‘मोदी भारत विभाजनका नाइके’
अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागजिनले मे २० तारिखको अंकमा ‘भारत विभाजनका नाइके’ भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रस्तुत गरेको छ।
म्यागजिनले मोदीको ‘इलुस्ट्रेटेड’ आवरण तस्वीर राखेर ‘इन्डियाज् डिभाइडर इन चिफ’ शीर्षक दिएको छ ।
“के संसारकै ठूलो लोकतन्त्रले अर्को पाँच वर्ष मोदी सरकारलाई स्वीकार गर्न सक्ला ?” म्यागजिनले आफ्नो आवरण ट्वीट गर्दै भनेको छ ।
टाइमको यो आवरण आलेख आतिश तसीरले लेखेका छन् । तसीर भारतीय मूलका बेलायती लेखक÷पत्रकार हुन् । उनी भारतकी वरिष्ठ पत्रकार तवलिन सिंहका छोरा हुन् ।
मोदी आवरणको यो अंक भने मे २० मा मात्र बजारमा आउनेछ ।
भारतमा मे १९ मा अन्तिम चरणको लोकसभा निर्वाचन सकिदैंछ । मे २३ देखि भने निर्वाचनको नतिजा आउनेछ ।
पत्रिकाको छापा प्रति मे २० मा मात्रै सार्वजनिक हुने भनिए पनि तसीर लिखित आवरण लेख भने अनलाइनमा देख्न सकिन्छ।
लेखमा तसीरले आफू सन् २०१४ को लोकसभा निर्वाचनको रिपोर्टिङका क्रममा मोदीको क्षेत्र वनारस पुगेको उल्लेख गर्दै त्यहाँको धार्मिक अतिवादसँग परिचित भएको बताएका छन् ।
मोदीको ‘उदय पपुलिज्म्’बाट भएको भन्दैं तसीर जनताको सांस्कृतिक मुद्दालाई आर्थिक नीतिसँग जोडेका उनले विकास र रोजगारीको आश्वासन पूरा नगरेको बताउँछन् ।
गाइ मारेको निहुँमा सन् २०१५ यता ४६ जना मुस्लिम मारिएको तथ्यांक प्रस्तुत गर्दै तसीर मोदीले आफूसँग असहमतलाई महात्मा गान्धीकै भाषामा ‘आफ्नै देशमा परदेशी’ बनाइरहेको तर्क गर्छन् ।
“यदि अर्को पाँच वर्ष पुनः मोदीले जितेमा उनी आफ्नै असफलताहरुको सजाय विश्वलाई दिनसक्छन्”, तसीरले लेखेका छन् ।
यही आवरणमाथि इयान ब्रिमेरले ‘मोदी द रिफर्मर’ शीर्षकमा अर्को लेख पनि लेखेका छन् ।
टाइमको आवरणमा मोदीलाई ‘भारत विभाजनका नाइके’ भनिएकोमा सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया देखिएको छ ।
सन् २०१५ मा टाइम म्यागजिनले नै ‘ह्वाई मोदी म्याटसर््’, भन्दैं मोदीलाई आवरणमा राखेको थियो ।
सन् २०१६ मा टाइमले पाठकको सर्वेक्षणका आधारमा भन्दैं मोदीलाई ‘पर्सन अफ द इयर’ बनाएको थियो, जसमा मोदीपछि बराक ओबामा थिए ।