समाचारआइतबार, २९ बैशाख , २०७६

यार्सा टिप्न दुई महीना विद्यालय बन्द

हिमालखबर

शिक्षक र विद्यार्थी यार्सा टिप्न जाने भएपछि रुकुम पूर्वका पूर्वी क्षेत्रका विद्यालयहरु दुई महीनाका लागि बन्द हुने भएका छन् ।

यार्सा टिप्नका लागि ४ जेठबाट असार अन्तिमसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले बताए ।

पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको बुकी क्षेत्रमा यार्सा टिप्न सो गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन् । अन्य गाउँपालिकाका समेत गरेर दुइ दर्जन विद्यालय बन्द गरिएको स्थानीयले बताएका छन् ।

लामो समयसम्म विद्यालय बन्द हुँदा पनि सरोकारवालाले नदेखेजस्तो गर्दा समस्या उत्पन्न भएको स्थानीयवासी रामविक्रम बुढाको भनाइ छ । शिक्षक आफैं यार्सा टिप्न जानका लागि हातारहतारमा विद्यालय बन्द गर्ने गरेको उनको आरोप छ ।

यार्सा टिपेर स्थानीयले प्रति परिवार ५० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताइएको छ ।

प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अधिकांश स्थानीयवासी पाटन जाने गर्छन् ।

यसबारेमा जिल्ला शिक्षा तथा समन्वय इकाइमा कुनै औपचारिक जानकारी नआएको शिक्षा समन्वय इकाइ प्रमुख तिलक गौतमले बताए ।

प्रतिकृया दिनुहोस