'डा. गोविन्द केसीका माग तुरुन्तै पूरा गर' (१० जना सम्पादकको संयुक्त विज्ञप्तिसहित)
नेपालका प्रमुख मिडियाहरुमा कार्यरत १० जना सम्पादकले अनशनरत डा गोविन्द केसीका मागहरुको सरकार र सरोकारवाला पक्षले चाँडोभन्दा चाँडो सुनुवाई गर्न माग गरेका छन् ।
आज, १६ मंसीर विहान डा केसीलाई भेटेर उनका मागप्रति ऐक्यवद्धता प्रकट गरेका सम्पादकहरुले डा केसीको जीवन रक्षाको माग गर्दै भविष्यमा पनि उनले आफ्नो जीवनलाई संकट पारेर आन्दोलन उठाउने परिस्थिति उत्पन्न नहोस् भन्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
डा केसीले उठाएका सार्वजनिक सरोकारका मागप्रति उनी अनशन बसेको १९ औं दिनसम्म पनि टुंगो नलाग्नुलाई विज्ञप्तिमा ‘लज्जास्पद’ भनिएको छ ।
डा. गोविन्द केसीका मागप्रति सम्पादकहरुको ऐक्यवद्धता
चिकित्सा शिक्षा र सेवामा रहेका विकृति अन्त्यका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक एवं प्राध्यापक गोविन्द केसीले १९ दिनदेखि गरिरहनु भएको अनसनप्रति हामी ऐक्यवद्धता व्यक्त गर्छौं । उहाँले राखेका मागप्रति सरकारले देखाएको उदासिनताबाट हामी उत्तिकै चिन्तित पनि छौं ।
डा. केसीले चार वर्षदेखि पटक¬पटक यस क्षेत्रका विकृति अन्त्यका लागि आमरण अनसन बस्नु परेको परेको छ । १० औं पटकसम्म मुलुकका एकजना जिम्मेवार नागरिकले सार्वजनिक सरोकारका विषयमा उठाएको मागमा टुंगो नलाग्नु भनेको आफैँमा लज्जास्पद समेत छ । प्रत्येक पटक डा. केसी अनसनमा बसेपछि वार्ता हुने, मागमा सहमति गर्ने र कार्यान्वयन नगर्ने प्रवृत्ति छ ।
हामी देहाय बमोजिमका सम्पादकहरुले सामुहिकरुपमा भेटी उहाँले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका छौं । उहाँले राखेका मागलाई सञ्चारमाध्यममा मर्न नदिने प्रतिवद्धा समेत हामीले व्यक्त गरेका छौं ।
हामी उहाँको जीवन रक्षाको माग गर्छौैं । सरकार र सरोकारवाला पक्षले उहाँका मागको चाँडोभन्दा चाँडो सुनुवाई गरुन । भविश्यमा उहाँले आफ्नो जीवनलाई संकटमा पार्ने गरी यस किसिमको आन्दोलन उठाउने परिस्थिति नबनोस् भन्ने समेत हाम्रो आग्रह छ ।
अखिलेश उपाध्याय
गुणराज लुइँटेल
प्रकाश रिमाल
प्रतीक प्रधान
नारायण वाग्ले
प्रशान्त अर्याल
सुधीर शर्मा
दिलभूषण पाठक
किरण नेपाल
सुबास घिमिरे