सम्पादकीयबिहिबार, १९ बैशाख , २०७६

शक्ति संघर्षको लक्ष्मणरेखा

सम्पादकीय

किरण नेपाल

नेतृत्वले बुझ्न जरूरी छ– नेकपाभित्रको शक्ति संघर्षले लोकतन्त्रको दायरा नाघ्न र राजनीतिक स्थिरताप्रतिको आम आकांक्षामा तुषारापात गर्न सक्दैन। 

किरण नेपाल 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकीकरण अन्तर्गतको सबभन्दा महत्वपूर्ण र जटिल मानिएको जिल्ला नेतृत्व चयन टुङ्गो लगाएको छ । पार्टी स्थापनाको ७०औं वार्षिकोत्सवको अवसर पारेर ९ वैशाखमा भएको पछिल्लो विकासक्रमलाई नेकपाले पार्टी एकताको महत्वपूर्ण खुट्किलो पार गरेको रूपमा लिइएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा भएको एकीकरणपछि बनेको नेकपामा तत्काल केन्द्रीय कमिटी घोषणा गरिएको, लगत्तै पार्टी सञ्चालन सम्बन्धी संक्रमणकालीन व्यवस्थाका लागि ९ सदस्यीय केन्द्रीय सचिवालय निर्माण गरिएको र त्यसपछि स्थायी कमिटी गठन गरिएको थियो ।

जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष र सचिव) चयनसँगै एकीकृत पार्टीको एक हदसम्मको सशरीर संरचना तयार भएको छ । यद्यपि पोलिटब्यूरो, उपत्यका समन्वय विशेष कमिटी, जनसंगठन र स्थानीय पार्टी कमिटी निर्माणको कार्य बाँकी नै छ । 

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा चुनावी तालमेलका निम्ति बनेको वाम–गठबन्धन मार्फत तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरणको प्रयास शुरू भएको थियो ।

निर्वाचनमा प्राप्त अद्भुत परिणाम, वाम–गठबन्धनबाट शुरू भएको पार्टी एकीकरण प्रयासलाई गन्तव्यसम्म पुर्‍याउने महत्वपूर्ण आधार बन्नपुग्यो । एकीकरणको सन्देश लिएर निर्वाचनमा गएको दुई पार्टीको गठबन्धन झ्न्डै दुईतिहाइ बहुमत हासिल गरेर सरकारको नेतृत्वमा पुगेको हो। 

कुनै बेला हिंसात्मक विद्रोहमा रहेको माओवादी र संसदीय अभ्यास मार्फत राजकीय जिम्मेवारी वहन गरिरहेको तत्कालीन एमालेबीच भौतिक तहमै रहेको शत्रुतापूर्ण सम्बन्ध गठबन्धन–एकताको डेढवर्षे अभ्यासमा यदाकदा वैचारिक तहमा सीमित हुनपुगेको छ ।

दशक लामो विद्रोहबाट आर्जन भएको शक्ति–प्रभाव जोगाउन हम्मे परेको माओवादी र वामपन्थी मतमा हुने विभाजनले संसदीय अभ्यासमा जहिल्यै प्रतिपक्षमा खुम्चेको एमाले– दुवैले मुलुकको ‘वाम संस्थापन’ बन्ने आकांक्षामा ‘विमतिबीचको सहमति’ लाई केन्द्रमा राख्नुको नतिजा हो, यो । यही रणनीति मार्फत निर्वाचनमा पाएको सफलतालाई पार्टी पंक्तिमा दोहोर्‍याउनुपर्ने बाध्यतामा नेकपा पुगेको छ ।

तर, जिल्ला नेतृत्व चयनका क्रममा सार्वजनिक भएका पार्टीको आगामी महाधिवेशनकेन्द्रित आन्तरिक शक्ति संघर्ष चलायमान हुनथालेको संकेत गर्ने कतिपय परिदृश्यले यसलाई सहज देखाउँदैनन् । 

आउँदो १३ महीनाभित्र एकताको महाधिवेशन गर्ने पूर्वघोषित लक्ष्य अनुसार नेकपाको आगामी नेतृत्वका लागि चल्ने रस्साकस्सीमा के कस्ता मोडहरू आइपुग्छन्, त्यसबाटै यो पार्टीसँगै मुलुकको आगामी राजनीतिक दिशा तय हुनेछ ।

घर्षण जे जस्तो भए पनि नेकपाको शक्ति संघर्षलाई उन्मादी स्वरुप लिने छूट छैन । किनभने नेकपाभित्रको शक्ति संघर्षमा देशकै भविष्य जोडिन पुगेको छ । र, यहीकारण उसका प्रत्येक क्रियाकलाप सार्वजनिक चासोको विषय बनेका छन् ।

राष्ट्रिय राजनीतिमा संस्थापन बन्ने रणनीति नै आगामी महाधिवेशनमा दोहोरिन्छ या त्यहाँ मूलतः हिजोको राजनीतिक दृष्टिकोणमै रहेको भिन्नता पुनर्जीवित भएर आउँछ भन्नेमै नेकपाको आन्तरिक राजनीति निर्भर रहनेछ ।

अर्थात् एमाले र माओवादीबीच हिजो कायम राजनीतिक भिन्नता सतहमा कति आउँछ भन्नेबाटै हरेकको ‘पोजिशन’ निर्दिष्ट हुनेछ ।

पार्टी एकीकरणका क्रममा दुई जना अध्यक्ष रहने संक्रमणकालीन व्यवस्था गरिए पनि पछिल्लो एक वर्षको अनुभवबाट पार्टीको कमान प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेको प्रष्ट छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी सञ्चालनमा ओलीको सहयात्रीमा सीमित देखिन्छन् । अर्थात्, पार्टी संगठन निर्माणको क्रममा हिजोका एमाले र माओवादीले पाएको महत्वसँगै सरकारको नेतृत्वकर्ता हुनुको लाभ समेत अध्यक्ष ओलीलाई मिलेको छ ।

तर, योसँगै प्रत्यक्ष अनुभूत भएको अर्को तथ्य के पनि हो भने वरिष्ठ नेता माधवकुमार नेपालको संलग्नता बेगर पार्टीका महत्वपूर्ण निर्णयहरूले आकार ग्रहण गर्न सकेका छैनन् । यही कारण नेकपामा अब त्रिपक्षीय शक्ति संघर्षले आकार ग्रहण गर्ने संभावना प्रबल देखिन्छ । पार्टीको नेतृत्व र राजनीतिक दिशा धेरै हदसम्म यही संघर्षको परिणाममा निर्भर छ ।

माओवादीसँगको एकतासँगै हिजोको एमाले पंक्तिले लोकतन्त्र र स्वतन्त्रताका सवालमा पटकपटक स्पष्टीकरण दिनुपरेको छ, जुन हिजो अविच्छिन्न रूपमा लोकतान्त्रिक प्रगतिशील विचारधारामा रहेको दलका निम्ति सकसपूर्ण अवस्था हो ।

हो, सिद्धान्ततः हिजोको विद्रोही माओवादीले छोटो समयमै आफूलाई ‘उग्रवाम’ कित्ताबाट मध्यमार्गतर्फ डोर्‍याएको छ, त्यो कित्तामा रहँदा आफूबाट भए/गरेका कर्म–सिर्जित जवाफदेहीको ठूलै पेटारो बिसाइनसके पनि । त्यसैगरी, लोकतन्त्र र स्वतन्त्रताप्रति सैद्धान्तिक प्रतिबद्धता जनाउनु र त्यस्तो प्रतिबद्धता व्यवहारमै विकसित हुनुमा ठूलो भिन्नता हुन्छ । सिद्धान्ततः छोटो अवधिमै मारेको छलाङले मात्र लोकतान्त्रिक व्यवहार निर्माण हुँदैन, त्यसका लागि केही वर्ष लाग्न सक्छ ।

हाम्रो बुझाइमा नेकपाभित्रको शक्ति संघर्षमा आधारभूत रूपमा यही कुरा हावी हुने निश्चित छ । यो आधारमै टेकेर स्वतन्त्र ढंगबाट त्रिपक्षीय संघर्ष चल्छ या अरू विभिन्न कारणले यसलाई द्विपक्षीय बनाउँछन् भन्नेबाटै घर्षणको आयतन तय हुन्छ ।

घर्षण जे जस्तो भए पनि नेकपाको शक्ति संघर्षलाई उन्मादी स्वरुप लिने छूट छैन । किनभने नेकपाभित्रको शक्ति संघर्षमा देशकै भविष्य जोडिन पुगेको छ । र, यहीकारण उसका प्रत्येक क्रियाकलाप सार्वजनिक चासोको विषय बनेका छन् ।

नेकपा गठनको पृष्ठभूमि र वाम गठबन्धनलाई प्राप्त चुनावी सफलताको मुख्य आधार राजनीतिक स्थिरता र लोकतन्त्र विकासका निम्ति प्रकट आम आकांक्षा रहेको तथ्य बिर्सन मिल्दैन । नेकपाको नेतृत्वले बुझन जरूरी छ– पार्टीभित्रको शक्ति संघर्षले लोकतन्त्रको दायरा नाघ्न र राजनीतिक स्थिरताप्रतिको आम आकांक्षामा तुषारापात गर्न सक्दैन ।

यो नै नेकपामा नेतृत्वका लागि हुने शक्ति संघर्षको लक्ष्मणरेखा हो ।

प्रतिकृया दिनुहोस