अन्तर्वार्ता/विचारशुक्रबार, २० बैशाख , २०७६

चियाको कथा

डा. तीर्थबहादुर श्रेष्ठ

विज्ञान–विचार

चिनियाँ ‘च्छा’ फैलँदै जाँदा कतै ‘थे’ त कतै ‘टी’ हुन पुगेको चियाको कथा रोचक मात्र होइन, यो बनाउने विधि पनि ठाउँ अनुसार फरक छ।

 

चियाको अथाह कथाबारे गएको शुक्रबार (६ वैशाख) ललितपुरको यलमाया केन्द्रमा चिया चर्चा चल्यो ।

डा.तीर्थबहादुर श्रेष्ठ

नेदरल्याण्डका विद्वान जर्ज भ्यान ड्रिइम ‘द टेल अफ टी’ नामक ९०४ पृष्ठको मोटो आफ्नो पुस्तकभित्र नेपाल उधिन्दै थिए । अंग्रेजी भाषामा लेखिएको त्यस अनुसन्धानात्मक पुस्तकले सन् १८२०/२१ ताका नै काठमाडौंमा चियाको बोट उमारिएको पुष्टि गर्छ ।

त्यसताका इण्डियाको कलकत्ता वनस्पति उद्यानका सुपरिन्टेन्डेन्ट नाथालियन वालिचले काठमाडौंबाट प्राप्त गरेका बिरुवामध्ये एउटा चियाको थियो । ‘थिया बोहिया’ नामांकित त्यो बिरुवा अहिले पनि बेलायतको क्यू वनस्पति संग्रहालयमा सुरक्षित छ ।

नेपालमा चिया तथा चिया बगानको विकासक्रम र विश्व मानचित्रमा नेपालको स्थान पहिल्याउनमा उक्त पुस्तक महत्वपूर्ण छ । करीब रु.३३ हजार मूल्यको ‘द टेल अफ टी’ कति नेपालीको पहुँचमा होला त्यो बेग्लै कुरा तर, चियाका बुटा र बगानसँग गाँस–बास जोडिएका हजारौं श्रमिक, जो सरकारले तोकिदिएको दैनिक ज्याला रु.३८५ नपाएर आन्दोलन गर्दैछन् तिनका लागि चाहिं कागलाई बेल पाकेझैं हुन्छ यस्ता अध्ययन र अनुसन्धान ।

तसर्थ ज्ञानका बहुमूल्य यस्ता भण्डारमा आम मानिसको पहुँचको प्रयास हामी नेपालीबाटै हुनुपर्छ । बेल फुटाउनुपर्छ, त्यसको गुदीमा सबैको पहुँच पुग्नुपर्छ ।

चिया सम्बन्धी मेरो छोटो विज्ञान–विचार हिमाल खबरपत्रिका (१–१५ भदौ, २०६४) मा छापिएको थियो । यलमाया केन्द्रको ‘चिया चर्चा’ ले मलाई त्यही पुरानो लेखमा टेकेर थप लेख्ने प्रेरणा दिएको छ ।

ड्रिइमले बडो रोचक ढंगले प्रस्तुत गरेका थिए, ठाउँ अनुसार कसरी चियाको नाम फेरिंदै चीनमा च्छा, जापानमा चा, भारतमा चाय र श्रीलंकामा ते आदि हुन पुग्यो । भाषा, लिपि, ध्वनि र व्याकरणबारे मलाई ज्ञान छैन ।

तर, मेरो अध्ययनको विषयले वनस्पतिको नामकरणसँग विशेष सम्बन्ध राख्छ, त्यही आधारमा यस लेखमा फेरि चिया चर्चा गर्दैछु ।

नाम चिया
पहिलो कुरा अंग्रेजहरूले चियालाई किन ‘टी’ भने भन्नेतिर लागौं । चियाको रैथान चीन हो । चीनमा चियालाई ‘च्छा’ वा ‘छ्या’ वा यस्तै ध्वनिमा सम्बोधन गरिन्छ । हाम्रा हिमाली क्षेत्रका जनजातिहरू पनि चियालाई सम्बोधन गर्न ‘छ्या’ वा ‘च्या’ आदि ध्वनि निकाल्छन् ।

वनस्पतिका वैज्ञानिकहरूले सन् १७५३ देखि बिरुवाका नामलाई ल्याटिन भाषामा रूपान्तरण गर्दै आएका छन् । त्यही क्रममा ‘च्छा’ वा ‘छ्या’ लाई उनीहरूले ‘थ्या’ (Thea) भनिदिए । सन् १७१२ मा ‘थ्या’ वा ‘थिया’ शब्दको चयन स्थानीय एमोनी भाषिकाको आधारमा स्थापना भएको मानिन्छ ।

युरोपेलीहरूका लागि थिया अनौठो शब्द थिएन, ग्रीकहरूले आफ्ना बालिकाहरूको नाम थिया राखिरहेकै थिए । त्यसैले चिनियाँ चियालाई वनस्पति विज्ञानमा थिया साइनेन्सिस भनेर सन् १७५३ को ‘स्पिसिज प्लान्टारम’ ले मान्यता दियो ।

फ्रान्समा चियालाई थे भन्नुपर्छ । त्यसमा थियाको चार अक्षरबाट ‘ए’ हराउँछ । बेलायत पुगेर थियाको चार अक्षरबाट बीचको ‘एच’ हराउँछ । वास्तवमा टिआ वा टेआ भनेर उच्चारण गर्नुपर्ने शब्दलाई ‘टी’ भन्न थाले बेलायतीले । त्यसकै नालीबेलीमा जर्ज भ्यान ड्रिइम ‘द टेल अफ टी’ लिएर हामीसामु प्रस्तुत थिए ।

छ्याबाट चिया बनेको प्रक्रियामा पनि धेरै अलमलिनु पर्दैन, बोलीचालीमा हामी अझैं ‘च्या पिउने’ भनिरहेकै छौं । कालान्तरमा लिपिबद्ध हुँदा चिया बन्न पुगेको मात्र हो । लिपि र ध्वनिको भेद र विभेदले गर्दा भारततिर चियालाई अधिक मानिस चाय भन्दछन् । गाउँ बोलीमा चाः पनि भनिन्छ तर अलिक लेग्रो तानेर चाऽऽ भन्दा हाम्रो ध्वनि ‘य’ मा अन्त हुन्छ र चाऽऽय बन्छ ।

वनस्पति जगतभित्र थिया एक विशेष परिकारकै रूपमा स्थापित छ । त्यसमा हाम्रै चिलौनेको वृक्ष, हिंगुवाको झडी, झाँगिने, वाकलपाते, जापानी क्यामेलिया वा चिनियाँ गुराँस आदि वनस्पति सामेल छन् ।

चियाकै बोटबाट प्राप्त हुने रासायनिक पदार्थ थियानिन, थिया फ्लेभिन्स र थियारुविजिन्स नामले रसायनशास्त्रमा स्थापित छन् । तर, थिया साइनेन्सिस अहिले वनस्पतिशास्त्रको नामांकन नियमको मारमा परेर क्यामेलिया साइनेन्सिस बन्न पुगेको छ । त्यस अर्थमा हामीले पिउने चियाको प्रजातीय नाम क्यामेलिया साइनेन्सिस भनेर स्थापित छ ।

काठमाडौं वरपरका तामाङ समुदायमा हिंगुवाकोे कमलो मुनालाई टिपेर चिया बनाउने चलन छ । प्रसिद्ध गायिका आनी छोइङले यलमाया केन्द्रको छलफलमा हिंगुवाको चिया अझैं पनि बौद्ध गुम्बामा प्रचलनमा रहेको संकेत गरिन् ।

यस वनस्पतिको पहिलो नमूना एडवर्ड गार्डनरले सन् १८१८ ताका नेपालको वन क्षेत्रबाट संकलन गरेर नाथालियन वालिचकोमा पुर्‍याएका थिए । वालिचले त्यही हिंगुवा नवीन प्राप्तिका रूपमा क्यामेलिया किस्सी नाम दिएर सन् १८२० मा नै प्रकाशित गराए ।

नेवारी नाम किसिस्वाँ लाई वालिचले वैज्ञानिक नामको आधार बनाए । उनले बगैंचाको चियालाई छुट्टै नाम थिया वोहिया कायम गरे । आधुनिक चिया क्यामेलिया साइनेन्सिस त्यही हो ।

हाम्रो हिंगुवा सिक्किम, भूटान, आसाम, बर्मा र दक्षिण पश्चिम चीनका प्रान्तहरूसम्म फैलिएको छ । चीनमा शृंगार सामग्रीमा समेत प्रयोग हुने यसको बीजकोे तेल निकै उपयोगी मानिन्छ । श्रीखण्ड परिवारमा पर्ने एक प्रकारको जडीबुटी नूनढिकी र हिंगुवा मिसाएर भोटे चिया बनाउने चलन पुरानै हो ।

आजभोलि हिंगुवा भनिने यो वनस्पति क्यामेलिया किस्सी हो। यो शिवपुरी, नागार्जुन र चन्द्रागिरि क्षेत्रमा अधिक पाइन्छ।

वनस्पति जगतमा ओजाइरिस लान्सिओलेटा भनिने नूनढिकी मिसाइएको चिया पिउँदा शरीरको रक्त विकार शमन गर्ने मान्यता सिन्धुपाल्चोकको तामाङ समुदायमा अझैं छ । हिंगुवा, नूनढिकी र सम्भवतः चिनियाँ चियापत्ती समेत राखेर बनाइने डल्लो वा चारपाटे ईंटा जस्तो ढिक्कालाई भोटे चिया भनिन्छ । हिमाली क्षेत्रमा भोटे चियालाई नूनसँग धेरैबेर उमालेपछि विशेष प्रकारको ढुङ्ग्रोमा चौरीको घ्यूसँग मथेर सेवन गर्ने/गराउने चलन छ ।

उहिले ल्हासा साहूका संगतमा परेका काठमाडौं उपत्यकावासीले भोटे चिया पिउँथे । तर, २००७ सालको क्रान्तिपछि कलकत्ताबाट आएका नेपालीहरूले दूध–चिनी मिसाइएको अंग्रेजी चिया पिउने परम्पराको थालनी गरे । काठमाडौंको जनजिब्रोमा चियाको स्वाद बसाल्ने श्रेय धरहरा माइला वा तिलौरी माइला नामले प्रख्यात बेखानारायण डंगोल र उनका भाइ जोगनारायण डंगोल (कान्छा दाइ) लाई जान्छ ।

थरीथरी विधि
चिया पिउनु भनेको चियामा मौजूद रासायनिक पदार्थ सेवन गर्नु हो । चियाका लागि बोटबाट मुना टिपिन्छ, छिप्पिएको पात काम लाग्दैन ।

चियाको बोटले कलिलो मुनालाई कीटपतङ्ग वा अरू जन्तुले नोक्सान नपुर्‍याउन् भनेर मुनामा विशेष रासायनिक पदार्थहरू उत्पादन गरेको हुन्छ । वनस्पतिले मुनाको सुरक्षाका लागि उत्पादन गरेको त्यही विशेष रासायनिक पदार्थ हाम्रो पेयपदार्थ बन्न पुगेको छ । जिब्रोमा टर्रो–टर्राे लाग्ने टानिन र थोरै उत्तेजना पैदा गर्ने क्याफिन लगायत हजारौं पोलिफिनोलिक कम्पाउण्डस्युक्त चियापत्तीलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाइन्छ ।

चिया प्रविधि आफैंमा जटिल विधा पनि हो । तर, चियाको रस र रंग कसरी निखार्ने भन्नेतर्फ ध्यान पुर्‍याउन सकिएन भने उत्तम चिया बन्दैन । चियाको पत्तीमा उम्लेको पानी राख्ने वा उम्लेको पानीमा चियापत्ती राख्ने अथवा चिया, चिनी, दूध र मसला सबै मिलाएर उमाल्ने आदि प्रश्न बारम्बार उठ्छ ।

नेपाल जस्तो भौगोलिक विविधता भएको ठाउँमा उपयुक्त चिया तयार गर्न ठाउँ अनुसारका आ–आफ्नै विशेष विधि छन् । त्यो किनभने, हामीले उमाल्ने पानीमा ठाउँ अनुसार तापक्रम चढ्छ ।

मधेश–तराईमा स्वच्छ पानी उम्लिंदा त्यसको तापमान झ्न्डै १०० डिग्री सेल्सियस पुगेको हुन्छ । यस्तो ठाउँमा चियाको पत्तीमा उम्लेको पानी खन्याएर छोपिदिंदा मात्रै चियाको रस र रंग पानीमा घुलिसक्छ । ५ हजार फिट उँचाइको काठमाडौंमा भने ९५ डिग्री सेल्सियस तापमानमै पानी उम्लिदिन्छ ।

अर्थात् काठमाडौंमा पानी जतिबेर उमाले पनि त्यसको तापमान ९५ डिग्री सेल्सियसभन्दा माथि चढ्दैन । त्यस्तै १२ हजार फिट उँचाइको नाम्चेमा उम्लिएको पानीको तापमान ८७.६ डिग्री भन्दा माथि चढ्दैन । त्यहाँ उम्लेको पानीमा हालेको चियापत्तीले आफ्नो रंग र रस पूरा छोड्दैन ।

तर, त्यही पानीमा नून वा चिनी थपिदियो भने त्यसको तापमान बढ्छ । त्यसैले शेर्पाहरूले बनाउने भोटे चियामा नून पनि मिसाइन्छ ।

काठमाडौंको उँचाइमा चिनी हालेर उमालेको पानीमा तापमान बढ्छ र चियाको रंग र रस पनि छिट्टै प्राप्त हुन्छ । त्यसैले ठाउँ अनुसार चियाको रंग निकालेर स्वाद अनुसार चिनी नून वा दूध राखेर चिया बनाउने प्रयोगात्मक तालिम उचित हुन्छ ।

अरू खाना बनाउँदा पनि यो कुरामा विचार पुर्‍याउनु उचित हुन्छ । जस्तो मुक्तिनाथ, गोसाइँकुण्ड जस्ता बढी उँचाइमा भात राम्रोसँग पकाउन प्रेसरकुकर नै रोजिन्छ ।

अचेल बजारमा विभिन्न थरी चिया पाइन्छन् । तुलसीपातको चिया, गुडुची वनस्पति चिया, सजिवन मोरिङ्गा चिया, बेसार चिया, अदुवा चिया आदि । यी विभिन्न पेयपदार्थका आ–आफ्नै गुण वा दोष होलान् तर यो लेखमा क्यामेलिया साइनेन्सिस् नामक वनस्पतिबाट बन्ने चियामै केन्द्रित भइयो ।

यही चियाको विषयमा ड्रिइमले तयार पारेको गहकिलो ग्रन्थ ‘द टेल अफ टी’ मा रहेको मानवोपयोगी र विशेषतः नेपाल उपयोगी तथ्य चिया श्रमिक र आम नेपालीको हितार्थ प्रयोग गरिनु जरूरी छ ।

प्रतिकृया दिनुहोस