टिप्पणीआइतबार, १५ बैशाख , २०७६

‘आफैं मनमगन...!’

शेखर खरेल

नागरिकका दैनन्दिनका आवश्यकता र सामाजिक न्यायलाई बेवास्ता गरेर तिलस्मी सपना बाँडिरहेका प्रधानमन्त्री केपी ओली महत्वपूर्ण कुरामा चुकिरहेका छन्।

 

वैशाखको दोस्रो साता देशमा दुई महत्वपूर्ण घटना स्मरण गरिए । २०६२/६३ को जनआन्दोलनको सफलतापछि ११ वैशाखलाई लोकतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ । विगतमा लोकतन्त्र दिवसमा औपचारिक रूपमा धेरै कार्यक्रम हुने गर्थे । तर, यस वर्ष शायद विदा कटौती गरिएकाले होला, यस दिवसप्रति उत्साह देखिएन ।

त्यस्तै, १२ वैशाखमा संवत् २०७२ को महाभूकम्पको सम्झना गरियो । तर, हामीले यत्रो विपत् पछि पनि पाठ नसिकेको र सुरक्षित आवासबारे चेतना नपलाएको देख्दा चार वर्षअघिको भूकम्प समेत नेपालीले लगभग बिर्सिइसके भन्दा हुन्छ ।

भूकम्पबाट लडेका धेरै संरचना अझैं उठ्न सकेका छैनन् । जेजति उठेका छन्, तीमध्ये अधिकांशले आफ्नो मौलिकता गुमाएका छन् । उदाहरणका लागि, महाभूकम्पको केन्द्रविन्दु गोरखाका बारपाक र लाप्राक जस्ता स्लेट र ढुंगाबाट बनेका सुन्दर बस्ती नवनिर्माणको नाममा सिमेन्ट र जस्तापाताको प्रयोगले कुरुप बनेका छन् । पुनर्निर्माण सम्बन्धी सरकारको अनुदार मापदण्डका कारण ठूलो संख्याका भूकम्पपीडित वासस्थान पुनर्निर्माण गर्न सक्ने अवस्थामा छैनन् ।

भूकम्पपछिको पुनर्निर्माण हाम्रा निम्ति एउटा गुमाएको मौका बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विगत चार वर्षमा पुनर्निर्माणमा उल्लेखनीय प्रगति गरेको आँकडा सार्वजनिक गरेको छ ।

तर, पुनर्निर्माणको लक्ष्य कुन हदसम्म हासिल भएको छ भनेर हेर्न दूरदराजसम्म पुग्नै पर्दैन, प्राधिकरण छेउकै देशको मुख्य प्रशासनिक भवन सिंहदरबार हेरे पुग्छ । स्थापनादेखि नै राजनीतिक हस्तक्षेप झेल्दैं आएको प्राधिकरण अकर्मण्य निकाय सावित भइसकेको छ । मित्रराष्ट्रहरूका दानदातव्य र प्राविधिक सहयोगका कारण केही सम्पदाले भने चोला फेरेका छन् ।

महाभूकम्प यताको चार वर्षमध्येमा प्रम ओलीले आफ्नो अघिल्लो कार्यकालको नौ महीना र चालु दोस्रो कार्यकालको चौध महीना जोड्दा लगभग आधा समय सरकारको नेतृत्व गरिसकेका छन् । यस हिसाबले पनि पुनर्निर्माणको असफलताको आधा हिस्सेदारी उनको हुन जान्छ । तर, उनी आफ्नो समृद्धिको अधिमूल्यनमै मग्न छन् ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको ललितपुरको ऐतिहासिक बस्ती बुङ्मती अझैं उठ्न सकेको छैन । यो स्थितिमा प्रम ओलीले नै पुनर्निर्माणका सबै काम अबको एक वर्षभित्र सकिने दाबी गरेका छन् ।

महाभूकम्प यताको चार वर्षमध्येमा प्रम ओलीले आफ्नो अघिल्लो कार्यकालको नौ महीना र चालु दोस्रो कार्यकालको चौध महीना जोड्दा लगभग आधा समय सरकारको नेतृत्व गरिसकेका छन् । यस हिसाबले पनि पुनर्निर्माणको असफलताको आधा हिस्सेदारी उनको हुन जान्छ । तर, उनी आफ्नो समृद्धिको अधिमूल्यनमै मग्न छन् ।

२०७२ सालमा सत्ता सम्हाल्दा प्रम ओलीले ठूला सपना देखाए पनि नाकाबन्दी र सत्ता साझेदार दलबीचको रस्साकस्सीका कारण प्रतिकूल परिस्थिति हुँदा उनीप्रति जनताको गुनासो रहेन । तर, दुईतिहाइको बहुमतका साथ दोस्रो सत्तारोहण पछि उनीबाट धेरै अपेक्षा गरियो । उनी स्वयंले देखाएको सपना रेल र पानीजहाजका लागि कार्यालय खडा गरिए ।

तर, यस बीचमा बाहिरिएका सूचनाले पानीजहाजको सपना मृगतृष्णा मात्र हुने देखिएको छ । गंगानदी हुँदै नेपालको नारायणीसम्म पानीजहाज ल्याइदिने आश्वासन दिएको भारतले यो कार्य प्राविधिक रूपमा संभव नदेखिएको बताइसकेको छ । त्यसैगरी सन् २०२० सम्म सिगात्सेबाट केरुङसम्म रेल ल्याउने चीनको योजना पनि सन् २०२५ सम्म धकेलिएको छ ।

अर्थात्, प्रम ओलीको कार्यकालमा रेल र पानीजहाज दुवै नेपालको सीमासम्म आइपुग्ने छैनन् ।

प्रम ओलीको कार्यकालले एक वर्ष पूरा गरिसकेकोले उनको कार्यसम्पादनको समीक्षा हुन जरूरी छ । दुईतिहाइको बहुमत र पार्टीमा बलियो पकडका साथ सरकार हाँकेका प्रम ओलीले गर्न सक्ने कुरा धेरै थिए र छन् ।

तर, समृद्धिको तिलस्मी संकथनमा मग्न उनी जनताका स–साना तर महत्वपूर्ण आवश्यकताप्रति उदासीन देखिन्छन् । बरू झिनामसिना कुरालाई ठूलो उपलब्धिका रूपमा अथ्र्याउँदै आत्मरतिमा मग्न छन् । उदाहरणका लागि, नेपाली स्याटलाइट वानलाई लिऊँ ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का वैज्ञानिकद्वय आभास मास्के र हरिराम श्रेष्ठले अनुसन्धानका क्रममा एउटा सानो स्याटलाइट निर्माण गरे, जसलाई गएको ५ वैशाखमा अमेरिकाको भर्जिनियास्थित नासा को रकेट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरियो ।

नेपाली वैज्ञानिकहरूका अनुसन्धानको उपज भए पनि यो स्याटलाइट न देश भित्रै बनाइएको थियो, न त यहींबाट प्रक्षेपण गरिएको थियो । निर्माण, प्रक्षेपण र डाटा रिसिभ तीनै कुरामा परनिर्भर देखिएको यस घटनालाई प्रम ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरिसकेको भन्दै आत्मप्रशंसा गरे ।

मसिना घटनालाई विराट उपलब्धिका रूपमा व्याख्या गर्ने प्रम ओलीको सरकारबाट महिला, भूमिहीन किसान, सीमान्तकृत समुदाय र दलितको जीवनस्तर उकास्ने दिशामा ठोस पहल भएको देखिंदैन । उनी जनताका दैनन्दिनका आवश्यकताप्रति नै चुकेका छन् ।

गएको असोजमै काठमाडौंमा पानी आइपुग्ने भन्ने बहुप्रचारित मेलम्ची खानेपानी आयोजना इटालियन ठेकेदार कम्पनी बीचमै हिंडेपछि अलपत्र छ । खानेपानी मन्त्रालयका मन्त्री र सचिवसँग कमिसनको कुरा मिल्न नसकेपछि कम्पनी भागेको सुन्नमा आएको छ । तर, प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने औचित्य देखेका छैनन् । बरू, समृद्धिको संकथनका बीचमा अनियमितता र जालसाजीका प्रकरण सार्वजनिक भइरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार साँधैको सरकारी जग्गा भूमाफियाको खुराफातमा व्यक्तिको नाममा नामसारी गरिएको छ, जसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नै मुछिएका छन् ।

स्वास्थ्यले साथ दिएसम्म र पार्टीभित्रको साथ पाएसम्म प्रम ओलीले बाँकी झ्न्डै चार वर्ष शासन गर्नेछन् । आशा गरौं, उनले आगामी समय कुराभन्दा पनि काम गरेर सार्थक बनाउने छन् । 

-शेखर खरेलको यो टिप्पणी १५–२१ वैशाख २०७६ को ‘हिमाल खबरपत्रिका’मा प्रकाशित छ । खबरपत्रिकामा टिप्पणी शीर्षक ‘ओइलाउँदै समृद्धिका सपना’ रहेको छ ।

प्रतिकृया दिनुहोस