रिपोर्टबिहिवार, मंसिर १६, २०७३

किन चुक्छ मिडिया ?

सन्त गाहा मगर

पत्रकारिताको आधारभूत सिद्धान्त पालना गर्न नसक्दा नेपाली पत्रकारितामा लज्जित हुनुपर्ने गरिका बग्रेल्ती घटना भएका छन्।

१६ जेठ २०६० को हिमाल मा 'एक आन्दोलनकारीको व्यथा' शीर्षकको समाचारमा एउटा वाक्य परेको छ– उपचारको लागि काठमाडौंको घर बेच्न बाध्य उन (तारा खड्का) ले एक भारतीयलाई रु.३० हजारमा आफ्नो छोरो समेत बेचिदिएका थिए।

समाचारमा खड्काले छोरो बेचेको सगर्व स्वीकारेका छन्। जनआन्दोलनको घाइते भएकै करणले उनले २०५१ सालमा जागीर र रु.५० लाख आर्थिक सहयोग पाएका रहेछन्।

मानव बेचबिखन तथा ओसारपसार ऐनमा भने खड्काले भने जस्तो अपराध गर्नेलाई २० वर्ष कैद सजाय र रु.२ लाख जरिवानाको प्रावधान छ। 

कानूनतः कारागारमा हुनुपर्ने व्यक्तिलाई दयाको पात्रको रूपमा चित्रित गरिएको एउटा उदाहरण हो, यो समाचार। खड्काको विषयमा जितेन्द्र जीसीले १३ वर्ष पहिले हिमाल मा लेखेको यो व्यहोराको समाचार विभिन्न सञ्चारमाध्यममा आजपर्यन्त आइरहेका छन्।

पछिल्लोपटक गएको १० असोजमा नयाँपत्रिका दैनिकले खड्काको त्यही कथा दोहोर्‍याएर छापेको छ, समाचारको विशेषपात्रको रूपमा। ३० पुस २०७१ मा कान्तिपुर दैनिक, १४ पुस २०७१ मा उज्यालो अनलाइन र ८ असार २०७० मा हाम्राकुरा डटकमले खड्कालाई त्यही रूपमा प्रस्तुत गरेका थिए।

त्यसअघि बुटवलटुडे डटकमडटएनपी, बर्दिया अनलाइन लगायतका विभिन्न स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरूले खड्काको समाचार प्राथमिकताका साथ प्रकाशन गरेका थिए।

खड्का पनि 'मैले छोरो बेचेको हुँ' भन्ने साविती बयान भएको तिनै पत्रिकाको कटिङ बोकेर हिंडिरहेका छन्। उपचारकै निहुँमा किन नहोस्, छोरो बेच्नु अपराध हो भन्ने खुट्याउन सकेका छैनन्, पत्रकारहरूले पनि। यति गम्भीर विषयमा एकजना होइन, दुई जना होइन, दर्जनौं सञ्चारकर्मी र सञ्चारमाध्यम दशकौंबाट किन चुकिरहेका छन् त? यसको एउटै र सरल जवाफ छैन।

घटनाहरू केलाउँदा तथ्यको दोहोरो 'चेक' नगर्ने, बहकिने, नियोजित रूपमै स्थान दिने, सीमित साधनस्रोत, व्यावसायिकताको अभाव जस्ता कारणले पत्रकारिता चुकिरहेको देखिन्छ।

“आँशु देखेपछि हामी भावुक भइहाल्दा रहेछौं”, पत्रकार मोहन मैनाली भन्छन्, “पत्रकार पनि मान्छे नै हो भावुक नै बन्न पाइँदैन भन्ने होइन तर त्यो भावुकताले तथ्यलाई प्रभावित गर्दा यस्ता घटना दोहोरिरहेका छन्।” (हे. बक्स सबैभन्दा तल)

बहकिएको पत्रकारिता: हिमाल खबरपत्रिका, कान्तिपुर, द काठमाण्डूपोष्टका समाचार (बायाँबाट क्रमश:)

कसैले भनेकैमा पत्याइहाल्ने, भावुक बन्ने, तथ्य नजाँच्ने, पर्याप्त अनुसन्धान नगर्ने, सेकेण्ड अपिनियन नदिने, दोहोरो स्रोत प्रयोग नगर्ने जस्ता कमजोरीले समाचार सामग्रीलाई झूटा बनाउने गर्छ। पत्रकार मैनाली पत्रकारहरूले आफ्नो बानी र काम गर्ने तरीका फेर्नैपर्ने बताउँछन्। 

पछिल्लो पटक चर्चामा रहेको कान्तिपुर टेलिभिजनको 'सुमनसँग' कार्यक्रममा प्रसारित कञ्चन शर्मा रेग्मीको अन्तर्वार्तामा पनि 'आँशु देखेपछि भावुक भइहाल्ने' प्रवृत्तिले काम गरेको देखिन्छ।

प्रसारण पत्रकारितामा लामो अनुभव सँगालेका सुमन खरेलको २ मंसीरको कार्यक्रममा अन्तर्वार्ता प्रसारण भएपछि कञ्चनको भनाइ गलत भएको सार्वजनिक भयो। कञ्चनले पीडक भनेकी 'श्रीमान्' ले आफू पीडित भएको भन्दै अन्तर्वार्ता दिएका छन्।

४ मंसीरमा स्वयम् 'सुमनसँग' को फेसबूक पेजमा भनिएको छ, '...कञ्चन शर्मा रेग्मीको अन्तर्वार्तापछि हामी आगामी कार्यक्रममा उहाँको परिवारका सदस्यहरूको कुरा सुन्न प्रयत्नरत छौं। मानिस हो, मानिसबाट जीवनमा गल्तीहरू हुन्छन् नै। यहाँ पनि कुनै गल्ती भएको भए, त्यो सच्चियोस् भन्ने हाम्रो चाहना हो। हामी आधुनिक युगको एउटा सभ्य समाजमा बस्छौं। सभ्यता प्रदर्शन गर्दै कृपया परिवारका सदस्यहरूलाई कहीं कतैबाट पनि गाली, अपशब्द र अपमान नगरिदिनुहुन दुईहात जोडी विनम्र अनुरोध गर्न चाहन्छौं।'

खरेलले ९ मंसीरमा प्रसारित 'सुमनसँग' मा कञ्चनको परिवारका कसैलाई उपस्थित त गराएनन् तर आफ्नो अन्तर्वार्ताका कारण पर्न गएको क्षतिका लागि सम्बन्धित परिवारजनसँग माफी मागे।

कञ्चनका पूर्वपति मोहन रेग्मीको लामो अन्तर्वार्ता अरू सञ्चारमाध्यममा आइसकेकाले आफूले नदोहोर्‍याएको खरेल बताउँछन्। हिमाल सँग उनले भने, “यसमा जे भयो भयो, यो विषयलाई थप चर्काउन चाहन्न।”

नागरिक दैनिकको समाचार

फसाउने समाचार
तारा खड्का र कञ्चन शर्मा रेग्मीलाई आफूले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिको असर के हुनसक्छ, भन्ने पूर्वानुमान थियो कि थिएन? यकिन गर्न गाह्रो छ। तर, कतिपय यस्ता पात्र छन्, जसले नियोजित रूपमै नेपाली पत्रकारितालाई प्रयोग गरे, गरिरहेका छन्।

गएको २७ कात्तिकमा सगरमाथा टेलिभिजनको टक शो 'एसटीभी च्याट' मा प्रस्तोता जीवराम भण्डारीले कल्पित पराजुलीलाई त्रिभुवन विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयबाट रिसोर्स डिप्लोमेसीमा विद्यावारिधि गरेका विश्लेषक भनेर परिचय गराए।

प्रत्यक्ष प्रसारण सकिएपछि आफूलाई झुक्याएको थाहा पाएका भण्डारीले फोन गर्दा पराजुलीले 'रिसिभ' गरेनन्। एक वर्ष पहिले सामान्य चिनजान भएका पराजुलीले बारम्बार अन्तर्वार्ताका लागि आग्रह गर्दै आएकाले अमेरिकी चुनावको सन्दर्भ पारेर अन्तर्वार्ता लिएको भण्डारी बताउँछन्।

“यतिसम्म ढाँट्ने मान्छे पनि हुँदोरहेछ”, उनी भन्छन्, “त्यो झूटले उनलाई कति फाइदा पुग्यो थाहा छैन, तर मलाई बर्बाद पार्‍यो।”

यसअघि मीनासिंह खड्का हार्वर्डसहित दुईवटा विश्वविद्यालयबाट विद्यावारिधि गरेको, अमेरिकाकी प्रथम महिला मिसेल ओबामाले फोन गर्ने गरेको आदि भन्दै संचारमाध्यममा छाएकी थिइन्।

कान्तिपुर टेलिभिजनको 'टफ टक' मा ४७ मिनेटको अन्तर्वार्ता प्रसारण भएपछि उनको झुटको पुलिन्दा खुल्दै गयो। नेपाल साप्ताहिकमा लामो प्रोफाइल छापिएको खड्कालाई नागरिक दैनिकले पनि राम्रै स्थान दिएको थियो।

त्यसअघि ६ वैशाख २०६८ मा कान्तिपुर दैनिकमा 'धन्य अनुजा! जसले भेट्टाएको ९१ लाख फिर्ता गरिन्' भन्ने समाचार प्रकाशित भएको थियो। २ कात्तिक २०६० मा कान्तिपुर मै 'पाँच डलरबाट खर्बपति भए' शीर्षकमा रसेन्द्र भट्टराईको समाचार छापिएको थियो।

ती दुवै समाचार झूटको पुलिन्दा मात्र भएको प्रमाणित हुन धेरै समय लागेको थिएन। नागरिक दैनिकमा काठमाडौंस्थित आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठको विषयमा प्रकाशित 'दिलशोभालाई यौन दुराचार आरोप' सम्बन्धी समाचार पनि आधारहीन ठहरियो। पछि नागरिक ले माफी माग्दै लेख्यो, 'यौन दुराचार पुष्टि भएन।'

पराजुली, खड्का, अनुजा बानियाँ र भट्टराईले सोची–सम्झी मिडियालाई 'प्रोपोगाण्डा टुल' को रूपमा प्रयोग गरेको स्पष्ट छ। उनीहरूले त्यसका लागि कसलाई के भन्नुपर्छ भन्ने पत्ता लगाएको देखिन्छ।

यी घटनाले धर्धरी आँशु बगाउँदै वा रोबरवाफका साथ सञ्चारकर्मीको सम्पर्कमा आउने सबै पीडित वा प्रतिभा हुँदैनन् भन्ने पाठ सिकाएको छ।

बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान भावनात्मक बन्दा, एउटै स्रोतमा विश्वस्त हुँदा र सनसनीपूर्ण स्कूपको लोभमा पर्दा पत्रकारहरू फँस्ने गरेको बताउँछन्।  स्रोतले योजना बनाएरै बेवकूफ बनाउन सक्नेमा सतर्क हुनुपर्ने प्रधान बताउँछन्।

नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँलेले आफ्नो फेसबूक स्टाटसमा लेखेका छन्– 'तपाईंलाई खोज्दै आउने धेरैजसो सूचनाहरू विज्ञापन हुन्, समाचार खोज्न त आफैं निस्कनुपर्छ।'

कतिपय सन्दर्भमा सञ्चारमाध्यमहरू जानीजानी चुकेका घटनाहरू पनि छन्। त्यसैमध्येको एक हो– युनिटी ठगी प्रकरण। १–१५ वैशाख २०६७ को हिमाल ले युनिटी नेटवर्कको ठगीबारे खोजमूलक सामग्री प्रकाशन गरेपछि अंग्रेजी दैनिक रिपब्लिका र नागरिक बाहेक प्रायः छापा, टेलिभिजन र रेडियोहरूले युनिटीको पक्षमा धाराप्रवाह समाचार प्रकाशन/प्रसारण गरे, केही मौन बसे।

सगरमाथा टेलिभिजनले त युनिटीका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीको 'अब पनि युनिटीको विपक्षमा समाचार आए साढे ६ लाख मान्छेले सडकमा रगतको खोलो बगाउँछन्' भन्ने भनाइ प्रसारण गर्‍यो, त्यो पनि पटक–पटक।

सरकार नियन्त्रित नेपाल टेलिभिजनको 'रोजगार' नामक कार्यक्रमले पनि 'युनिटीविरुद्ध लेख्नेको खुट्टा भाँच्न आफूले ८० हजार जनालाई निर्देशन दिएको' भन्ने क्षेत्रीकै भनाइलाई प्रसारण गरिरह्यो, पटक–पटक।

हिमाल मा प्रकाशित रिपोर्टको तथ्यसहित खण्डन गर्न नसकेका युनिटी संचालकहरूले यस्ता आपत्तिजनक अभिव्यक्तिसँगै एकाध बाहेक सबै पत्रपत्रिकालाई 'राष्ट्र निर्माणमा युनिटी लाइफ' शीर्षकमा पूरा पेज विज्ञापन उपलब्ध गराए।

कारण जेसुकै भए पनि युनिटी प्रकरणमा अधिकांश सञ्चारमाध्यम चुकेका थिए। युनिटी प्रकरण ठगी काण्ड नै हो भन्ने अदालतबाट प्रमाणित भइसक्दा पनि त्यसमा कसैले भूलसुधारसम्म गरेनन्, जुन अन्तर्राष्ट्रिय प्रचलन पनि हो।

न्यूयोर्क टाइम्स ले भूलसुधारका लागि 'करेक्सन्स्' भन्ने स्तम्भ नै राखेको छ। दुईदशकबाट विभिन्न जर्नल सम्पादन गर्दै आएका इतिहासकार प्रत्यूष वन्तको विचारमा, नेपाली सञ्चार क्षेत्रमा भूलसुधार गर्ने चलन ज्यादै कम छ।

प्रिन्ट संस्करणमा गल्ती हुँदा अनलाइनमा सच्याउने र अनलाइनकै सामग्री सच्याइएको भए त्यो उल्लेख नगर्ने गरेको वन्त बताउँछन्। उनी भन्छन्, “तर, विश्वका चर्चित सञ्चारमाध्यमहरू गल्ती हुँदा भूल सुधार गर्न गाह्रो मान्दैनन्।”

आमसञ्चार र पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मी अरू विधा जस्तै पत्रकारिता पनि 'पर्फेक्ट' नहुने र गल्ती भइसकेपछि त्यसलाई नदोहोर्‍याउने प्रण गर्नुपर्ने बताउँछन्। उनका अनुसार, संवाददातामै 'म नै गेटकिपर हुँ' भन्ने धारणा हुनुपर्छ। क

तिपय सन्दर्भमा भने सानोतिनो गल्तीमा पनि सम्बन्धित सञ्चारमाध्यम र सञ्चारकर्मीको बढी नै आलोचना हुने गरेको रेग्मी बताउँछन्। हुन पनि, पछिल्ला दिनमा सामाजिक सञ्जाल र निजी ब्लगमा प्रकाशित सामग्रीका लागि समेत सिंगो आमसञ्चारजगतलाई आलोचनाको तारो बनाएको देखिन्छ।

यसरी एउटा गलत समाचारले सम्बन्धित व्यक्ति वा संस्थाको मात्रै होइन, पत्रकारिता विधाकै आस्था घटेकोमा सन्देह छैन। कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा एउटा सञ्चारमाध्यममा गलत सामग्री प्रकाशन हुँदा सिंगो पत्रकारिताप्रतिको विश्वास घट्ने गरेको बताउँछन्।

कतिपय घटनामा स्थानीय संवाददातामाथि निर्भर हुँदा गल्ती भएको उनको अनुभव छ। उनी भन्छन्, “पर्याप्त खोजअनुसन्धान र सम्पादनको क्रममा क्रस भेरिफिकेसन नहुँदा पनि चिप्लिएका उदाहरण प्रशस्तै छन्।”
------------------------------------------------------------------------------------------------------------------------

'पत्रकारिताको आधारभूत कुरा सम्झे पुग्छ' 
मोहन मैनाली, पत्रकार
हामी अरुले जे भन्यो त्यही पत्याउँछौं। तथ्य चेक गर्ने चलन छैन। हामी सोझा भयौं। सोझा भन्दा पनि अकडा भयौं। अर्को कुरा हामीले आफू वरिपरिका पात्रलाई मात्रै देख्यौं। उपयोगी विषयभन्दा खसखस मेटाउने कुरामा बढी ध्यान दिएका हौं कि जस्तो लाग्छ।

पत्रकारले तथ्यमा भन्दा भावनामा बढी विश्वास गरेको देखियो। एक हिसाबले यो भक्तिमार्ग हो। भक्तिमार्गलाई बीबीसी ले अमेरिकी चुनावको सन्दर्भमा 'पोष्ट ट्रूथ' भनेको छ।

पत्रकारले सिर्जनशील हुने भनेको प्रस्तुतिमा हो, तथ्य संकलनमा होइन। अनुसन्धान, सम्पादन र प्रस्तुति पनि आफैंले गर्दा यस्तो समस्या देखिने गरेको छ।

एउटाले गरेको पात्र चयन वा सूचना संकलनलाई भावनात्मक रुपमा त्यो सामग्रीसँग नजोडिएको अर्कोले एक पटक हेर्नैपर्छ। सम्बन्धित पात्रको आँशु नदेखेको सम्पादकले एकपटक हेरे गल्ती हुने थिएन। भावनामा बगेपछि त सेकेण्ड अपिनियन (दोस्रो व्यक्तिको धारणा) आउनै पाएन।

संसारभर के मान्यता छ भने कसैको 'फ्रेस राइट–अप' लाई अर्को जोडी आँखाले एक पटक हेर्नैपर्छ। किनभने, शुरुदेखि नै लागेको व्यक्ति त्यसमा भावनात्मक रुपले नै जोडिएको हुन्छ।

फेरि, हामीलाई त गल्ती गरिसकेपछि क्षमा माग्न पनि गाह्रो लाग्छ, गल्ती भयो भन्दा सानो भइन्छ जस्तो गर्छौ। पुस्तक लेख्दा जस्तो पर्याप्त समय लगाएर अनुसन्धान गर्ने पनि होइन, पत्रकारितामा।

खुल्ला दिलले गल्ती भयो है भन्दा पाठकले विश्वास गर्छन्। कमसे कम यसले गल्ती गरेपछि स्वीकार्छ भन्ने हुन्छ। तर हाम्रोमा अलि फरक छ। मैले 'तपाईंहरूको गल्ती भएछ है' भनेर इमेलमार्फत जानकारी गराउँदा रेस्पोन्स नगरेका उदाहरण थुप्रै छन्।

रिपोर्टिङको पृष्ठभूमिबाट आएका सम्पादक सम्भावित गल्तीप्रति बढी सचेत हुन्छन्। रिपोर्टरलाई कहाँकहाँबाट झुक्याउन सक्छन् भन्नेमा उसको अनुभवले काम गर्छ।

कोही संवाददाता र सम्पादकको काम एउटैले गर्न सक्छ पनि भन्छन्, तर त्यसो हुँदैन। किनभने, संवाददाता भावनात्मक रुपमा समाचारका पात्रसँग जोडिएको हुन्छ। त्यसरी नजोडिने सम्पादकको हेराइ बढी वस्तुपरक हुन्छ।

सजिलो तरीकाले भन्ने हो भने, पत्रकारिताको आधारभूत कुरालाई पालना गरे पुग्छ। प्रारम्भिक विषयमै ध्यान नपुग्दा गल्ती भएका छन्, विद्यावारिधि गरेकाले हिज्जे बिर्सिए जस्तै।

प्रतिकृया दिनुहोस