थप समाचारसोमबार, २३ बैशाख , २०७६

अमेरिकाले इरानमा विमान वाहक जहाज र बमवर्षक टोली पठाउँदै

रासस

अमेरिकाले मध्यपूर्व मुलुक इरानमा विमान वाहक जहाज र बमवर्षक टोली पठाउन लागेको जनाएको छ ।

तस्वीरः न्युज डट कम डट एयू

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले विज्ञप्ति मार्फत इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताएका छन् ।

बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिंकन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमवर्षक टास्क फोर्स पठाउन लागिएको जनाएका छन् ।

उनले इरानका कारण अमेरिकी सेना, अमेरिकी गठबन्धन र अमेरिकी हित प्रतिकूल गतिविधि हुने स्पष्ट संकेत देखिएको दाबी पनि गरेका छन् ।

यस नयाँ व्यवस्थापछि अमेरिकी सुरक्षाफौज अमेरिकी हित विपरीतका कुनै गतिविधि भएमा त्यसलाई नियन्त्रणमा ल्याउन जुनसुकै कारबाही गर्नसक्ने क्षमता विकास हुने बोल्टनको भनाइ छ ।

बोल्टनले भनेका छन्, “संयुक्तराज्य अमेरिका इरानी सत्तासँग युद्ध गर्न चाहँदैन, तर कुनै आक्रमण भए त्यसविरुद्ध लड्न पूर्णरुपमा तयार छ । यस्तो युद्ध छद्मभेषी, इस्लामिक क्रान्तिकारी गार्ड वा नियमित इरानी फौज नै किन नहोस् ।”

विज्ञप्तिमा अहिल्यै नयाँ फौज किन परिचालन गर्नुपरेको हो भन्ने केही खुलाइएको छैन ।

अमेरिकाले इरानसँग यसअघि सन् २०१५ मा भएको बहुपक्षीय सम्झौता तोडेर इरानमाथि प्रतिबन्ध घोषणा गरेपछि दुवै मुलुकबीच तनाव सिर्जना भएको छ । –एएफपी

प्रतिकृया दिनुहोस