रानीतलाउ - इतिहास झल्काउने, वर्तमानमा रमाउने
– शम्भुप्रसाद थारु
नेपालगञ्ज नगरको मध्य भागमा रहेको रानीतलाउ नेपालगन्ज उपमहानगरको आन्तरिक पर्यटकका लागि मनोरञ्जनको स्थल बनेको छ ।
गर्मीको बेला तलाउको वरिपरि बगैंचामा घुम्न र नेपालगन्जको गर्मीमा शीतलताका लागि आउने पनि थुप्रै छन् । बिदाका दिनमा बालबालिका तथा युवायुवती तलाउ वरिपरिको बगैंचामा र डुंगामा चढेर रमाइरहेका हुन्छन् ।
डुंगामा चढेर रमाइरहेकी नेपालगञ्जकी मेलिना खान भन्छिन्, “रानीतलाउको नाम पहिलेदेखि नै सुनेकी थिएँ । तर, आएकी थिइनँ । बोटिङ शुरु भएदेखि आइरहेकी छु । बोटिङ गर्छु । रमाइलो लाग्छ । बच्चालाई पनि रमाइलो लाग्छ । हप्ताको ३\४ पटक बच्चालाई लिएर आउने गरेकी छु । रमाइलो हुन्छ ।”
रानीतलाउमा डुंगा चल्न थालेपछि नेपालगञ्जबासीले रानीतलाउलाई मनोरञ्जन लिने स्थलका रूपमा लिन थालेका छन् । यहाँ नेपालगञ्ज बजार र बाहिरबाट समेत दैनिक सयौं मनिस आउने गर्दछन् । रानीतलाउमा डुंगा चल्न थालेपछि पर्यटकहरू घुम्न आउन थालेका हुन् ।
रानीतलाउका वरिपरि खेल्नका लागि सुन्दर बगैंचा समेत बनाइएकाले बालबालिकाहरू खेल्न र घुम्न आउने गर्छन् । जसले रानीतलाउको सुन्दरता बढाएको छ भने बालकहरूले रमाउने र बिदाका दिन रमाइलो गर्ने ठाउँ पाएका छन् ।
नेपालगञ्जको ऐतिहासिक र चर्चित रानीतलाउ स्याहारसम्भारको अभावमा धेरै समयसम्म अलपत्र परेको थियो । तलाउलाई अहिले नेपालगञ्ज उपमहानगरपालिकाले मर्मतसम्भार र संरक्षण गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणा रानीतलाउको इतिहास नेपालगञ्जको इतिहाससँग जोडिएकाले पनि यसको संरक्षण गरिएको बताउँछन् ।
राणा भन्छन्, “मैले पहिलो कार्यकालमा यो रानीतलाउ पुनर्निर्माण गराएको थिएँ । बीचमा भत्कियो, अहिले यो बोटिङ विहार भएको छ । यहाँ एउटा रानीको मूर्ति राख्न लागेका छौं । चारैतिर मूर्ति राख्ने योजना छ ।"
अहिले नेपालगञ्जका अन्तरिक पर्यटकका लागि यो मनोरञ्जनको स्थल भएको छ । धेरै मनिस घुम्ने बोटिङ गर्ने र बच्चाहरू खेल्ने ठाउँ भएको छ।
रानीतलाउ नेपालगञ्ज बजारको बीच भागमा पर्दछ । त्यसैले पनि बजार घुम्न आएका अधिकांश मास रानीतलाउमा पुग्ने गर्दछन् । जसले गर्दा हिजोआज रानीतलाउमा पर्यटकहरूको प्रायः भीड नै देखिन्छ । रानीतलाउमा डुगा विहार शुरु भएपछि यसले आम्दानी दिन पनि थालेको छ । अहिले रानीतलाउबाट मासिक करीब डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका– ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता वैश्य भन्छन्, “शुरुका चार महीना रानीतलाउ वडा कार्यालयले सञ्चालन गर्याे । त्यो अवधिमा ५ लाख ७५ हजार अम्दानी भयो । करीब मासिक डेढ लाख रुपैयाँका दरले रकम उठ्यो ।
अहिले नेपालगञ्ज उपमहानगरपालिकाले वार्षिक १८ लाख रुपैयाँमा ठेक्कामा दिएको छ । पाँच वर्षको ठेक्का हो । यहाँबाट आउने अम्दानी नगरकोषमा जान्छ ।”
नेपालगञ्ज बजारको इतिहास र रानीतलाउनको इतिहास एकैपटक शुरु हुन्छ । सन् १९४२ मा नेपालगञ्ज बजारमा बसोबास भएपछि यो तलाउको निर्माण भएको हो ।
किंवदन्ती अनुसार त्यहाँ रहेको महादेवको मन्दिर बनाउने क्रममा ठूलो खाल्डो भयो । त्यही खाल्डोलाई तलाउ बनाइएको हो । र तलाउको नाम रानीतलाउ राखिएको हो । यसरी नै यो रानीतलाउ बनेको इतिहास स्थानीय वृद्धहरू सुनाउँछन् ।
नेपालगञ्ज–७ गगनगञ्जका वरिष्ठ साहित्यकार सनत रेग्मी भन्छन्, “सुगौली सन्धिपछि नेपालगञ्ज भारतमा मिसियो । १८६० मा अंग्रेजहरू विद्रोहीबाट पराजित भए । हारेपछि लखनऊमा नेपालबाट जंगबहादुर राणालाई सहयोगका लागि बोलाए । जंगबहादुर राणा सहयोग गर्न गए । त्यसपछि विद्रोहीलाई लखेटेर अंग्रेजहरूको जिम्मा लगाएर जंगबहादुर राणा फर्किए ।"
रेग्मी भन्छन्, "फर्किसकेपछि अंग्रेजहरू खुसी भएर बाँके बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए । त्यसपछि जंगबहादुर राणाले नेपालगञ्जलाई सदरमुकाम बनाए । आफू लखनऊ गएको बेलामा जंगबहादुरले लखनऊमा फराकिलो शहर देखेका थिए । उनलाई नेपालगञ्जमा पनि लखनऊ जस्तै शहर बसाउने इच्छा जाग्यो ।"
रेग्मीका अनुसार त्यसैबेला भारतमा रेलको विकास भइरहेको थियो । काठको आवश्यकता थियो । भारतमा काठ पठाउनका लागि सल्यानका बडाहाकिम लोकबहादुर थापाले ठेक्का लिए । त्यसपछि भारतमा काठ पनि निकासी भयो र नेपालगञ्जमा बस्ती पनि बस्यो । लोकबहादुर थापाले लोकभक्तेश्वरको मन्दिर बनाए । मन्दिर बनाउँदा ठूलो खाल्डो भयो त्यो खाल्डोलाई तलाउको रूप दिइयो । त्यो तलाउको नाम रानीतलाउ राखियो।
शहरको इतिहास बोकेको रानीतलाउ नगरकै एक उत्कृष्ट स्थल बनेको छ । यसलाई अझ सुन्दर र सुविधायुक्त बनाउन सकियो भने नेपालगन्जको आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने छ ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।