रिपोर्टमंगलबार, १७ बैशाख , २०७६

कुकुर : सुरक्षाका इमानदार ‘सारथि’

गोपाल गडतौला

४९ वर्ष अघिदेखि अनुसन्धानमा कुकुरको सेवा लिइरहेको नेपाल प्रहरीले केनाइन महाशाखालाई सातै प्रदेशमा विस्तार गर्दैछ। 

गएको चैतमा सर्वियाबाट खरीद गरिएका बेल्जियन मलिन्वा जातका छाउरा ।    तस्वीर : गाेपाल गड्ताैला

७ असोज २०७५ मा कास्कीको शुक्ला गण्डकी नगरपालिका–३ कवासेको निर्माणाधीन घरभित्र हत्या भएको अवस्थामा एक पुरुषको शव भेटियो।

हत्यारा पत्ताा लगाउन शव नजिक रहेको चप्पल र टोपी सुँघेर दौडेको प्रहरीको ‘ट्र्याकर डग’ करीब १०० मिटर परको घरभित्र पस्यो। प्रहरीका अनुसार हत्यारा त्यही घरमा अघिल्लो रात पाहुना आएका विनोद विक थिए।

१४ असोज २०७१ मा लमजुङको भोटेओडारमा परिवारका तीन जनाको हत्या गरी फरार भएका राममणि रेग्मीलाई पक्राउ गर्न बेल्जियन मलिन्वा जातिको कुकुरले सहयोग गरेको थियो। घटनास्थलमा भेटिएको हँसिया सुँघेर प्रहरीको कुकुर अभियुक्तसम्मै पुग्न सकेको थियो।

अपराध अनुसन्धानमा कुकुरबाट सहयोग पुग्ने बुझेरै २०२७ सालमा तत्कालीन प्रहरी महानिरीक्षक डीबी लामाले नेपाल प्रहरीमा कुकुर इकाइ खडा गरेका थिए । दुइटा मात्र कुकुरबाट शुरू भएको प्रहरीको त्यो इकाइ अहिले केनाइन महाशाखाको रूपमा विकसित भई पाँच ठाउँमा विस्तार भएको छ, जहाँ विभिन्न जातका ९० वटा कुकुर छन् । 

ल्याब्रोडर ।

गएको चैत दोस्रो साता नेपाल प्रहरीले अनुसन्धानमा माहिर मानिने बेल्जियन मलिन्वा जातका चार वटा छाउरा खरीद गरेको छ । सर्वियाबाट रु.१९ लाखमा खरीद गरी ल्याइएका ती पाँच महीने छाउरा अहिले ‘ट्र्याकर’ तालिममा छन् ।

केनाइन महाशाखाकी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक डा. देउती गुरुङका अनुसार यो जातको कुकुरको नाकमा सुँघ्ने कोषिका २२ करोड ५० लाखभन्दा बढी हुन्छन्, जबकि मानिसमा यस्ता कोषिका ५० लाख हाराहारी मात्र हुन्छन् ।

बेल्जियन मलिन्वा जातको कुकुर निश्चित ट्र्याकमा लगातार तीन घण्टासम्म दौडिन सक्ने भएकोले पनि प्रहरीलाई काम लिन सजिलो हुन्छ । बेल्जियन मलिन्वा भन्दा बढी घ्राण शक्ति भएको ब्लडहाउण्ड जातको कुकुर भने लगातार काममा लगाउँदा आधा घण्टामै थाक्ने भएकोले विकसित मुलुकमा पनि ट्र्याकर डग को रूपमा छरितो जीउको बेल्जियन मलिन्वा नै उपयुक्त मानिन्छ ।

औसत आयु १४ वर्षसम्म हुने गरेको यो जातको वयस्क कुकुरको तौल ३० किलोग्रामसम्म हुन्छ । 

ब्लडहाउण्ड ।

८५ प्रतिशत सफलता
नेपाल प्रहरीको केनाइन महाशाखामा हाल जर्मन सेफर्ड, ब्लडहाउण्ड, बेल्जियन मलिन्वा, गोल्डेन रिट्रिभर, ल्याब्रोडर र केही स्थानीय नश्लका समेत गरी ९० वटा कुकुर छन् । तिनलाई तालिम दिन ६६ प्रहरी खटिएका छन् ।

महाशाखाले कुकुरलाई अभियुक्त, लागूऔषध, हातहतियार, खरखजाना तथा विस्फोटक पदार्थ पत्ता लगाउने र हराएको व्यक्ति वा वस्तुको खोजी गर्ने चार किसिमका तालिम दिने गरेको छ ।

घटना भएको २४ घण्टाभित्रै तालिमप्राप्त कुकुरलाई अनुसन्धानमा खटाउँदा कम्तीमा ८६ प्रतिशतसम्म सफलता पाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा.गुरुङ बताउँछिन् । उनी भन्छिन्, “कुकुर नेपाल प्रहरीको अभिन्न अंग भइसकेको छ ।”

अनुसन्धान प्रयोजनका लागि कुकुर छनोट गर्दा उनीहरूको आनुवंशिक इतिहास सहितको तीनपुस्ते रेकर्ड हेरिन्छ । नेपालका केनल क्लबहरूले कुकुरको रेकर्ड प्रमाणित ढंगले नराख्ने हुँदा विदेशबाट खरीद गर्नु बाध्यता रहेको डा. गुरुङको भनाइ छ ।

हाल नेपाल प्रहरीमा रहेकामध्ये सबैभन्दा महँगो कुकुर रु.६ लाख ५० हजारमा खरीद गरिएको ल्याब्रोडर जातको होे ।

उमेर बढ्दै गएपछि कुकुरको स्मरण शक्ति कम हुने, ट्र्याक छोडेर अर्कोतिर जाने वा अटेरी गर्नेे हुँदा अनुसन्धानका लागि डेढ वर्षदेखि ६ वर्षसम्म उमेरका कुकुर बढी उपयुक्त हुन्छन् । तर, ल्याब्रोडर जातको कुकुरलाई भने ९ वर्षको उमेरसम्म अनुसन्धानमा खटाउन सकिने डा. गुरुङ बताउँछिन् ।

हाल धरान, हेटौंडा, धनगढी, पोखरा र कोहलपुरमा इकाइ विस्तार गरेको नेपाल प्रहरी मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रदेश–२ को ढल्केवर र प्रदेश–५ को बुटवलमा समेत इकाइ विस्तार गर्ने तयारीमा छ ।

अपराध अनुसन्धान, हराएका व्यक्तिको खोजी जस्ता काममा सहयोग गरिरहेका महाशाखाका कुकुरहरूले अतिविशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम, संसद बैठक लगायतको सुरक्षामा पनि सहयोग गरिरहेका छन् । त्यसबाहेक विभिन्न उत्सवहरूमा पनि प्रहरीका तालिमप्राप्त कुकुरहरूले कलाबाजी देखाउने गरेका छन् । 

भूकम्पपछिको खोजी तथा उद्धार 

महाभूकम्प लगत्तै भग्नावशेषमा पुरिएका मानिसको खोजीमा जर्मन सेफर्ड कुकुरका साथ खटिएका प्रहरी हवल्दार आरबी राना ।

प्रहरी हवल्दार आरबी राना भग्नावशेषमा पुरिएका व्यक्तिको उद्धारका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेसम्म रेस्क्यू नामक तालिमप्राप्त कुकुरका साथ खटिए । उनी ‘ह्याण्डलर’ रहेको जर्मन सेफर्ड जातको रेस्क्यूले मानिसहरु पुरिएका संभावित स्थानमा पुग्नासाथ सुँघेर त्यहाँ मानिस रहे/नरहेको संकेत गथ्र्यो ।

१० वर्षदेखि रेस्क्यूलाई परिचालन गरिरहेका राना भन्छन्, “भूकम्पका बेला मात्रै रेस्क्यूले पाँच ठाउँमा शव पत्ता लगाएको छ ।” दश वर्ष पुगेको रेस्क्यू अब छिट्टै थाक्न थालेको उनी बताउँछन् ।

प्रहरीले भूकम्प गएको दोस्रो दिनदेखि एक महीनासम्म उपत्यकाका विभिन्न ठाउँमा भग्नावशेषबाट घाइते र मृतकको खोजी गर्न केनाइन महाशाखाका तालिमप्राप्त जर्मन सेफर्ड कुकुरहरु परिचालन गरेको थियो ।

कुकुरले संकेत गरेपछि प्रहरीले बालाजु बाइपासस्थित सन्तोष गुरुङको घरको भग्नावशेषबाट १५ वैशाख २०७२ मा केही शव निकालेको थियो । त्यस्तै, १७, १८ र २० वैशाखमा गोंगबुबाट कुकुरकै संकेतबाट शवहरु निकाल्न सकिएको थियो ।

२४ वैशाखमा पनि असनको जुसगल्लीस्थित एउटा घरको भग्नावशेषमा शव रहेको कुकुरले संकेत गरेको थियो ।

प्रहरीले हराइरहेका पर्वतारोहीको खोजीमा पनि कुकुर परिचालन गर्छ । खोजी तथा उद्धारको तालिम पाएको कुकुरलाई मानव शरीरको गन्ध पहिचान गर्ने विशेष सीप सिकाइएको हुनाले ह्याण्डलरको आदेश पाएपछि ऊ खोजी कार्यमा लाग्ने गरेको रेस्क्यूका ह्याण्डलर आरबी राना बताउँछन् ।

प्रतिकृया दिनुहोस