रिपोर्टसोमबार, १६ बैशाख , २०७६

प्रदूषणले बढायो क्यान्सर

हिमालखबर

विषाक्त हावाका कारण नागरिकको स्वास्थ्य जोखिममा परिरहँदा वातावरणीय स्वच्छताको मुद्दा सरकारको प्राथमिकतामा पर्न सकेको छैन।

 

बाबुराम विश्वकर्मा

विश्व आर्थिक मञ्चसँगको सहकार्यमा अमेरिकाको यल विश्वविद्यालय र कोलम्बिया विश्वविद्यालयले सन् २०१८ मा प्रकाशन गरेको ग्लोबल इन्भायरन्मेन्ट परफरमेन्स इन्डेक्स ले नेपालको वायुुलाई अत्यधिक दूषितको सूचीमा राखेको थियो ।

हावाको गुणस्तर परीक्षण गरिएका १८० देशमध्ये नेपाल, भारत, बाङ्लादेश, कंगो र बुरुण्डी अत्यधिक दूषित हावा भएका पाँच देशको सूचीमा परेका थिए ।

यल र कोलम्बिया विश्वविद्यालयको अध्ययनमा सबैभन्दा स्वच्छ हावा भएका पाँच देशको सूचीमा स्विट्जरल्याण्ड, फ्रान्स, डेनमार्क, माल्टा र स्विडेन थिए । त्यसपछिका अरू अध्ययनले पनि नेपालीका लागि स्वच्छ हावा दुुर्लभ भइसकेको देखाएका छन् ।

चार वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले गरेको अध्ययन प्रतिवेदनमा काठमाडौंको हावा अत्यधिक प्रदूषित भएकोले प्रभातकालीन हिंडडुल नगर्न उपत्यकावासीलाई सुझाइएको थियो।

अहिलेसम्म दूषित हावाले नेपालीको जनस्वास्थ्यमा पारेको असरबारे विस्तृत अध्ययन भएको छैन तर, २५ चैत २०७५ मा एनएचआरसीले नै सार्वजनिक गरेका स्वास्थ्य सम्बन्धी दुुई वटा अध्ययन प्रतिवेदनले भने काठमाडौंको बढ्दो प्रदूषणले जनस्वास्थ्यमा गहिरो प्रभाव पारेको संकेत गरेका छन् ।

त्यसै पनि प्रदूषण र दूषित हावाको प्रत्यक्ष सम्बन्ध श्वासप्रश्वास र फोक्सोको रोगसँग हुन्छ । एनएचआरसी ले काठमाडौं उपत्यकामा बिरामी भएर अस्पताल धाउनेमध्ये श्वासप्रश्वासका बिरामीहरूको संख्या सबैभन्दा बढी रहेको तथ्य सार्वजनिक गरेको छ ।

श्वासप्रश्वासका रोगीको संख्याले पछिल्लो समय मुुटुु, मधुमेह, मिर्गाैला आदि रोगका बिरामीको संख्यालाई उछिनेको छ । त्यस्तै काठमाडौं उपत्यकामा फोक्सोको क्यान्सरका रोगी पनि बढिरहेका छन् ।

श्वासप्रश्वास र फोक्सोको क्यान्सरको बढोत्तरी संयोग मात्र होइन । हावाको स्वच्छता र प्रदूषणमुुक्त शहर विना न श्वासप्रश्वासका बिरामी कम हुन्छन्, न फोक्सोको क्यान्सरका रोगी घट्छन् ।

काठमाडौंका लागि स्वच्छ हावा र सफा पानी दुुर्लभ भइसकेको छ । काठमाडौं मात्र होइन देशका अन्य भागमा समेत प्रदूषणका प्रभावहरू देखिइरहँदा मानव जीवनसँग प्रत्यक्ष जोडिएको यो मुुद्दा सरकारको प्राथमिकतामा नपर्नु उदेकलाग्दो छ ।

वातावरणीय प्रदूषणले मानव जीवनमा जोखिम र दैनिक जीवनयापनमा जटिलता निम्त्याएको मात्र छैन, जनस्वास्थ्यमा राज्य र व्यक्तिको खर्च समेत बढाउँदो छ ।

भत्काउने र बनाउने टुंगो नभएका सडकमा थोत्रा गाडीको भीड, मेलम्ची खानेपानी आयोजनाले सडकमा गरेको बेथिति, कालो धुवाँ फालिरहेका इँटाभट्टा र बाहिरबाट उडेर आइरहेको प्रदूषण नै उपत्यकामा दूषित हावाका कारक हुन् ।

हावामा रहेको प्रदूषक पीएम २.५ कणहरूलाई मान्छेको नाकभित्रको रौंले छेक्न/रोक्न सक्दैन । आँखाले देख्न नसकिने यस्ता विषाक्त कण नाकबाट सीधै फोक्सोमा पुुगेकै कारण शहरमा श्वासप्रश्वास र फोक्सोको क्यान्सरका बिरामी बढेको चिकित्सकहरू बताउँछन् ।

राजधानीमा धेरैले प्रदूषणको असर कम गर्न सर्जिकल मास्क वा अन्य सामान्य खालका मास्कको प्रयोग गरिरहेको देखिन्छ तर, विज्ञहरूले धेरै अघिदेखि उपत्यकाको प्रदूषणबाट बच्न एन नाइन्टी मास्क प्रयोग गर्न भनिरहेका छन् । त्यसैले हुनुपर्छ, काठमाडौंमा मास्कको खपत जति नै बढे पनि फोक्सो र श्वासप्रश्वासका रोगीको संख्या घट्नु साटो बढिरहेको छ ।

भत्काउने र बनाउने टुंगो नभएका सडकमा थोत्रा गाडीको भीड, मेलम्ची खानेपानी आयोजनाले सडकमा गरेको बेथिति, कालो धुवाँ फालिरहेका इँटाभट्टा र बाहिरबाट उडेर आइरहेको प्रदूषण नै उपत्यकामा दूषित हावाका कारक हुन् ।

प्रदूषण कम गर्न र पर्यावरणीय स्वच्छता कायम राख्न संघीय, स्थानीय र प्रदेश सरकारबाट सार्थक शुरूआत भएको छैन । काठमाडौं महानगरले इटालीबाट झिकाएका ब्रुमरले केही हदसम्म धूलो बढारे पनि फोक्सोको क्यान्सर बढाउने घातक हावा सोहोर्न सम्भव छैन । त्यसैले सबै तहका सरकारको प्राथमिकतामा पर्यावरणीय स्वच्छता पर्नुुपर्छ ।

एनएचआरसी ले सन् २०१८ को जनवरीदेखि मे महीनासम्म गरेको अध्ययनले काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै क्यान्सरका ७०२ जना नयाँ बिरामी फेला पारेको छ । त्यसमा पनि फोक्सोको क्यान्सरका रोगी सबैभन्दा बढी १५.८ प्रतिशत छन् (हे. इन्फो) ।

दोस्रोमा मुख र ओठको क्यान्सरका रोगी देखिएका छन् भने पुुरुषको आन्द्रा तथा मलद्वारको क्यान्सर उपत्यकामा तेस्रो स्थानमा छ ।

महिलाहरूमा चाहिं स्तन क्यान्सर अझैं पनि भयावह छ । दोस्रोमा फोक्सो र तेस्रोमा पाठेघरको क्यान्सरबाट नेपाली महिला पीडित छन् ।

जातिगत रूपमा हेर्दा काठमाडौंमा क्यान्सरबाट सबैभन्दा बढी पीडित नेवार समुदायका (३९ प्रतिशत) छन् । काठमाडौं उपत्यकामा क्यान्सरका कुल बिरामीमध्ये बाहुन क्षेत्री ३७ प्रतिशत र जनजाति १९ प्रतिशत छन् ।

यो प्रकोपबाट जोगिन पर्यावरणीय स्वच्छता पहिलो र आखिरी शर्त हो । त्यसपछि जीवनशैली, खानपान आदिका कुरा पर्छन् ।

प्रतिकृया दिनुहोस