टिप्पणीबुधबार, १८ बैशाख , २०७६

यो कस्तो बौद्ध शिक्षा ?

वसन्त महर्जन

औपचारिकतामा सीमित लुम्बिनी बौद्ध विश्वविद्यालयका कमजोर उत्पादनले बौद्ध अध्ययनलाई नै अर्थहीन बनाउने पक्का छ।

शैक्षिक डिग्रीको उपाधि, त्यो प्राप्त गर्ने व्यक्तिको ज्ञानको गहिराइ र त्यसको उपयोगिता बेलाबेला प्रश्नको घेरामा पर्छन् । यो स्थिति बौद्ध अध्ययनमा पनि देख्न पाइन्छ ।

वसन्त महर्जन

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका एक व्यक्तिको बुझाइ यहाँनेर प्रासंगिक हुन्छ । उनको धारणा रहेछ, तस्वीर तथा मूर्तिमा रामसँग सीता, महादेवसँग पार्वती र कृष्णसँग राधा भए जस्तै गौतम बुद्धसँग यशोधरा नराखिएका कारण बौद्ध समाजमा महिलालाई उचित स्थान नदिइएको हो ।

यस्ताे सुनेर जिल्लिएका बौद्ध विद्वान् प्रा.सुवर्ण शाक्य भन्छन्, “कुरा सुन्दा रुनु कि हाँस्नु हुनुपर्ने गरी यो स्तरको शिक्षा दिएर हामी कस्ता विद्वान उत्पादन गरिरहेका छौं ?”

बौद्ध समाजमा महिलाको स्थानकै कुरा गर्ने हो भने इतिहासबाटै कुरा थालौं । समाज विज्ञानमा लैंगिक समानता सम्बन्धी सवालका लागि बौद्ध अध्ययन एउटा भरपर्दो स्रोत सामग्री हुनसक्छ ।

गौतम बुद्ध (ई.पू.५६३–४८३) को समयमा समाजमा महिला र पुरुषबीच विभेद नभएको होइन, तर त्यसलाई चिर्न उनले लैंगिक समानतामा जोड दिएका थिए ।

प्राचीन भारतको तत्कालीन कोशल महाजनपदकी महारानीले छोरी जन्माएपछि दुःखी भएका राजा प्रसेनजितलाई बुद्धले छोरा सरह शिक्षा–दीक्षा दिएमा छोरी पनि योग्य भएर राजकाज चलाउन सक्ने भनी उपदेश दिएका थिए ।

तत्कालीन जैन संघमा महिलालाई प्रवेश दिइए पनि पुरुषसरह धर्मलाभ र कैवल्य (मोक्ष) प्राप्त नहुने मान्यता थियो । तर बुद्धले त्यस मान्यताका विरुद्ध महिलाले पनि समान रूपमा धर्मलाभ प्राप्त गर्न सक्ने भनी आफ्नो संघमा स्थान दिएका थिए ।

धर्म अभ्यास गरी भिक्षुहरूले जस्तै भिक्षुणीहरूले पनि अर्हत्व प्राप्त गरी उच्च पद हासिल गरेका अनेकौं दृष्टान्त बौद्ध साहित्यमा छन् । 

श्रावक, प्रत्येक र सम्यक् सम्बुद्ध गरी बुद्ध तीन किसिमका हुन्छन् । थेरवादी बौद्धहरूको आदर्श रहेको अर्हत्व प्राप्त गरी अर्हत् हुने ‘श्रावक बुद्ध’ हुन् ।

सारिपुत्र, मौद्गल्यायन, महाकश्यप लगायतका भिक्षुहरू जस्तै प्रजापति, यशोधरा, पटाचारा, भद्रा कुण्डलकेशा, कृशा गौतमी, सुन्दरी नन्दा, उत्पलवर्णा आदि भिक्षुणीहरू पनि अर्हत्व प्राप्त गरी ‘श्रावक बुद्ध’ बने । यस्तै, आफ्नै बलमा बुद्धत्व प्राप्त गरे पनि प्रचारमा नआउने ‘प्रत्येक बुद्ध’ हरू सबै पुरुष नै हुन् भन्ने आधार छैन ।

बौद्ध मान्यता अनुसार जन्म र पुनर्जन्मका क्रममा एउटा सत्व (प्राणी) ले सधैं एउटै लिङ्ग पाउँदैन । पूर्वजन्ममा गौतम बुद्ध कैयौं पटक महिलाका रूपमा र उनकी सहयात्री यशोधरा पुरुष रहेको उल्लेख पाइन्छ ।

सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) जन्मेको सातौं दिनमा दिवंगत आमा मायादेवी तुषित देवलोकमा देवपुत्रका रूपमा जन्मिएको प्रसंगबाट पनि यो बौद्ध मान्यता प्रष्ट हुन्छ ।

हामीकहाँ बौद्ध विषयवस्तुमा छिपछिपे ज्ञानकै आधारमा निष्कर्षमा पुग्ने र आफ्नै खालको धारणा बनाउने प्रवृत्ति छ । सुत्केरी यशोधरालाई छाडेर सिद्धार्थ घरबाट भागेको धारणा प्रचलित छ ।

तर, त्यो कुरा बौद्ध साहित्यसँग मेल खाँदैन । सिद्धार्थ सरसल्लाह गरेरै निस्केको स्वयं यशोधराले ‘थेरीगाथा’ ग्रन्थमा व्यक्त गरेकी छन् । उक्त ग्रन्थ अनुसार यशोधरा पनि भिक्षुणी हुन आएर अर्हत्व प्राप्त गरी श्रावक बुद्ध बनेकी थिइन् । चित्रकला वा मूर्तिकलामा अन्य पात्रसँग स्त्रीलाई राखिए पनि बुद्धसँग यशोधरा नराखिनुमा दार्शनिक अर्थ रहेको बुझ्नुपर्छ ।

अब गरौं, शैक्षिक उपाधिको गुणस्तरको कुरा । हामीकहाँ बौद्ध अध्ययन तल्लो तहबाट नभएर एकैचोटि माथिल्लो तहमा हुने गरेको छ । तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय र पछि त्रिभुवन विश्वविद्यालयमा पोस्ट–ग्राजुएट डिप्लोमा र मास्टर्स डिग्रीको पठनपाठन शुरू भयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने एकैचोटि पीएचडी (विद्यावारिधि) बाट अध्यापन शुरू गरियो । बौद्ध विषयमा विद्यावारिधि गर्न शैक्षिक पृष्ठभूमि बौद्ध विषय नै हुनु नपर्नेे व्यवस्था विद्यार्थी आकर्षित गर्न बनाइएको होला ।

तर, त्यो अभ्यास घातक रहेको कुरा त्यस प्रणालीबाट उत्पादित ‘पीएचडी’ हरूबाटै खुलस्त भएको छ ।

हामीकहाँ बौद्ध विषयवस्तुमा छिपछिपे ज्ञानकै आधारमा निष्कर्षमा पुग्ने र आफ्नै खालको धारणा बनाउने प्रवृत्ति छ । सुत्केरी यशोधरालाई छाडेर सिद्धार्थ घरबाट भागेको धारणा प्रचलित छ । तर, त्यो कुरा बौद्ध साहित्यसँग मेल खाँदैन । सिद्धार्थ सरसल्लाह गरेरै निस्केको स्वयं यशोधराले ‘थेरीगाथा’ ग्रन्थमा व्यक्त गरेकी छन् ।

सामान्यतः जुन विषयमा विद्यावारिधि गरिन्छ, व्यक्तिलाई त्यस विषयको ज्ञाता मानिन्छ । तर, लुम्बिनी बौद्ध विश्वविद्यालयमा यो बुझाइ अपवाद बनेको छ ।

पीएचडी विद्यार्थीका शोध–निर्देशकको काम आवश्यक निर्देशन दिनु मात्रै हो, तर निर्देशनबाट पार नलागेर निर्देशक आफैंले थेसिस लेखिदिने गरेको पनि पाइयो । एक शोध–निर्देशकले अन्य कुरा विद्यार्थीले लेखेको भए पनि त्यसलाई बौद्ध ‘फ्लेवर’ दिन लेखेर सहयोग गर्नुपरेको बताएका थिए ।

विद्यार्थीको थेसिस लेख्न शोध–निर्देशक अगाडि सर्नुको अन्तर्य शोध निर्देशन गरेवापत पाउने नम्बर हुनसक्छ । उक्त नम्बरले बढुवामा सघाउँछ । पीएचडीको अन्तिम चरण ‘भाइवा’ मा बाह्य शोध–निर्देशकले प्रश्न सोध्ने प्रावधान छ, तर तिनले थेसिस प्रस्तुतकर्तालाई अनुत्तीर्ण गराउन सक्ने व्यवस्था छैन ।

औपचारिकतामा सीमित त्यो भूमिकाले पनि विश्वविद्यालयको उत्पादन कस्तो निस्किरहेको छ भन्ने देखाउँछ । यस्तो शैक्षिक वातावरणले बौद्ध अध्ययनलाई अर्थहीन बनाउने पक्का छ ।

प्रतिकृया दिनुहोस