चेल्सी प्रिमियर लिगको शीर्ष चारमा, आर्सनललाई धक्का
प्रिमियर लिगको शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने इङल्याण्डका प्रतिष्ठित चार क्लबबीचको तीब्र प्रतिस्पर्धामा अन्ततः चेल्सीले बाजी मारेको छ ।
आइतबार साँझ सम्पन्न खेलमा वाटफोर्डमाथि ३–० को जित निकालेसँगै एक खेल बाँकी छँदै चेल्सीको शीर्ष चारको स्थान सुरक्षित बनेको हो ।
उपाधिका लागि म्यानचेस्टर सिटी र लिभरपुलको तीब्र प्रतिस्पर्धा जारी छ । यस्तै कडा प्रतिस्पर्धा शीर्ष चारमा रहन चेल्सी, मानचेस्टर युनाइटेड, आर्सनल र टोटनहमबीच पनि देखिएको थियो ।
आइतबार राति सम्पन्न खेलमा आर्सनलले इमिरेट्स स्टेडियममा ब्राइटनसँग १–१ को बराबरी खेलेपछि एक खेल बाँकी छँदै चेल्सीले युरोपेली च्याम्पियन्स लिगको टिकट पक्का गरेको हो ।
३७ खेलको समाप्तिमा चेल्सीको ७१ अंक, टोटनहमको ७०, आर्सनलको ६७ र युनाइटेडको ६६ अंक छ । युनाइटेडले पनि हडल्सफिल्ड टाउनसँग एक एक गोलको बराबरी खेल्यो ।
चेल्सीले लेस्टर सिटीसँगको अन्तिम खेलमा जित हात पारे शीर्ष ३ मा रहनेछ ।
आर्सनलले अन्तिम खेलमा बर्नली र टोटनहमले एभर्टनको सामना गर्नेछन् । आर्सनल शीर्ष चारमा रहन कम्तीमा पाँच गोलको अन्तरले जित हात पार्नुपर्नेछ ।
तर, उसका लागि त्यो नै पर्याप्त हुने छैन । त्यसका लागि टोटनहमले चार गोलको अन्तरले हार व्यहोर्नुपर्नेछ ।
यो सम्भावना लगभग अन्त्य भएकाले उसका लागि अब युरोपा लिग जित्नु नै च्याम्पियन्स लिगमा छनोट हुने एकमात्र आधार हुनेछ । आर्सनल युरोपा लिगको सेमिफाइनलमा भने कायमै छ ।
सिटी र लिभरपुलको टक्कर
उपाधिका लागि म्यानचेस्टर सिटी र लिभरपुलबीच अन्तिम खेलसम्म पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
३७ खेलको समाप्तिमा लिभरपुलले ९४ अंक जोडेको छ भने एक खेल कम खेलेको सिटीको ९२ अंक छ ।
लिभरपुलले उपाधि जित्न बाँकी खेल जितेर मात्र पुग्ने छैन, सिटीले एउटा खेल गुमाउनुपर्नेछ या कम्तीमा बराबरीमा रोकिनुपर्ने छ ।