कला/साहित्यशुक्रबार, २७ बैशाख , २०७६

सम्पदा बुझाउने खेल

हिमालखबर

- प्रकृति कँडेल

बजारमा आएको एउटा नयाँ बोर्ड गेमले बालबालिकालाई मनोरञ्जन दिनुका साथै नेपाली इतिहासको केही जानकारी पनि दिन्छ।

हामीमध्ये धेरैले साँप–सिढी खेलेकै हुनुपर्छ । खेल्न सजिलो र रमाइलो हुने यो खेल विशेषगरी बालबालिकामाझ प्रिय छ ।

भारतमा तेह्रौं शताब्दीमा सन्त ज्ञानेश्वरले आविष्कार गरेको मानिने यो खेल त्यसबेला ‘मोक्षपातम्’ या ‘मोक्षपट’ भनिन्थ्यो । परम्परागत शास्त्रीय मान्यता अनुसार असल र खराब कार्यबीचको भेद सिकाउन बनाइएको यस्तै खेल दोस्रो शताब्दीमै अस्तित्वमा रहेको मान्यता पनि छ ।

पछि १९औं शताब्दीमा अंग्रेजहरूले बेलायत पुर्‍याएको यो खेलमा मिल्टन ब्रेडले केही परिमार्जन गरी स्नेक एण्ड ल्याडर बनाए । त्यसकै अनुवाद हो साँप–सिढी ।

अहिले काठमाडौंस्थित काजी स्टूडियोज्ले साँप–सिढी र यो जस्तै अर्को खेल लुडो बाट प्रभावित नेपालीपन सहितको नयाँ खेल साम्राज्य बनाएको छ। पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्दाको कीर्तिपुर, काठमाडौं, पाटन र भक्तपुरको यात्रालाई पछ्याउने यो खेलले यहाँको संस्कृति र सम्पदाबारे जानकारी दिन्छ ।

बोर्डका १०० वटा वर्गाकार कोठाको यात्रामा रोमाञ्चक मोड र घुम्तीहरू आउँछन् । खेलाडीहरू कहिले गुफामा फस्न पुग्छन् त कहिले घोडा र रथको सवारी गर्ने अवसर पाउँछन् ।

बाघभैरव र बिस्केट जस्ता जात्राको अवसर पर्‍यो भने एउटा पालो छोड्नुपर्छ । काठमाडौं उपत्यकाका चर्चित स्थानमध्येका हनुमानढोका जेल, वैद्यखाना, बगलामुखी, औषधि पसल र भट्टी खेलका पाँच मुख्य बिसौनी हुन् ।

अधिकांश समय मोबाइलमा विताइरहेका बालबालिकाका लागि साम्राज्य ले परिवारसँगै बसेर मनोरञ्जन गर्ने र साथीहरूसँग हाँसो–ठट्टा गर्ने अवसर दिन्छ। मनिष श्रेष्ठसँग मिलेर काजी स्टूडियो स्थापना गरेकी कृति शाक्य भन्छिन्, “हामी आफैं पनि यस्ता खेलका पारखी हौं, त्यसैले एकअर्काको सम्मुख बसेर गरिने अन्तरक्रियालाई बढावा दिने सामाजिक खेल साम्राज्य को विकास गर्‍यौंं ।”

मन्दिर, भूत, सुन्दर डिजाइनका रथको चित्रले यो खेललाई अझै रमाइलो बनाएको छ । यो परियोजनाको मुख्य तत्व नै यसको डिजाइन हो । शाक्य भन्छिन्, “हाम्रा सम्पदा, संस्कृति र परम्परामा थुप्रै डिजाइन छन् । त्यसैले हामीले विश्वस्तरीय डिजाइन र उच्च गुणस्तरको उत्पादनलाई छनोट गरेका छौं ।”

काजी स्टूडियोले साम्राज्य र अर्को नयाँ बोर्ड गेम जात्रा को निर्माणमा सात महीना समय लगाएको थियो, जसमध्ये अधिकांश समय डिजाइनमै लागेको थियो । “हामी हाम्रो संस्कृति जोडिएको केही मौलिक कुरा खेलमा पस्किन चाहन्थ्यौं जसमा आधुनिकता पनि होस्”, शाक्य भन्छिन् ।

नयाँ खेल जात्रा भने बालबालिका लक्षित छ । गाईजात्राको लोककथामा आधारित यो खेलमा उदास रानीलाई खुशी पार्न खेलाडीले थुतेका विभिन्न कार्डमा उल्लेख भए अनुसारका गतिविधि गर्नुपर्छ ।

कार्डमा उल्लेख भएको विषयमा कथा बनाउनेदेखि बोर्डमा रहेका विभिन्न वस्तुहरू खोज्नुपर्ने हुन्छ । बोर्डमा मानिसदेखि जनावरसम्मका विभिन्न चरित्रहरू छन् ।

“बालबालिका यस्ता रमाइला खेलमा सहभागी भएर कथाहरू बनाउँदा उनीहरूमा सिर्जनशीलताको विकास हुन्छ”, मनिष श्रेष्ठ भन्छन् ।
श्रेष्ठ विदेशमा बस्ने नेपालीहरूले पनि साम्राज्य मगाइरहेको बताउँछन् ।

“विदेशमा हुर्केका बालबालिकालाई नेपालसँग जोड्न यसले मद्दत पुर्‍याउँदो रहेछ” श्रेष्ठ भन्छन्, “केटाकेटीहरू पुराना शहर, जुजु धौ (भक्तपुरमा बनाइने दही) र अन्य सांस्कृतिक कुराबारे चासो देखाउन थाल्दा रहेछन् ।” 

 

प्रतिकृया दिनुहोस