रिपोर्टआइतबार, १५ बैशाख , २०७६

‘सफल’ प्रतियोगिताका भ्वाङैभ्वाङ

निरञ्जन राजवंशी

 

खेल पूर्वाधार निर्माण चिन्ताको विषय बनेको आठौं बृहत् राष्ट्रिय खेलकुदमा चुस्त व्यवस्थापनको अभावमा खेलाडी नै उपेक्षामा पर्दा प्रतियोगिताकै औचित्यमा प्रश्न उठेको छ। 

आठौं राष्ट्रिय खेलकुदको समापन समारोह

खेलकुदको विकासमा नियमित प्रतियोगिता आवश्यक हुन्छ । यही कारण देशले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, ठूला–साना राष्ट्रिय प्रतियोगिताको आयोजना योजनाबनाएर आफ्नो हैसियत अनुसार गर्छ ।

झन्डैसात दशकको इतिहास बोकेको नेपाली खेलकुदमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको थालनी समग्र खेल क्षेत्रलाई अगाडि बढाउने महत्वपूर्ण कदम थियो । २०३८ सालदेखि शुरु बृहत् राष्ट्रिय खेलकुदले ३७ वर्ष पार गर्दासम्म भिन्न उतारचढाव भोगेको छ ।

खेलका भौतिक पूर्वाधार राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्रममै जोडिन्छन् । राष्ट्रिय खेलकुदको झन्डै चार दशकको इतिहासमा जम्मा आठ संस्करण मात्र हुँदा खेल पूर्वाधारमा विगतको नियति अझै कायमै छ ।

प्रदेश–५ को नेपालगञ्जमा ५–११ वैशाखमा आयोजित आठौं संस्करणसम्म आइपुग्दा खेल पूर्वाधार निर्माणकै वरिपरि घुम्न पुग्यो, राष्ट्रिय खेलकुद।

प्रतियोगिताको उद्घाटन भएर खेलहरू भइरहँदा पूर्वाधार निर्माणको चटारोले त छाडेन नै, आयोजनाको भद्रगोल व्यवस्थापन, बजेट अभाव, सम्बद्ध खेल व्यवस्थापकहरूको मनपरी र राजनीतिक चलखेल जस्ता समस्या पनि देखिए । यी विभिन्न कारण र प्रतिक्रियाको असरस्वरूप प्रत्यक्ष मार विगतमा झैं खेलाडीहरूले खेप्नुपर्‍यो ।

खेलाडीका दुःख

कुनै पनि प्रतियोगिताको केन्द्रमा खेलाडीहरू नै हुन्छन् । तर, आयोजनाको व्यवस्थापन चुस्त नहुँदा तिनै खेलाडीले समस्या खेप्छन् र उनीहरूको प्रदर्शनमा असर पर्छ ।

प्रतियोगिताको आठौं संस्करणमा शूटिङ खेलाडी कृष्णा थापाले खेल्ने समयसम्म पनि बन्दूक पाएकी थिइनन् । जिम्न्यास्टिक्सको दुई स्वर्ण पदकका खेल समेत खेल सामग्री अभावकै कारण हुन सकेनन् । कतिपय खेलाडीहरूले छनोट भएर पनि प्रतियोगितामा खेल्न पाएनन् ।

भारोत्तोलनकी पल्लवी चौधरी प्रतियोगिताको सूचीमा नाम नहुँदा नेपालगञ्ज पुगेर प्रतिस्पर्धा नगरी फर्किनुपर्‍यो । पहिले मंसीरमा आयोजना गर्ने तय भएको प्रतियोगिताको मिति नेपालगञ्जमा प्रचण्ड गर्मी हुने वैशाखमा सार्दा पनि सबै खेल पूर्वाधार तयार भएनन् ।

जसका कारण खेलाडीहरूले मुख्य खेलस्थल नेपालगञ्ज रंगशालामा खेल्न पाएनन् । खेल हुने दिनसम्म तयार पार्ने गरी हतारहतार काम गरिए पनि पौडीपोखरी त  निर्माण हुनै सकेन । अन्य थुप्रै खेल आधा–अपुरो पूर्वाधारमा जेनतेन सम्पन्न गरियो । 

तयारी खेलस्थलमा पनि समयमा खेल हुने संयोग थोरै खेलले मात्र पाए । “जे जस्तो असुविधा भए पनि अन्तिममा सम्झौता गर्नुपर्ने त खेलाडीहरूले नै हो”, जुडोकी प्रशिक्षक देवु थापा भन्छिन्, “खेलाडीसँग अरु विकल्प हुने कुरै भएन ।” 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीतर्फ सबै १२ इभेन्ट्समा स्वर्ण पदक विजेता गौरिका सिंह ।       तस्वीर : विकास कार्की

उद्घाटन समारोह सम्पन्न हुनासाथ आयोजकहरूले प्रतियोगिता सफल भएको भन्दै खुशी मनाएका थिए । जसोतसो प्रतियोगिता पार लगाउने उद्देश्यमा रहेका उनीहरूका लागि खेलाडी र चुस्त व्यवस्थापन गौण विषय बने ।

देशका प्रतिभाशाली खेलाडीहरूको जमघट हुने प्रतियोगितामा कतिपय खेल राष्ट्रियस्तरको हुन सकेन । अझ, आयोजकहरूको राजनीतिक चाहना पूरा गर्ने क्रममा भित्री गाउँमा खेल सञ्चालन गरिंदा खेलाडीहरूले कष्ट खेप्नुपरेको थियो ।

प्रतियोगितामा कुल ३५ खेलमा ५ हजार २०० भन्दा बढी खेलाडी सहभागी थिए । आयोजनाको अस्तव्यस्तताले उनीहरूको प्रदर्शनमा असर नपर्ने कुरै भएन । कतिसम्म गम्भीर अवस्था देखियो भने, संभावना भएका खेलाडीहरू पदकविहीन बन्ने अवस्था समेत आयो ।

गम्भीर किन भने, आठौं राष्ट्रिय खेलकुद सन् २०१९ को डिसेम्बरमा हुने १३‌औं दक्षिण एशियाली खेलकुद (साग) को छनोट प्रतिस्पर्धा समेत हो । यसले प्रतियोगिताको व्यवस्थापन राम्रो नहुँदा राम्रा खेलाडी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा वञ्चित हुन सक्छन् भन्ने पाठको रूपमा पनि लिनुपर्ने देखाउँछ । 

आयोजकको संघर्ष

प्रत्येक दुई वर्षमा फरक क्षेत्रमा आयोजना गर्ने उद्देश्य राखिएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपालि निर्धारित समयमै भयो । ३३ वर्षको अन्तरालमा भएको यो उपलब्धि आठौं संस्करणको सफलता हो ।

आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संघर्ष प्रतियोगिताको पूर्वाधार निर्माण र खेल सञ्चालनका लागि सरकारसँग बजेट माग गर्नेदेखि नै शुरु हुन्छ । एकातिर, मागेजति बजेट सरकारले दिंदैन, अर्कातिर छुट्याइएको बजेट समयमा आउँदैन । जसका कारण निर्माण कार्यमा ढिलाइ हुने र प्रतियोगिता नै नहुने हो कि भन्ने अन्योल बढ्छ । आठौं संस्करणमा पनि विगतकै त्यही कथा दोहोरियो ।

प्रतियोगिताको उद्घाटन र समापन समारोहका लागि आवश्यक भीआईपी प्यारापेट सहितको रंगशाला निर्माण प्रदेश–५ को चुनौती बनेको थियो । समयमा बजेट नआउँदा अन्तिम समयमा हतारहतार निर्माण थालिएको प्यारापेटमा उद्घाटनको दिनसम्म पनि धमाधम काम भइरहेको थियो ।

यही कुराले अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा खेल संरचनाहरू अपुरो भएको आयोजक अधिकारीले भन्ने ठाउँ पाएका थिए । पूर्ण बजेट नभए पनि निर्धारित समयमै खेल सञ्चालन गर्ने आयोजकको अठोट भने गजबकै थियो ।

अन्य शीर्षकको बजेट तानतुन पारेर भए पनि कम्तीमा खेल सञ्चालन गर्न मिल्ने गरी खेलस्थल तयार पारिनु साहसिक पक्ष नै थियो । राखेपको प्रशासन विभागका प्रमुख वासुदेव आचार्य भन्छन्, “अझै पनि प्रतियोगिता सञ्चालनतर्फ रु.११ करोड आउन बाँकी नै छ ।”

खेल पहिले कि पूर्वाधार !

राष्ट्रिय खेलकुद आयोजनामा एउटा गम्भीर प्रश्न पैदा भएको छ– खेल पूर्वाधार तयार पारेर प्रतियोगिता गर्ने कि राष्ट्रिय खेलकै लागि पूर्वाधार बनाउने ? राखेपका सदस्य–सचिव केशवकुमार विष्ट देश अनुसारको भेष भन्दै राष्ट्रिय खेलकुदको नाममा मात्र पूर्वाधार निर्माण सम्भव देख्छन् । “अन्य बेला सरकारबाट खेल पूर्वाधार निर्माणको बजेट पाउन असंभव हुन्छ, नेपाली खेलकुदको विडम्बना नै यही हो”, विष्ट भन्छन् ।

तर, अन्तिम समयमा हतारहतार प्रतियोगिता सञ्चालन गरिंदा मुख्य दुई जोखिम निम्तिन्छन् । पहिलो, राष्ट्रिय खेलकुदका लागि पूर्वाधार बनाउन प्राप्त हुने रु.१ अर्ब बजेटमा कमिशनको खेल र अनियमितता हुनसक्छ ।

दोस्रो, हतारमा खेल सञ्चालन गरिंदा खेलाडीहरूको जिल्ला छनोटदेखि प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितासम्मको छनोट प्रक्रिया, खेलाडीहरूको संख्यादेखि दैनिक भत्ता वितरण, आवास, खेल सामग्री, पोशाक खरीदसम्ममा ‘आर्थिक चलखेल’ ले प्रश्रय पाउँछ ।   

प्रतियोगिता सकियो, काम सकिएन : नेपालगञ्जमा निर्माणधीन स्वीमिङ्ग पुल ।

यसबाहेक राखेपभित्रको राजनीतिका कारण पनि राष्ट्रिय खेलकुदको आयोजना अन्योलमा पर्छ । यस पटक राखेपका सदस्य–सचिव विष्टको कार्यकालमा आठौं संस्करणको प्रतियोगिता हुन नदिन परिषद्भित्रैबाट जोडबल भएको थियो ।

यसअघि विराटनगरमा भएको सातौं प्रतियोगिता विष्टकै कार्यकालमा भएको थियो । आउँदो असारमा कार्यकाल सकिन लागेका सदस्य–सचिव विष्ट आफ्नै पालामा दुई राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको जस लिंदै नियुक्ति फेरि दोहोर्‍याउने चाहनामा थिए भने उपाध्यक्ष पीताम्बर तिमिल्सिना समूह त्यो सफल हुन नदिने कसरतमा थिए ।

यस्ता विभिन्न अड्चनलाई चिर्दै आठौं राष्ट्रिय खेलकुद सम्पन्न हुनुलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली सफलता मान्छन् । कतिपय विषय चाहेर पनि गर्न नसकेको स्वीकार्दै उनी भन्छन्, “तर, जे जसरी खेल सम्पन्न भयो, विगतका राष्ट्रिय खेलकुदसँग तुलना गर्दा यो उत्कृष्ट प्रतियोगिता हो ।” 

विविध समस्या हुँदाहुँदै आठौं राष्ट्रिय खेलकुदले प्रदेश–५ लाई करोडौं रुपैयाँको खेल पूर्वाधार दिएको छ । नेपालगञ्ज रंगशालामा नयाँ प्रविधिको भीआईपी प्यारापेट निर्माण भएको छ । १३औं सागको छनोट समयमै भएको छ ।

राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा हुनेछ । आठौं संस्करणले दिएको सन्देश हो, भविष्यमा खेलाडी केन्द्रित प्रतियोगिता हुन नसके राष्ट्रिय खेलकुद आयोजना बालुवामा पानी जस्तै हुनेछ ।

प्रतिकृया दिनुहोस