कुलेखानी तेस्रो जलविद्युतको परीक्षण दुई साताभित्र, लागत दोब्बर
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण दुई साताभित्रमा सकिने भएको छ ।
आयोजनाको व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्र सम्पन्न गर्ने निर्णय भएको हो ।
१४ मेगावाटको उक्त आयोजना मकवानपुरमा निर्माण भइरहेको छ । ठेकेदार र परामर्शदाताले १५ दिनभित्र परीक्षण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोजनाको मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ । विद्युत् गृहका टर्वाइन, जेनेरेटर लगायत अधिकांश इलेक्ट्रोमेकानिकल उपकरणको जडान सम्पन्न भइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “जतिसक्दो छिटो आयोजनाबाट विद्यत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौं ।” आयोजनाको निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्राधिकरणले आयोजना ढिलो हुनुमा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी चच्याङ चिन्लुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनलाई दोष दिइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अझै निर्माणमा लापरबाही गरे कम्पनीले अन्य स्थानमा लिएको ठेक्का तोडी कालोसूचीमा राख्ने चेतावनी दिएका छन् ।
घिसिङले हुलासका प्रतिनिधि शरद गोल्छालाई टेलिफोन गरी कुलेखानी तेस्रोको निर्माण ढिला गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउने र ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएका हुन् ।
कम्पनीले विद्युतगृह तथा प्रसारण लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरूले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए । प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आइतबार नै पैसा दिने छ । कम्पनीले श्रमिकहरूलाई करीब १८ लाख रुपैयाँ दिन बाँकी छ ।
प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरूको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झण्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट असुुल्ने निर्णय प्राधिकरणले गरेको थियो । प्रसारण लाइनका तीनमध्ये दुईवटा टावरको निर्माण सकिएको छ ।
कम्पनीले बाँकी एउटा टावर निर्माण गरिरहेको छ । त्यसपछि ५ सय मिटर तार तान्नु पर्ने छ । ठेकेदार कम्पनीले यो काम एक हप्ताभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो ।
आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।