अन्तर्वार्ता/विचारशनिबार, २१ बैशाख , २०७६

लेउ, ढुसी र झ्याउ

कमल मादेन

आम चासो र प्राज्ञिक कर्ममा समेत बेवास्तामा परेका यी वनस्पतिका विशेषता बारे जति चाँडै थाहा पाउन सकियो, उति राम्रो।

पानीभित्र वा ओसिलो ठाउँमा पाइने अति सूक्ष्मदेखि प्रत्यक्ष आँखाले देख्न सकिने हरितकण भएका; जरा, काण्ड, पात नछुट्टिने वनस्पति हो, लेउ । आफ्नो भोजन आफैं बनाउने लेउका संसारमा करीब ७० हजार जति प्रजाति छन् ।

कमल मादेन

नेपालमा लेउ अध्ययन अनुसन्धानमा खासै काम भएको छैन । विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका प्रा.डा.शिवकुमार राई विगत डेढ दशकयता लेउ अनुसन्धानमा छन् । यसका लागि उनले क्याम्पसमा प्रयोगशाला समेत स्थापना गरेका छन् ।

लेउ जस्तै अर्को वनस्पति हो ढुसी; जुन ओसिलो वा फोहोर ठाउँमा उम्रिन्छ । यो वनस्पतिमा हरितकण भने हुँदैन । हरितकण नभएकै कारण सूर्यको प्रकाशको उपस्थितिमा पानी र कार्बनडाइअक्साइड संयोजन गरेर भोजन बनाउन सक्दैन, त्यसैले परजीवी हुन्छ । संसारभर ढुसीका करीब ७५ हजार प्रजाति पहिचान भइसकेको छ ।

लेउ जस्तै हामीकहाँ ढुसीको पनि अध्ययन, अनुसन्धान खासै हुनसकेको छैन । बरु ढुसी अन्तर्गत नै पर्ने च्याउको अध्ययनका लागि भने डा.महेशकुमार अधिकारी लागिपरेका छन् । नेपालमा पाइने च्याउ बारे उनी ‘इन्साइक्लोपिडिया’ नै हुन् भने फरक पर्दैन ।

‘प्रकृतिको लीला’ नै भनौं, लेउ र ढुसीका केही प्रजाति आपसमा सहजीवी (सिम्बायोटिक) सम्बन्धमा हुन्छन् । त्यस्तो सम्बन्धबाट नयाँ आकृतिको वनस्पति बन्दछ, जसलाई झ्याउ भनिन्छ ।

झ्याउ ढुंगा तथा रूखका बोक्रा, हाँगामा उम्रन्छ । बाहिरबाट हेर्दा झ्याउमा कुन लेउ र कुन ढुसी छुट्टिन्न । ढुसीले जेलिएको लेउ झ्याउको मध्यभागमा हुन्छ ।

लेउले हावाबाट चिसोपना र कार्बनडाइअक्साइड लिएर भोजन बनाउँछ । त्यो भोजन ढुसीले पनि उपभोग गर्छ । ढुसीले लेउलाई बस्ने ठाउँ दिन्छ र तातोबाट जोगाउँछ ।

मध्यपहाड तथा उच्च हिमाली भेगका ढुंगा तथा रूखका बोक्रामा टाँसिएका सेतो र कालो रङका आकृतिहरू पनि झ्याउ नै हुन् । कुनैको आकृति त्यान्द्रा वा झुस जस्तो हुन्छ । तिनीहरू झाडीदार वनस्पतिको हाँगा वा रूखका बोक्रामा झुन्डिएका हुन्छन् ।

झ्याउलाई प्रदूषण मापनको सूचक पनि मानिन्छ । किनकि, जहाँ प्रदूषण हुन्छ, त्यहाँ झ्याउ पाइन्न । अर्थात् हावा प्रदूषित भएको ठाउँमा झ्याउ बाँच्न सक्दैन ।

नेपालमा झ्याउको अनुसन्धान डा.लोकेन्द्रराज शर्माले थालेका हुन् । शर्माको ‘इनुमेरेसन अफ द लाइकेन्स अफ नेपाल’ शीर्षक लेख सन् १९९५ मै प्रकाशित भएको थियो ।

लेखमा नेपालमा लाइकेनका दुई हजार प्रजाति रहेको भन्दै ४६५ प्रजाति सूचीकृत गरिएको थियो । शर्माले नै सन् २०१३ मा नेपालमा ७९२ प्रजातिका झ्याउ पाइएको जानकारी सार्वजनिक गरे ।

झ्याउको उपयोगबारे शिव देवकोटा लगायतले ‘जर्नल अफ इथ्नोबायोलोजी एण्ड इथ्नोमेडिसिन’ मा सन् २०१७ मा एउटा लेख प्रकाशित गरे– ‘इन्डिजिनियस नलेज एण्ड युज अफ लाइकेन्स बाई द लाइकेनोफिलिक कम्युनिटिज् अफ द नेपाल हिमालय ।’

झ्याउलाई प्रदूषण मापनको सूचक पनि मानिन्छ। किनकि, जहाँ प्रदूषण हुन्छ, त्यहाँ झ्याउ पाइन्न। अर्थात् हावा प्रदूषित भएको ठाउँमा झ्याउ बाँच्न सक्दैन।

लेखमा ‘हेटेरोडर्मिया डाइडेमाटा’ भनिने झ्याउ गाउँघरमा घाउ निको पार्न र रगत बग्न रोक्न प्रयोग गरिन्छ । यो झ्याउमा तितेपाती वा वनमाराका पात मिसाएर प्रयोग गरे घाउ छिटो सञ्चो हुने उल्लेख छ ।

झ्याउलाई कुखुराको ओथारा र भर्खरै जन्मेका बाख्राका पाठापाठीलाई ओछ्यान पनि बनाउन प्रयोग गर्ने गरिन्छ । झ्याउका यस्ता थुप्रै उपयोग लेखमा विस्तार गरिएको छ ।

याङबेनको रैथाने स्वाद
लिम्बू समुदायले झ्याउका केही प्रजातिलाई याङबेन भन्छन् । घँगारुको बुट्यान, उत्तिसका रूख लगायतमा पलाउने यो झ्याउलाई राम्ररी केलाएर खरानी मिसाई उमालेर घाममा सुकाएपछि याङबेन तयार हुन्छ ।

यो खासगरी सुँगुरको मासुसँग मिसाएर खाने चलन छ । मासु सहित रक्ती पाक्न लागेको अवस्थामा याङबेनलाई मिसाउने गरिन्छ । लिम्बू समुदायमा याङबेन विशिष्ट परिकार मानिन्छ ।

मध्यपहाड तथा हिमाली क्षेत्रका लिम्बूले आफन्तलाई टक्र्याउने उत्तम कोसेली याङबेन नै हो । याङबेन कतैकतै काठमाडौंका सुपरमार्केटहरूमा पनि किन्न पाइन्छ ।

याङबेनबाट ससेस पनि बनाइन्छ । यसका निम्ति चामल भिजाएर याङबेनसँग मुछ्नुपर्छ । छोटोछोटो सुँगुरको आन्द्रामा भरेर दुईतिरको मुख बाँधेर उसिन्नुपर्छ । त्यसरी बनाइएको परिकारलाई सरघ्याङमा भनिन्छ ।

याङबेन लिम्बूसँगै याक्खा र लोहरुङ समुदायले पनि खाने गर्छन् । यी परिकारलाई रैथाने स्वाद चखाउन खुलेका केही रेस्टुरेन्टले पनि आफ्नो मेनुमा समावेश गराउन थालेका छन् । मासुसँग मिसाइएको याङबेन तुलनात्मक रूपमा बढी रुचिकर मानिन्छ ।

याङबेन स्वस्थकर मानिन्छ । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा गरिएको परीक्षणमा याङबेनमा अन्य खाद्यवस्तु भन्दा बढी क्यालोरी पाइएको एक अनुसन्धानात्मक लेखमा उल्लेख छ । यसमा स्टार्च, कार्बोहाइड्रेट पनि पाइन्छ ।

मुख्य कुरा चाहिं लिम्बू समुदाय सबैभन्दा बढी बसोबास गर्ने प्रदेश–१ का स्थानीयवासी, व्यवसायी र सरकारले याङबेनमा चासो राख्नुपर्छ । अनि, मध्यपहाडी र हिमाली क्षेत्रका अन्य प्रदेश र जातजातिले यसलाई कसरी उपयोग गरिरहेका छन्, बुझ्न जरूरी छ ।

लिम्बू समुदायको चाडबाडमा किरात याक्थुम चुम्लुङले याङबेनबाट बनेको परिकार प्रदर्शन पनि गर्छ । तर, स्वयं लिम्बू समुदायको पछिल्लो पुस्ता याङबेन कहाँ, कहिले संकलन हुन्छ, कसरी बनाइन्छ भन्ने बारे बेखबर छन् । यसतर्फ संस्थाले विचार पुर्‍याउनुपर्छ ।

यसबाहेक याङबेन बन्ने प्रक्रिया, झ्याउका प्रजाति जस्ता वैज्ञानिक सूचना पनि चुम्लुङले दिनसके त झनै राम्रो ।

थप, अनुसन्धानकर्ताहरूले पनि याङबेनको जानकारी, उपयोग प्रस्तुत गर्दा सबैले बुझ्न सक्ने शैली अपनाउनुपर्ने देखिन्छ । त्यसो गर्न नसकिए, याङबेन नेपालको मौलिक ज्ञान, सीप र अभ्यासमा आधारित छ भन्नुको कुनै अर्थ रहन्न ।

लिम्बू समुदायको चाडबाडमा किरात याक्थुम चुम्लुङले याङबेनबाट बनेको परिकार प्रदर्शन पनि गर्छ । तर, स्वयं लिम्बू समुदायको पछिल्लो पुस्ता याङबेन कहाँ, कहिले संकलन हुन्छ, कसरी बनाइन्छ भन्ने बारे बेखबर छन् । यसतर्फ संस्थाले विचार पुर्‍याउनुपर्छ ।

तर, यसो गरिरहँदा यो वनस्पति संरक्षणमा पनि ध्यान दिनुपर्छ । वन नियमावली २०२९, पाँचौं संशोधन २०७२ मा जडीबुटीको नाम र दस्तुर सूचीमा झ्याउको दस्तुुर प्रतिकेजी रु.१५ लाग्ने जनाइएको छ । यसले झ्याउ सस्तोमै निर्यात भइरहेको देखिन्छ ।

खट्किएको अर्को कुरा चाहिं हाम्रा विश्वविद्यालयका पाठ्यक्रममै लेउ, ढुसी र झ्याउलाई बेवास्ता गरिएको छ । यसो गरिनुमा ती विषयका विज्ञको कमी औंल्याइने गरिन्छ । तर, यो पक्कै समाधान होइन ।

 

प्रतिकृया दिनुहोस