बैंगलोरलाई हराउँदै सन्दीपको दिल्ली प्लेअफ चरणमा
सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफ चरण (अन्तिम चार)मा मा पुगेको छ ।
दिल्ली आइतबार रोयल च्यालेञ्जर्स बैंगलोरलाई १६ रनले हराउँदै चेन्नाई सुपर किंग्ससँगै प्लेअफमा पुग्ने दोस्रो टिम बन्न पुगेको छ ।
सन् २०१२ पछि दिल्ली पहिलोपटक आइपीएलको प्लेअफ चरणमा पुगेको हो ।
जितसँगै दिल्ली अंकतालिकामा चेन्नाई सुपर किंग्सलाई पछि पार्दै पहिलो स्थानमा पुगेको छ । दिल्लीले १२ खेलमा ८ जीत हासिल गर्दै १६ अंक प्राप्त गरेको छ ।
नेपाली युवा स्पिनर सन्दीपका लागि आजको खेल बिर्सनलायक रह्यो । उनी पहिलोपल्ट विकेटविहीन रहे ।
सन्दीपले ३ ओभर बलिङ गर्दै विना कुनै विकेट ३६ रन दिए, जसमा २ छक्का र ३ चौका छन् ।
सन्दीपले पञ्जाबविरुद्धको अघिल्लो खेलमा केएल राहुल, क्रिस गेल र साम कुरानको विकेट लिएका थिए ।
सन्दीपले ६ खेलमा ८ विकेट लिइसकेका छन् ।
टस जित्दैं पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको नोक्सानमा १८७ रन बनाएको थियो ।
जवाफमा बैंगलोर ६ विकेटको क्षतिमा १७१ मात्र बनाउन सक्यो ।