रिपोर्टशनिबार, १४ बैशाख , २०७६

पानीले उकासेको अर्थतन्त्र

रमेशकुमार

लगातार तीन वर्ष ६ प्रतिशतभन्दा माथि रहेको आर्थिक वृद्दिदर टिकाइराख्नु सरकारका लागि चुनौतीपूर्ण छ।

मौसम दाहिना भएर बढेको कृषि उत्पादनले उकासेपछि चालु आर्थिक वर्षमा ६.८१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले १३ वैशाखमा राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै देशको अर्थतन्त्र ६.८१ प्रतिशतले वृद्धि भई रु.३४ खर्ब ६४ करोड हुने आकलन गरेको हो । यद्यपि, सरकारले बजेट मार्फत ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको थियो ।

पर्याप्त मनसुनी वर्षाका कारण बढेको धान सहितका कृषि उत्पादन तथा हिउँदमा पश्चिमी वायु सिर्जित वर्षाका कारण सुधारिएको विद्युत् उत्पादनले यो वर्षको आर्थिक वृद्धिलाई मुख्य रूपमा सघाएको हो । वर्षाको अनुकूलताका कारण धान खेती सप्रिएर यो वर्ष इतिहासमै उच्च ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो ।

तरकारी, गहुँ, मकै जस्ता कृषि बालीको उत्पादन पनि बढेकाले कृषि क्षेत्रको वृद्धिदर यस वर्ष ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन गत वर्ष २.७२ प्रतिशतले मात्र बढेको थियो । यो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २६.५ प्रतिशत छ ।

त्यस्तै, यो वर्ष विद्युत्, ग्यास र पानी क्षेत्रको वृद्धिदर १२.४ प्रतिशत पुग्ने आकलन गरिएको छ, जुन गत वर्ष ९.८ प्रतिशत मात्र थियो । यो वर्ष पर्याप्त हिउँदे वर्षा भएका कारण ‘रन अफ दी रिभर’ भनिने नदीको बहावमा आधारित विद्युत् उत्पादन गृहहरूले धेरै उत्पादन गर्न सके । त्यसैले सरकारको न्यून पूँजीगत खर्च र ब्याङ्कमा लगानीयोग्य रकमको अभाव हुँदाहुँदै पनि आर्थिक वृद्धिदर उत्साहजनक देखिएको हो ।

काकताली नै भए पनि, लगातार तीन वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भएको यो दुर्लभ अवसर हो । गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । त्यसभन्दा अघिल्लो वर्ष २०७३/७४ को आर्थिक वृद्धिदर ७.७४ थियो ।

पछिल्लो तीन वर्षको औसत आर्थिक वृद्धिदर लगातार एक दशकसम्म कायम रहे नेपालको अर्थतन्त्र करीब एक दशकमै दोब्बर हुनेछ । वितेको दुई दशकमा नेपालको औसत आर्थिक वृद्धिदर ३.८ प्रतिशतको हाराहारीमा रहँदा अर्थतन्त्र दोब्बर हुन साढे १८ वर्ष लागेको थियो ।

निरन्तरता चुनौतीपूर्ण
यो वर्ष मौसमी अनुकूलता सिर्जित आर्थिक वृद्धिले सरकारलाई हौस्याए पनि आगामी वर्षहरूमा यो वृद्धिदरलाई कायम राख्न सरकारका लागि चुनौती हुनेछ । किनभने, यो वर्षको वृद्धि आर्थिक आधारहरूको सिर्जना भन्दा मौसमी काकतालीमा आधारित रहेको अर्थशास्त्री डा. विश्व पौडेल बताउँछन् ।

“सरकारको आर्थिक वृद्धिको रणनीति आगामी वर्ष प्रष्ट रूपमा देखिनुपर्छ” पौडेल भन्छन्, “आर्थिक आधारको निर्माण तथा वृद्धिको दिगोपन सरकारका लागि चुनौती हो ।”

नेपालको २२ लाख ६५ हजार हेक्टर सिंचाइयोग्य कृषि जमीनमध्ये करीब ८ लाख हेक्टरमा सिंचाइ पुग्न सकेको छैन । सिंचाइको पहुँचमा रहेको भनिएको १४ लाख ७३ हजार हेक्टर जमीनमध्ये पनि वर्षैभरि सिंचाइ हुने थोरै छ । त्यसैले, सरकारले कृषिमा आधारित दिगो वृद्धिका लागि सिंचाइका निर्माणाधीन र ठूला परियोजनाको द्रुत निर्माण सक्दै नयाँ परियोजना अघि बढाउनु न्यूनतम शर्त हो ।

हुन पनि, कृषिको वृद्धिदर यो वर्ष गत वर्षकै हाराहारीमा सीमित रहेको भए अहिलेको आर्थिक वृद्धिदर हासिल नहुने पक्का थियो । गत वर्षको तुलनामा यो वर्ष कृषि, खानी तथा उत्खनन, विद्युत्, ग्यास र पानी, यातायात, सञ्चार र भण्डारण, घरजग्गा तथा व्यावसायिक सेवा, शिक्षा, सार्वजनिक खर्च जस्ता क्षेत्रको वृद्धिदर धेरै छ ।

तर; उद्योग, निर्माण, थोक तथा खुद्रा व्यापार जस्ता मुख्य क्षेत्रको वृद्धिदर वितेको वर्षको भन्दा थोरै छ । विद्युत् उत्पादनमा सुधार हुँदा समेत उद्योग क्षेत्रको वृद्धिदर खुम्चिनुले भविष्यको जोखिमलाई संकेत गर्छ ।

नेपालको २२ लाख ६५ हजार हेक्टर सिंचाइयोग्य कृषि जमीनमध्ये करीब ८ लाख हेक्टरमा सिंचाइ पुग्न सकेको छैन । सिंचाइको पहुँचमा रहेको भनिएको १४ लाख ७३ हजार हेक्टर जमीनमध्ये पनि वर्षैभरि सिंचाइ हुने थोरै छ । त्यसैले, सरकारले कृषिमा आधारित दिगो वृद्धिका लागि सिंचाइका निर्माणाधीन र ठूला परियोजनाको द्रुत निर्माण सक्दै नयाँ परियोजना अघि बढाउनु न्यूनतम शर्त हो ।

अर्थतन्त्रको वृद्धिदर दिगो हुन नसक्दा देशले आर्थिक विकासको छलाङ मार्न सक्दैन । यसअघि पनि आर्थिक वर्ष २०५०/५१ मा अहिलेसम्मकै उच्च वृद्धिदर ७.६ प्रतिशत, २०५६÷५७ मा ६.१ प्रतिशत, २०६४/६५ मा ५.८ प्रतिशतको आर्थिक वृद्धि भए पनि आर्थिक आधारहरू निर्माण हुन नसकेका कारण दिगो हुन सकेन ।

यो वर्ष देखिएको उत्साहजनक आर्थिक वृद्धिले केही आशा भने पक्कै देखाएको छ– सरकारले क्षमता देखाउने हो भने आउने वर्षहरूमा आर्थिक वृद्धिले लय समात्नेछ ।

सरकारको क्षमताको परख पूँजीगत खर्च प्रणालीमा सुधार, कार्यसम्पादन सुधारतर्फ सरकारी प्रतिबद्धता र तदारुकताका साथ कार्यान्वयन गरिने निर्णयले गर्छ । नत्र, अहिलेकोे आर्थिक वृद्धिदर पानीको फोकासरह बन्छ ।

प्रतिकृया दिनुहोस