बुटवललगायत स्थानमा आज पनि बिहानै देखि प्रदर्शन, यातायात र बजार बन्द
पाँच नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन विधेयकविरुद्ध बुटवल लगायत रुपन्देहीका विभिन्न ठाउँमा आज पनि बिहानैदेखि प्रदर्शन शुरु भएको छ ।
बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन प्रभावीत भएको छ ।
अनिश्चितकालीन रुपन्देही बन्दको आव्हान गरेको अनेरास्ववियु लगायतका विद्यार्थी संगठन तथा नेपाली कांग्रेस निकट युवाहरुको समूह
‘अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनी’ लगायतको अगुवाइमा बिहानैदेखि प्रदर्शन शुरु भएको हो ।
बुटवलको राजमार्ग चौराह, मिलनचौक बसपार्क, पुष्पलाल पार्क लगायतका क्षेत्रमा विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्वसाधारण सडकमा उत्रिएका छन् ।
केन्द्रमा सिमांकन संशोधनमा सहमत देखिएका सबै सत्तारुढ दलका कार्यकर्तासमेत विरोधमा उत्रिएका छन् ।
बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् ।
बन्दकर्ताले अवरोध गरेपछि भित्री सडकमा समेत सवारीचलेका छैनन् । बजार, पसल, औद्योगिक प्रतिष्ठान, शिक्षणसँस्था सबै बन्द छन् ।
सडकमा नाराजुलुस सहित टायर बालिएका छन् ।
बन्दमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ लगायतका उद्योगी तथा व्यापारीका संघ–संस्थाहरु पनि आन्दोलनमा जुटेका छन् ।
पहाडी जिल्ला पाल्पा अर्घाखाँची गुल्मी रोल्पा प्युठान छुट्याउने प्रस्ताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीहरुले चेतावनी दिएका छन् ।
दीपक ज्ञवाली, बुटवल