नेप्से पाँच प्रतिशतले बढेपछि एक घण्टामै कारोबार रोक्का
पाँच प्रतिशत बजार घटेको भोलिपल्ट शेयर बजारमा एक्कासी उछाल आएपछि एक घण्टा ११ मिनेट मै कारोबार रोकिएको छ । १६७५ अंकमा शुरु भएको नेप्से १७५८ अंकमा पुगेपछि २५ साउन सवा एघार बजे नेपाल स्टक एक्सचेन्जले बजार बन्द गरेको हो ।
बजार खुलेको एक घण्टा भित्र तीन प्रतिशतले घट्ने वा बढ्ने हुँदा आधा घण्टाका लागि बजार स्थिगित हुन्छ । त्यसपछि खुलेको बजार चार प्रतिशतले घट्बढ भयो भने १५ मिनेटलाई कारोबार रोकिन्छ । त्यसपछि पनि नेप्से इन्डेक्स पाँच प्रतिशतले तल वा माथि गयो भने त्यस दिनको शेयर किनबेच बन्द हुन्छ । आज पनि तीन प्रतिशत बढेपछि आधा घण्टा र चार प्रतिशत बढेपछि १५ मिनेट कारोबार स्थिगित गरिएको थियो ।
छोटो समय बजार खुले पनि रु. २९ करोड ८३ लाखको कारोबार भयो । समूहगत रुपमा वीमा समूह सबैभन्दा बढी ५११.३९ अंकले बढ्यो । लुम्बिनी फाइनान्स, तारागाउँ रिजेन्सी होटल र राष्ट्रिय वीमा संस्थानको प्रमोटर शेयर धनी वाहेक कसैले पनि गुमाएनन् ।
पाँच प्रतिशतले गिरावट आएपछि २४ साउनमा साढे एक बजे नै बजार स्थिगित गरिएको थियो ।