन थालेका छन् । सधैँ चिसो रहने यो क्षेत्र आजकल तातो बढ्दै गएकोे छ ।
यस वर्ष मनाङ र मुस्ताङमा बढी नै हिमपात भयो । पानी पनि अरु वर्षभन्दा बढी पर्यो । त्यहाँको वातावरणमा परिवर्तन हुँदैछ । जाडो, गर्मी, वर्षात् र हिमपात हुने पहिलेको नियम पनि बदलिएको छ ।
घरपझोङ गाउँपालिका मुस्ताङका कर्मचारी विष्णु पौडेल भन्छन्, “अहिले मुस्ताङको वातावरण मान्छे र पशुपक्षीका लागि प्रतिकूल बन्दै गएको छ।” पौडेल भन्छन्, “हिमालमा विगतको तुलनामा यो वर्ष हिउँ धेरै परे पनि तापक्रम वृद्धिले हिमालमा हिउँ टिक्न सकेन । जलवायु परिवर्तनका कारण हिउँ पनि दूषित हुँदा त्यही हिउँ खाएर बाँच्ने जनावरहरूमा संक्रमण देखा परेको छ ।”
पौडेलले भने जस्तै भारी हिमपात र निरन्तरको वर्षाले यो वर्ष मनाङ र मुस्ताङमा धेरै चौपाया मरे । यो वर्ष मनाङको चामे, नासोंग, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायत ठाउँमा अन्य वर्षको तुलनामा भारी हिमपात भयो ।
हिमपातका कारण सरकारी कामकाज हुन सकेन भने स्थानीय वासिन्दा घरबाहिर निस्कन सकेनन् । हिमपातसँगै तीव्र गतिको हावा चलेपछि अत्यधिक चिसो बढेर तापक्रम माइनस २० डिग्रीसम्म पुग्यो । हिमपातले पानीका धाराहरू जमेर पिउने पानीको अभाव भयो । सडकमा ५ फिटसम्म हिउँ जमेपछि सडकमा यातायात चल्न सकेन ।
मनाङ, चामेका होटल व्यवसायी छिरिङ दोर्जे लामा भन्छन्, “यो वर्ष यतिधेरै हिउँ पर्यो कि व्यवसाय गर्न सकिएन । महिनौंसम्म पर्यटक आएनन्। हिउँले आम्दानीको स्रोत नै संकटमा पारिदियो ।”
जनहित मावि जोमसोमका प्रधानाध्यापक रामचन्द्र अधिकारी यस्तो हुनुलाई वातावरणमा आएको परिवर्तन ठान्दछन् । १५ वर्षदेखि मुस्ताङ बसिरहेका अधिकारी जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाल, हिमाली क्षेत्र र त्यहाँको वातावरणमा परेको बताउँछन् ।
उनी भन्छन्, “जलवायु परिवर्तन नेपालका कारण नभई विकसित मुलुकको लापरवाहीको परिणाम हो । त्यसैले यसलाई कम गर्ने दायित्व पनि उनीहरूकै हो ।”
पछिल्ला वर्षहरूमा मनाङ र मुस्ताङ पुग्ने आन्तरिक तथा वाह्य पर्यटकले मात्र होइन, स्थानीयबासीले समेत हिमाललाई छोएर बहने चिसो हावाको स्पर्श लामो समयसम्म अनुभव गर्न छाडेका छन् । नीलगिरि र धौलागिरि हिमालमा हिउँ कम हुन थालेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका महिला सदस्य भुवन शेरचन भन्छिन्, “हिमालमा हिउँ कम हुनु जलवायु परिवर्तनका कारण हुन सक्छ । यसले हिमालमा समेत तापक्रम बढेको अनुभव हुन थालेको छ ।”
शेरचनका अनुसार यसरी हिमालहरू संकटमा पर्नु, नाङ्गो पत्थरका रूपमा देखा पर्नु भनेको पर्यटन व्यवसायका लागि समेत चुनौती हो । यसले हिमाली जिल्लाहरू मुस्ताङ र मनाङ दुवैको मौलिकतालाई पनि धरापमा पार्न थालेको छ ।
हुन पनि हो । घाम झुल्किँदा सुन जस्तै र जून लाग्दा चाँदी जस्तै टल्कने मुस्ताङका हिमालहरू भने पछिल्लो समय उजाड र काला देखिन थालेका छन् । सधैँ चिसो रहने यो क्षेत्र आजकल तातो बढ्दै गएकोे महसुस हुन थालेको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले करीब दुई महीना अगाडि सार्वजनिक गरेको हिन्दू–कुश हिमालय मूल्यांकन : जलवायु परिवर्तन, स्थिरता र मानव शीर्षकको प्रतिवेदनले तत्काल कार्बन उत्सर्जन कटौतीकोे प्रयास नथाल्ने हो भने यो शताब्दीभित्रै हाम्रा हिमालहरू हिउँविहीन हुने खतरा रहेको उल्लेख गरेको छ । यसका संकेतहरू हिमालमा देखिन थालेका छन् ।
इसिमोडको प्रतिवेदनले पृथ्वीको औसत तापक्रम १.५० सेल्सियस मात्रै बढे पनि यही शताब्दीको अन्त्यसम्म हिमालबाट कम्तीमा एकतिहाइ हिउँ पग्लिने आंकलन गरेको छ । अझ प्रतिवेदनले त हिन्दू–कुश हिमालयमा बस्ने ३० प्रतिशतभन्दा बढी जनसंख्याले पर्याप्त खानेकुरा नपाएको र करीब ५० प्रतिशतले कुनै न कुनै किसिमको कुपोषणको सामना गरिरहेको बताएको छ ।
भौगोलिक विकटता र त्यसमाथि जलवायु परिवर्तनले गर्दा यो भूभागमा यस्तो समस्या बढेको हो । अन्य हिमाली क्षेत्रमा पनि जलवायु परिवर्तनले यस्ता र योभन्दा विकराल समस्या नल्याउला भन्न सकिन्न । त्यसैले मुस्ताङ र मनाङबासीहरू जलवायु परिवर्तनकै कारण मौसममा आएको परिवर्तनलाई कम गर्नु पर्नेमा सचेत हुन थालेका छन् ।
जनहित मावि जोमसोमका प्रधानाध्यापक रामचन्द्र अधिकारी भन्छन्, “विकसित देशका कारण समस्या आयो भन्दैमा चुप लागेर बस्नु हुँदैन । अहिले आफैले केही प्रयास गरेनौं भने भविष्य सुखद हुन सक्दैन । त्यसैले वृक्षरोपण गर्ने, नदीलाई प्रदूषित नपार्ने र जंगल जोगाउने काममा निरन्तर लाग्नुपर्छ ।”
मनाङको चामेस्थित लोकप्रिय माविकी शिक्षिका इन्द्रकुमारी श्रेष्ठ भन्छिन्, “यसपालिको हिमपात र पानीले हामीलाई सचेत हुन पनि सिकाएको छ। बीसौं वर्षदेखि पानी नपरेको बेंसी तथा खोचमा यस वर्ष हिउँसमेत पर्यो । यो राम्रो संकेत होइन ।”
शिक्षिका श्रेष्ठका अनुसार वातावरण जोगाउनका लागि विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरूलाई अहिलेदेखि नै वृक्षरोपण र वन तथा नदी संरक्षणका बारेमा सचेत बनाउनुपर्छ ।
उता मुस्ताङ ठिनीकी अगुवा महिला जमुना थकाली भन्छिन्, “मुस्ताङ आउने हरेक यातायातका साधनबाट समेत हामीले उचित कर उठाएर वातावरण जोगाउनुपर्छ । किनभने गाडीहरू पनि वातावरण प्रदूषणका कारक हुन् ।” जमुनाको विचारमा फोहोरमैला व्यवस्थापन प्रभावकारी रूपमा गर्दा पनि वातावरणमा कम असर पर्छ ।
मनाङको नासोङ गाउँपालिकाका कर्मचारी टिज घलेका अनुसार स्थानीय तह अघि नसर्ने हो भने अवस्था अझ विकराल हुन सक्छ । किनभने पृथ्वीको तापक्रम वृद्धि, जलवायु परिवर्तन र वातावरणमा हुने परिवर्तनले सबभन्दा धेरै प्रभावित पार्ने पनि हिमाली क्षेत्रलाई नै हो । त्यसैले यी विषयमा जनचेतना बढाएर अहिलेदेखि नै काम गर्न सके सम्भावित ठूला जोखिमबाट बच्न सकिन्छ ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।