ब्लगशनिबार, २८ बैशाख , २०७६

‘जयतु संस्कृतम्’ आन्दोलनको अन्तर्य

राणा शासकहरूले खोलेको पाठशाला राणाशासन उन्मूलन गर्ने ब्याड

भैरव रिसाल

- भोगेको, देखेको, सुनेको 

शिक्षा सुधारको माग उठाउने विद्यार्थी आन्दोलन थियो ‘जयतु संस्कृतम्’, त्यसको प्रभाव भने राणाशासनमै धक्का दिने ठूलो बन्न पुग्यो। 

२००४ सालमा भएको ‘जयतु संस्कृतम्’ झट्ट हेर्दा शिक्षा क्षेत्र सुधारको आन्दोलन थियो । तर, त्यसले २००७ सालको जहानियाँ राणाशासन विरोधी आन्दोलनको पृष्ठभूमि तयार पारेको थियो । त्यो आन्दोलन राणाहरूले नै स्थापना गरेको तीनधारा पाकशालामा बसी संस्कृत प्रधान पाठशाला, रानीपोखरीमा पढ्ने विद्यार्थीको आक्रोश थियो ।

जयतु संस्कृतम् अघि विराटनगरका कारखाना मजदूरहरूले मील बन्द गरेर आन्दोलनको एउटा स्वरूप थालेका थिए । तर, त्यो हडताल मात्र थियो । १ असार २००४ मा भने काठमाडौंको सडकमै जुलुस निस्कियो । संस्कृत प्रधान पाठशालाका विद्यार्थीले शिक्षामा आधुनिकीकरण गरी आफूहरूलाई पनि इतिहास, भूगोल जस्ता विषय पढाउनुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका थिए ।

उक्त आन्दोलनमा संस्कृत प्रधान पाठशालाका गुरुहरूको पनि समर्थन थियो । शिक्षण संस्थाभित्रको आन्दोलन र जुलुसमा ज्ञानका संवाहककै समर्थन हुनु विचित्र घटना हो । तर, मैले यसभित्रको चुरो कुरो बुझेको रहेनछु ।

म त्यसबेला संस्कृत प्रधान पाठशालामा साहित्य विषय लिएर सम्पूर्ण मध्यमा प्रथम वर्ष (नौ कक्षा) अध्ययन गर्दैैथिएँ । संस्कृतका गुरुहरूले विद्यार्थी आन्दोलनलाई साथ दिनुको कारण विभेदकारी तलब सुविधा रहेछ ।

शैक्षिक उपाधि बराबर र त्यो हासिल गर्न समान समय लागे पनि अंग्रेजीमा स्नातकोत्तर गरेका शिक्षक र संस्कृतमा आचार्य गरेका गुरुको तलब असमान थियो । त्रि–चन्द्र कलेजमा पढाउनेले मासिक रु.३०० पाउँथे भने संस्कृत प्रधान पाठशालाका गुरुले रु.६० मात्रै !

तीनधारा पाकशाला ।

यस्तो भेदभाव किन भनेर संस्कृत शिक्षा डाइरेक्टर माइला गुरुज्यू हेमराज पाण्डेलाई सोधिएछ । उनले संस्कृतका आचार्यहरूले नम्बरी दक्षिणा र प्रशस्त दान–दातव्य पाउने हुनाले कम पारिश्रमिक र अंग्रेजीमा एमए गर्नेहरूले इतिहास, भूगोल र अन्य शास्त्र पढेका कारण बढी पारिश्रमिक पाउने तर्क गरेछन् ।

खोजेको पापमोचन, भयो सत्तामोचन

राणाशासनका बेला भाइभारदारमा षड्यन्त्र र रक्तपातका घटना सामान्य झैं थिए । बन्धुहत्या, वंशहत्या आदिको पाप ब्राह्मणलाई पढायो भने नाशिन्छ भन्ने धार्मिक विश्वासले श्री ३ धीरशमशेरले प्रायश्चितस्वरूप विद्यादान र अन्नदान गर्ने सोच बनाएछन् । वि.सं. १९३९ मा तीनधारा पाकशाला स्थापना गरी ५४ जना ब्राह्मण वटुकलाई पढ्न, बस्न, खाने व्यवस्था उनले मिलाए ।

धीरशमशेरपछि १९४२ सालमा वीरशमशेर प्रधानमन्त्री भए । काका रणोद्दीप सिंह कुँवरको हत्यामा प्रमुख भूमिका भएका उनी पनि पापमोचनका लागि अघि सर्दै त्यही पाकशालामा थप ५४ जना ब्राह्मण वटुकका लागि पढ्ने र बस्ने व्यवस्था गरे ।

त्यसपछि भीमशमशेरले २७ जना, तत्कालीन राजाबाट २७ जना, साहिंली बडामहारानीबाट २१ जना, जुद्धशमशेरबाट २७ जना गरी २१० जना ब्राह्मण वटुकका लागि दान–दातव्य गरी गुठी राखेर आवासीय रूपमा संस्कृत शिक्षा अध्ययन गर्ने व्यवस्था भयो । त्यो पाकशालामा ब्राह्मणभित्र पनि पूर्वीया र कुमाइहरूको छुट्टाछुट्टै भान्छा थियो ।

बन्धुहत्याको अपराधबाट मुक्त हुने उद्देश्यबाट राणा शासकहरूले खोलेको पाकशाला राणाशासन उन्मूलन गर्ने युवा शक्ति उत्पादन हुने मलिलो ब्याड बन्दै गयो ।

शासन विरोधी गतिविधि गरेको अभियोगमा वि.सं. १९९७ सालमा चार जनालाई मृत्युदण्ड र केही प्रजातन्त्रवादी युवालाई सर्वस्वसहित कारावासको सजाय भएपछि त्यो झिल्काे २००१ सालमा तीनधारा पाकशालामा पसेर सानो आन्दोलन भएछ । सरकारले पाकशालाका आन्दोलनकारीमध्ये चार जनालाई डाँडा कटाएछ र केहीलाई आफ्नो गाउँबाट बाहिर जान नपाउने गरिको कडाइ गरेछ ।

२००४ सालमा त्यो आन्दोलन शिक्षा सुधारको मागसहित ‘जयतु संस्कृतम्’ को नाममा राजधानीको मूल सडकमा ओर्लियो । करीब ५०० जनाको जुलुस निस्किएको थियो ।

तर, राजनीतिक चेतना भएका जनता पनि त्यसबेलाको राणाशाहीको जगजगीमा सडकमा विद्यार्थीलाई साथ दिन हच्किए । बरु विभिन्न टीका–टिप्पणी भयो । कतिपयले त ‘पाखे बाहुनका छाउरालाई घ्यू–भात नपचेको’ भन्नेसम्मको टिप्पणी गरेछन् ।

पाकशालाका विद्यार्थीलाई दिनको पाँच तोला घ्यू पनि दिइन्थ्यो । आन्दोलनकारी विद्यार्थीमाथि सरकार कडा रूपमा प्रस्तुत भयो । माथिल्ला तहका विद्यार्थी नेताहरूमध्ये केहीलाई देशबाटै लखेटियो, केहीलाई चारभञ्ज्याङ कटाइयो । त्यसबेला पद्मशमशेर प्रधानमन्त्री थिए ।

विद्यार्थीलाई सिमाना कटाएका पद्मशमशेरले केही महीनामा आफैं देश छाडे । राणाशासनभित्रको षड्यन्त्रको त्रासले उनी १८ फागुन २००४ मा भारत पसेका थिए ।

तर, उनी राजीनामा नगरी श्री ३ को श्रीपेच लिएरै गएका थिए । उनले १६ वैशाख २००५ मा आफ्नो साथी डम्बरशमशेर थापा मार्फत मोहनशमशेरकहाँ राजीनामा पत्र पठाए ।

‘जयतु संस्कृतम्’ आन्दोलनपछि दमन र निष्कासनमा परेका विद्यार्थी अझ् सशक्त रूपमा राणाविरोधी आन्दोलनमा जुटे । अन्ततः २००७ सालमा राणाशासन नै ढल्यो ।

प्रतिकृया दिनुहोस