बिद्यार्थीलाई जिज्ञासु बनाउन जोड
शिक्षा मन्त्रालयका सचिव खगराज बरालले प्रारम्भिक बाल विकास गुणस्तरिय भए मात्र शिक्षामा गरिएको लगानी फलदायी हुने बताएका छन् ।
२३ बैशाखमा ललितपुरको पाटनढोकास्थित रातो बंगला स्कुलमा आयोजित एक कार्यक्रममा बरालले प्रारम्भिक बाल विकासको लागि अभिभावक र बिद्यालयको भूमिकामा जोड दिए ।
रातो बंगला फाउण्डेसन र रातो बंगला स्कुलले संयुक्त रुपमा ललितपुरका सामुदायिक विद्यालयका ४२ शिक्षकलाई दिएको प्रारम्भिक बाल बिकास तालिमको समापनको अवसरमा आयोजित कार्यक्रमका अर्का वक्ता शिक्षा तथा मानव स्रोत विभागका महानिर्देशक बाबुराम पौडेलले बालबालिकालाई जिज्ञासु बनाउनु शिक्षकको पहिलो कर्तव्य रहेको बताए ।
“विद्यार्थी जिज्ञासु भयो भने जवाफ आफैं खोज्न प्रयत्नशील हुन्छ, सिकाईमा धेरै कष्ट हुँदैन्”, पौडेलले भने ।
कार्यक्रममा रातो बंगला स्कुलकी निर्देशक शान्ता दीक्षितले दुई वर्षको हुँदासम्ममा बालबालिकाको प्रायः मस्तिष्क विकास भइसकेको हुने अनुसन्धानबाट पुष्टि भएको बताँउदै बालबालिकाको प्रारम्भिक कालको सिकाई नै जीवनको जग भएकोले त्यसप्रति बढी ध्यान दिनुपर्ने बताइन् ।
फाउण्डेसन र स्कुलले डेढ दशकदेखि बाल शिक्षाको गुुणस्तर सुधारमा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासँग सहकार्य गरिरहेको स्कुलले जनाएको छ ।