दस्तावेजबिहिबार, १९ बैशाख , २०७६

नेपाल -भोट युद्ध : केरुङमा यस्तो तयारी

ज्ञानमणि नेपाल

युद्धका लागि केरुङतर्फ आवश्यक व्यवस्थापन गर्न प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँका जमदारलाई अह्राएका थिए। 

शुरुमा चीनको विद्रोह शान्त पार्न नेपालबाट १० हजार गोर्खाली सैनिक लिएर जाने चर्चा व्यापक चल्यो ।

चीनका बादशाहबाट फौज पठाउनू वा नपठाउनू भन्ने कुनै खबर नआउँदै यहाँ श्री ३ जंगबहादुर राणाले भोटसँग युद्ध गर्ने तयारी देशव्यापी चलाइरहेका थिए ।

भोट जाने अघिल्लो मोहडामै पर्ने खासा, कुतीका नाकामा प्रशस्त रसदपानीको जोहो गरियो । त्यहींबाट तिब्बतको व्यापारिक केन्द्र दिगर्चा, ल्हासासम्म पुग्ने मूलबाटो पर्थ्याे  ।

भोटमा अन्न जोहो गर्न सम्भव थिएन । कुती, केरुङ नाकामै ठूल्ठूला गोदाममा रसद जम्मा गर्न सके त्यतैबाट भोट भित्रभित्रै पठाउन सजिलो पथ्र्यो । प्रधानमन्त्री जंगबहादुरले केरुङ नाकाका जमदार ऐमानसिंह खत्रीलाई पत्र लेखेर त्यहाँ गर्नुपर्ने कामबारे अह्राए ।

उनले भोटमा नून साट्न चामल बोकेर जाने ढाक्रेहरूबाट सबै चामल किनेर तिनलाई नगदबाटै नून किनाएर पठाउन, भारी बोक्ने घोडा, च्याङ्ग्रा, खच्चर, चौंरी सक्दो भेला पार्न र त्यसको लगतबारे खबर गर्न भनेका थिए ।

यस्तै, अन्न एवं रसदपानी राख्ने गोदामघर बनाउन, पाएसम्मको अन्न भुटी–पिसी गोदाममा थन्क्याउन निर्देशन दिंदै अन्न किन्न नगद पनि पठाइएको थियो । ल्हासाबाट आएका चिठी खोलेर राजकाज सम्बन्धी र फारसी भाषाका भए केन्द्रमा पठाउन र बेपारीका चिठी भए सहज रूपमा आउन–जान दिन चिठीमा आदेश दिइएको थियो ।

भोटतर्फका सिमानाबाट बारुद, गोलीगट्ठा लगायत जङ्गी सामग्री बाहिर लैजान नदिन पनि सजग पारिएको थियो ।

उक्त चिठीको जवाफमा ऐमानसिंहले अहिले चामलको भारी बोकेर नून साट्न आउने ढाक्रेहरूको चहलपहल त्यति नभएको, नून लिन आउने थोरै भरियाले पनि जगात (वस्तु निकासी–पैठारी गर्दा दस्तुर तिर्ने ठाउँ) लाई पुग्ने मात्र चामल ल्याएर नून किनेर लैजाने गरेको जानकारी गराएका थिए।

प्रतिकात्मक चित्रकला । स्राेत : इम्गुर डटकम

उनले टिमुरे, स्याफ्रु जगातमा आएको चामल रोकिने, जङ्गी खजाना र आएका चिठी बुझेर रोकिने भन्दै प्रधानमन्त्रीलाई विश्वस्त पारेका छन् ।

भारी बोक्ने चौंरीबारे बुझन लाङटाङतिर सिपाही पठाएको र ती फर्केपछि यकिन संख्या अर्को चिठीमा लेख्ने ऐमानसिंहले उल्लेख गरेका छन् ।

युद्धको रसदपानी किन्न पठाइएको रु.५ हजारमध्ये रु.२ हजार नून किन्न छुट्याएर बाँकी नगदले अन्न किन्ने र भुटाई–पिसाई राख्ने उनले पत्रमा जाहेर गरेका छन् । उताबाट पठाइएको १२६ भारी युद्धसामग्री केरुङमा रहेका कारिन्दाले बुझेर थन्क्याएका थिए ।

केरुङमा रहेका अफिसर सिपाहीहरूको काम लेखाजोखा गरी अदलाबदली (सरुवा) गरिएको थियो । त्यहाँ तीन वटा ठूल्ठूला गोदामघर बनाउन कालिगडहरू खटिएका थिए ।

एउटा गोदामघर बनिसकेको थियो भने अर्कोको छाना छाउन मात्र बाँकी रहेको र तेस्रो बन्ने क्रममै रहेको ऐमानसिंहले अवगत गराएका छन् ।

युद्धमा जान सहज हुने गरी बाटो मर्मत गरेर फराकिलो पनि बनाइँदै थियो । वेत्रावती र त्रिशूलीमा साँघु बनाउनुपर्ने थियो । भेडा च्याङ्ग्रा बेच्न आएका भोटेहरूलाई गोडधुवाको रकमीले सयकडा ५ रुपैयाँ दस्तुर लाग्ने भनेर स्याफ्रुमा थुनेर राखेको उल्लेख गर्दै जमदार ऐमानसिंहले उक्त दस्तुर लाग्ने हो या होइन भनेर प्रधानमन्त्रीसँग सोधेका थिए ।

केरुङबाट महीनामा दुई जना भोटे यता आई हालखबर बुझेर जाने गरेको गुह्य पनि उनले चिठीमा समेटेका थिए ।

श्रीमद् राजकुमार कुमारात्मज प्राइम्मिनिष्टरबाट
जमदार अ‍ैमानसिं खत्रीके

हाम्रा सिमानाभित्र ताहाँका भारी बोक्न सक्न्या च्याङग्रा घोडा खच्चर चौंरी गधाहा भेडा कतिसम्म पाइन्छन् तलास गरि यसको यतिसम्म छ भन्या नाउनमेसी लेखि पठाउनु रसद राखन्या घर बनाउदा अबाटो गरि बनाउनु ल्हासा तर्फ आयागयाका चिठ्ठी खोलि हेरि राजकाज अर्को ब्यहोरा लेखियाका चिठ्ठी र फार्सी चिठ्ठी जो आउँछ जान्छ ति चिठ्ठी यहाँ पठाईदिनु महाजनी व्यहोराका चिठ्ठी आउन जान दिनु, भोट तर्फका सिमानाबाट बारुद गोलीस चोरा जङ्गी खजाना कुनै कुरापनि लैजान नपाउन्, ढाक्रायाहरूले चावललि भोटेसँग नून साट्न आया भन्या साट्न नदिनु ताहाँका भाउले चावलआफूले किन्नु, नून बेच्न ल्यायाको नगद रुपैयाँले खरिद गरि चावलले साट्न जान्या ढाक्रेहरूलाई बेचनु नगतले हाम्रा मानिसहरू भोटसँग किन्दछन् भन्या किन्न दिनु, ताहाँका ढाक्रयाहरूले ल्याको चावल किन्नु र नून किन्नलाई मोरु रुपैया २००० दुईहजार पठाई दियाको छ बुझिलिनु ति रुपैयाँ सकियापछि याहाँलेखि पठाउनु र चाहिया माफिक पठाइदिन्या काम गरिएला औं ताहाँ पाइयासम्मको रसद भुटाउन्या पिंधाउन्या कुरो पिधाउनू, अन्न काँचो नराख्नू.

श्रीप्राइम्मिनिष्टरका हजुरमा जमदार अ‍ैमानसिं
राजमानसिंहरूले पठायाको

चावलको भारि ढक्रयाहरू नून साट्ने चल्याका छैनन्, १\२ आउनेले पनि जगानीलाई बुझाउने सम्ममात्र ल्याउँदारह्या छन्. रुपैयाँले नून किनि लैजान्छन्. टिमु्र्‍या जगातमा रह्याका जगातैमा चावलहरू आयाको रोकन्या जंगी खजाना र आयागयाको चिठिपत्र मानिसका बुझवात गर्न्यै राखि छोड्छ । चौकिका अर्थलाई लाङ्गटाङतिर सिपाइ पठायाका छन् आयाका छैनन्, पुग्नी मकात्र चौरिका हिसाब लेखिहजुरमा चह्राई पठाउँला. चाैरिका गोरुभन्या वैसिको हुनिमात्र, केरुंतर्फ विक्दारह्याछन्. १\२ भाका पनी नाक नछेडि भारिबोक्दो रहेछन्. नाक छेड्न्या चलन भन्या हाम्रा मुलुकमा रहेनछन् भारि बोकन्या भेडा खसिमा १००० हज्जार रह्याछन्. इनैका भारि बोकन्या सरा जाम स्मोत तथा एगि राख्नु भनि राखेछु. ५००० हजार रुपैयाँ पठाइ दियाको छ आइपुग्ला बुझिले, २००० हजारको नून किंन बाकि ताहा भयाका अन्न ताहा भयाका गहु कोदो जोछ भुटाउने कुरो भुटाउनु पिसाउने कुरो पिसाउनु अन्न काचो नराख्नु लिन्या काम गर भन्या कृपा पत्र आउँदा उनिलामा रोका गरी राखेछु रुपैयाँ आहा आई पुग्याको छैनन्. हवल्दार कृतिध्वज खड्का १ सिपाहि जनौरानसिंह १ कृष्णवीर खतृ १ इ तीन जनालाई नुवाकोटमा कारिगडलाई लाएर सिपाहिलाई खान्या रसद आहा पठाउनु भनि राष्याका थियो. सिपाहिहरूका खर्चका रुपैयाँ ताहा सरल दमा लाउनु र तिमिहरू ३ जना ञाहा आउ तिमिलाई बदला सिपाहि २ जना मैले पठायाको छ. ताहा रसदको काम ती सिपाईहरू २ जनाले गर्नान्. तिमिहरू तीनै जना ञाहा आ भनि चिठ्ठी लेखि सिपाहि २ जना पठाञा थ्य. ति सिपाईहरू २ जना नुवाकोटमा राखि त्यो हक्का र १ सिपाई २ जना सहर्मा सयेल गर्छन् भन्या समाचार सुन्दछु. श्री ५ सरकारमा खर्चको रुपैयाको बिन्ती गर्न पठायाको हुँदा सिपाहीलाई पनि ञाहाको काम हामी गरुला तिमिहरू फर्काइ भनिहुँदा सिपाहिलाई फर्का पठाई दिएछन्, नुवाकोटमा वसी काम पनि गर्दैन ञाहा पनि आउँदैनन् . हवल्दार चन्दबीर खवास १ लाई कारिगडलाई खान्या रसदका रुपैयाँ पैसाको तहविल्दार गराई राखेछु, पट्टीका खरखटन पनि तेसैले गर्दाछन्. ञाहाबाट आयाका असबाफ भारि १२६ ञाहा आईपुग्यो बुझिलि रसिद लेखि दिपठाञा. मसँग भएका २ आमल्दार भन्या लेखन पढन जान्या सिपाहि सरहको काजगर्नलाई बढियाछन्. काजमा नवसि हुदा सिपाहि यस्ता रह्याछन् भन्या केही केही बुझिँदोरहेछन् चोभार बस्न्या सिपाहि खङ्गसिं थापा १ सवै कुराका हुस्याहार रह्याछन् ताहाबाट ञायाको असबाफ भारिकात हविल्दारी काम इनैलाई गराई राखेछु येस हुदाले भन्या ञाहा वस्न्या साह्रै गार्‍हाे मान्यो काज गर्न्याले खान पाउन्याहुन्. लेखन्दासको कुरो र अघिल्ला अर्जिमा लेखि अह्राइ पठायाथ्या जो मर्जि रसद राख्न्या गोदाम घरको अर्थलाई १ घर तयार भयो दोस्रो घर ३\४ हात लामो १६ हात गज भयाको छाउन लागि रहाछु, सिद्धियाको छैन तेस्रो घर १ निदाल बस्यो कर्मिवाट अलिक ढिल भैरहेछ, रसद ञाहा आईपुग्याका दिन घाम पानी बरोबर लाग्न लागी रहेछ, काम पनि धमाधम चलिरहेछ, वेत्रावतीको साघु त्रीशुलगंगाको साघु बाटो दोसाँधदेखि धैवुं सम्म नबनाई हुन्याछैन, यो पनि बनाउँला केरुं बस्न्या भोट्या प्रा नेपाल तर्फ भेडा च्याङ्ग्रा बेच्न आउन्यालाई गोडधुवाको रकमीले तिनिहरूलाई पनि फिआनाको दस्तुर सयकडा ५ रुपैयाँ लाग्दछ भनि स्याफ्रुको साँघुमा थुनिराखेछ खेद भन्या कुरा ञाहाका भोटेहरू कुरा गर्दा रह्याछन् भेडा बेच्न नेपाललै जान्छस् भन्या जा भोटतिर फर्कि जान्छस् भने पनि जा भनि थुनि राखेछन्. यो दस्तुर लाग्न्याहो कि लाग्दैन जो मर्जि, बोट्यरू भन्या केरुंतिर फर्कनान् भन्या जस्तो डबल छ. जगातीहरू र ञाहाका भोटेहरू विम्वलकालाई गादिका रकम र गोडधुवा रकम अघिदेखि लाग्दैनथ्यो भनि भन्दछन्. केरुंहाबाट मैन्हाका २ भोटे नेपाल सम्म आई हेर्चाह गरि वुझ्वाज गरि फिर्न्या मामुली नै रहेछ.
१९११ साल आश्वीन वदी ३० रोज, ६ शुभम्

प्रतिकृया दिनुहोस