ब्लगआइतबार, १५ बैशाख , २०७६

अन्तरिक्ष र धर्ती

कनकमणि दीक्षित

गिरीश गिरीले माथि हेर्दै गर्दा अमेरिकी भू–उपग्रह तल नियाल्दै थियो, त्यहीबेला एउटा गजबको सन्जोग जुर्न पुग्यो !

२६ मंसीर २०७५, बुधबार बिहान करीब ९ः३० बजे । पत्रकार/लेखक गिरीश गिरी सिमराबाट वीरगञ्जतर्फ जाँदैथिए । जितपुर पुगेका उनले उत्तरपूर्व दिशातर्फ आकाशमा घुमौरो दुइटा रेखा देखे, तस्वीर खिचिहाले ।

उत्ति नै बेला जब उनी आकाशतर्फ हेर्दैथिए, अमेरिकी अन्तरिक्ष निकाय नासाको भू–उपग्रह नेपाली भूभाग माथि पुग्यो । स्याटलाइटले खिच्यो अनि नासाले ‘पृथ्वी अवलोकन डेटा र सूचना प्रणाली’ (ई.ओ.एस्.डी.आई.एस्.) मार्फत तीन घण्टाभित्रै ती तस्वीर आफ्नो वेबसाइटमा राखिहाल्यो ।

मैले भोलिपल्ट बिहान अन्तरिक्षबाट लिइएको त्यो तस्वीर नासाको वेबसाइटमा देखें । अक्सर जमीन या बादल मात्र देखिने स्याटलाइटमा ती दुई घुमाउरो रेखा पनि देखें ।

तस्वीरः नासा (पहिलो), गिरीश गिरी (दोस्रो) ।

हवाई उडानको चापले काठमाडौं उत्रन लामबद्ध यात्रुवाहक जेटहरू वीरगञ्ज–हेटौंडा क्षेत्रमाथि ‘होल्ड’ गर्ने गर्छन् । र, हवाईजहाज धेरै उँचाइमा छ भने मौसम र तापक्रम अनुसार उसको इन्जिनबाट निस्कने तातो हावा चिसिएर बरफ बन्दछ, जुन धर्से बादलको रूपमा जमीनबाट देखिन्छ — ‘कन्डेन्सेशन् ट्रेल’ अर्थात् छोटकरीमा ‘कन्ट्रेल’ । गिरीशको तस्वीर त्यही कन्ट्रेलकै थियो ।

नासाको त्यो तस्वीर मैले २७ मंसीर बिहान ७ः४८ बजे ट्विटरमा राखें । यतिसम्म कुरो साधारण नै थियो । तर १०ः१० बजे नपुग्दै गिरीशले आफूले खिचेको उक्त तस्वीर मेरो ट्विटरमा ‘रिप्लाई’ गर्दै हाले ।

ट्विटरको यो क्रिया–शृंखलामा केही अनुपम सन्जोग देखा पर्दछन्, जसले मलाई आजैसम्म रोमाञ्चित पारेको छ । पहिलो — नासाको भू–उपग्रहले त्यतिबेला नै तस्वीर खिच्न पुग्यो, जब जेट हवाईजहाजले फालेको कन्ट्रेल विलाइसकेको थिएन ।

दोस्रो — नासाले हरेक दिन अघिल्लो दिनको तस्वीर फेरेर नयाँ तस्वीर राख्ने गरेकोमा मैले साइटबाट २७ गते नयाँ तस्वीर राख्नु अघि नै हेर्न पुगें ।

नेपालको मध्यभागको कुनै साधारण ‘स्याटलाइट इमेज’ भएको भए धेरै चासोको विषय हुने थिएन, तर कन्ट्रेलले मेरो ध्यान तान्यो । तेस्रो चाहिं २६ गते गिरीशले कन्ट्रेल देखेनन् मात्र, तस्वीर खिचे र भोलिपल्टै मेरो ट्विटको प्रत्युत्तरमा हाल्न पनि भ्याए ।

तस्वीरमा दुई कन्ट्रेल प्रष्ट देखिन्छन् तर तेस्रो कन्ट्रेल भने धेरै पातलो देखिन्छ । यी एउटै हवाईजहाजले बनाएका हुनसक्छन् वा एकभन्दा बढीले पनि । ‘फ्लाइटरेडार’ अथवा अरु कुनै आई–टी सेवाको प्रयोग गरेर त्यो समय कुन एअरलाइन्स्‌काे जहाज वीरगञ्ज–हेटौंडा माथि घुमिरहेथ्यो, पत्ता लगाउन सकिन्छ ।

जब हवाईजहाज महादेवपट्टी (पर्सा) हुँदै नेपाली भू–भाग छिर्दछ, सबैभन्दा बाक्लो कन्ट्रेल शुरु हुन्छ । र, निजगढसम्म पुगेर कन्ट्रेल बायाँतर्फ चक्कर लगाउँदै उत्तर अनि पश्चिम र दक्षिण लाग्दछ । गढीमाईको माथिसम्म आइपुग्दा कन्ट्रेल करीब करीब विलाउँछ ।

अर्को उत्सुकता जगाउने प्रसङ्ग के भने, त्यो बाक्लो कन्ट्रेलको छायाँ धर्तीमा देखिन्छ । रेखाका उत्तरपट्टिको छायाँ हेटौंडा शहरसम्म पुगेको हामी देख्छौं । तस्वीर खिचेको समय, सूर्यको ‘पोजिशन्’ तथा छायाँको दिशा, यी तीन चिज मिलाएर हवाईजहाजको उँचाइ समेत जान्न सकिन्छ ।

यतिभन्दा गहिराइमा जान मेरो क्षमताले दिएन । तर आजैसम्म म यसकारण उत्साहित छु कि कुन सन्जोगले २६ मंसीरमा भू–उपग्रहले खिचेको त्यो तस्वीर २७ गते देखें, अपलोड गरें, र थाहा पाएँ कि मैले भू–उपग्रहको आँखाले अन्तरिक्षबाट देखेको ‘इमेज’ पेश गर्दा जमीनबाट गिरीशले पनि देखेका रहेछन् ।

यो सानो प्रसंगबाट मैले बुझेको चाहिं — वरिपरि हेर्नु, देख्नुपर्ने देख्नु, टिपिहाल्नु अथवा खिचिहाल्नु, जो गिरीशले गरे ।

प्रतिकृया दिनुहोस