पाँच वर्षपछि देखा परे आईएस नेता बग्दादी, श्रीलंका आक्रमण सिरिया हारको बदला
इस्लामिक स्टेट (आईएस) विद्रोही समूहका नाइके अबु बकर अल-बग्दादी पाँचवर्षपछि भिडियोमा देखा परेका छन् ।
आइएसको अल–पुक्र्वान मिडियान नेटवर्कमा अल–बग्दादीकाे १८ मिनेटकाे भिडियाे सार्वजनिक भएकाे छ ।
भिडियाेमा श्रीलंकामा भएको शृङ्खलाबद्ध विस्फोटनको जिम्मा लिँदै उनले सिरियामा मारिएकाहरूको बदलास्वरूप आफूहरूले आठ देशमा दर्जनौँ आक्रमण गरेको बताएका छन्।
आइएसको नियन्त्रणको अन्तिम क्षेत्र बाघुजमा भएको हार स्वीकार गर्दै अल–बग्दादीले त्यसको बदला लिएर छोड्ने चेतावनी दिएका छन् ।
यस अघि सन् २०१४ मा इराकी सहर मोसुलमा क्यालिफेट घोषणा गर्ने क्रममा बग्दादी देखिएका थिए।
तर रुस र इराकले हवाई आक्रमणमा अल बग्दादी सम्भवत: मारिइसकेको बताइएको थियो। अमेरिकाले भने सन् २०१७ मा भएको एक आक्रमणमा उनी गम्भीर घाइते भएको बताएको थियो।
अल–बग्दादीले जिहाद मात्रै समाधान रहेको भन्दै बुर्किना फासो र मालीका बिद्रोही समूहसँग सहकार्य रहेको बताएका छन् । यस्तै सुडान र अल्जेरियामा भइरहेको प्रदर्शनका बारेमा पनि उनले कुरा गरेका छन् ।
१८ मिनेट लामो भिडियोको अन्त्यतिर श्रीलंकामा भएको आक्रमण सम्बन्धी अंशमा अडियो मात्रै रहेकाे छ ।
अमेरिकी अधिकारीहरूले भने सो भिडिओ सन्देशको सत्यताबारे जाँच भइरहेको बताएका बीबीसीले जनाएको छ ।
अबु बकर अल-बग्दादीको जन्म सन् १९७१ मा इराकको समारामा भएको हो। बाल्यकालमा उनको रुचि कुरान वाचन र धार्मिक विधानमा भएको बताइन्छ।
पछि सद्दाम युनिभर्सिटीमा कुरानसम्बन्धी विषयमा स्नातकोत्तर तथा विद्यावारिधि गर्दै गर्दा उनी कट्टरपन्थी इस्लामिक समूहहरूमा संलग्न भए।
उनी इराकमा अल कायदामा पनि संलग्न भए। उनी सन् २०१४ देखि सार्वजनिक रूपमा देखा परेका थिएनन्।